लकडाउनमा अर्थतन्त्रः व्यापार घाटा १४ प्रतिशतले घट्यो, रेमिटान्स आय ६ प्रतिशतले कम

  २०७७ असार २ गते १८:२२     विकासन्युज

काठमाडौं । चैत ११ गतेदेखि जारी भएको देशव्यापी लकडाउनले अर्थतन्त्रमा मिश्रित परिणाम देखिएको छ । मूल्यबृद्धि सामान्य नै देखिएको छ भने व्यापार घाटा १४ प्रतिशतले कम भएको छ । तर, राष्ट्रिय अर्थतन्त्रको लाइफलाइन जस्तै बनेको रेमिटान्स आय पनि ६ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (साउनदेखि बैशाख मसान्तसम्म) को तथ्यांकले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६÷७७ को दश महिनामा कुल वस्तु निर्यात ४.५ प्रतिशतले वृद्धि भई ८२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १६.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८.६ प्रतिशत र १४.६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एमएस पाइप, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुस लगायतका वस्तुको निर्यात घटेको छ ।

सो अवधिमा कुल वस्तु आयात १३.० प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.५ प्रतिशत, ७.६ प्रतिशत, र २.९ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ बीरगंज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा घटेको राष्ट्र बैंकले जनाएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कुल वस्तु व्यापार घाटा १४.२ प्रतिशतले घटी भई ९ खर्ब ४३ अर्ब ७ करोड कायम भएकोछ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १९.७ प्रतिशतले वृद्धि भएको थियो ।

सो अवधिमा निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.७ प्रतिशत रहेको थियो ।

रेमिटान्स ६ प्रतिशतले घट्यो

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण (रेमिटान्स) आप्रवाहमा ६.१ प्रतिशतले कमी आई ६८० अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।

खुद ट्रान्सफर आय (देशमा भित्रने र बाहिरिने रकमको अन्तर) मा ६.५ प्रतिशतले कमी आई ७७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

चालु खाता १ खर्ब ५ अर्बभन्दा बढी घाटामा

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चालु खाता घाटा १ खर्ब ५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रुपैयाँ रहेको चालु खाता घाटा चालु आवको सोही अवधिमा ९४ करोड रुपैयाँ रहेको छ ।

यो अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।

मूल्यबृद्धि ६ प्रतिशत

गत बैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यबृछि ५.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२९ प्रतिशत रहेको थियो ।

गत बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ३.६७ प्रतिशत रहेको छ ।

बैशााख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । सो महिनामा काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मूल्यबृद्धि रहेको छ । २०७६ बैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मूल्यबृद्धि रहेको थियो ।

बैंकमा निक्षेप ११ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ ।

गत वैशाख मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो ।

गत वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह पनि ११ प्रतिशत नै बढ्यो

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १३.२ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १२.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.१ प्रतिशत र सेवा क्षेत्रतर्फ १८.५ प्रतिशतले कर्जा बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २५ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १९.२ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ११.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.