कोरोनाबाट विदेशमा नेपालीको मृत्यु क्रम रोकियाे

  २०७७ जेठ ३२ गते ९:४०     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । ८ सातालगातार विभिन्न देशमा १ सय १७ जना नेपालीले ज्यान गुमाएकाे थियाे भने याे साता कोरोना भाइरसको संक्रमणले कसैकाे पनि निधन नभएकाे गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाकारी दिएकाे छ ।

एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्मकाे तथ्यांक सार्वजनिक गरेकाे थियाे । उक्त तथ्यांक अनुसार डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब ९ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

त्यस्तै विदेशमा रहेका १७ हजार ७ सय ९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन् । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो ।

सापकोटाका अनुसार नेपालका ५ हजार ३३५ सहित ३५ देशमा २३ हजार १ सय २७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको ज्यान गएको थियो ।