२०७७ असार ३ गते ११:०३ विकासन्युज
काठमाडाैं । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १ सय ८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ८२ थियो ।
सप्तरीमा ३, सिरहामा ३, धनुषामा २१, महोत्तरीमा ९, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा २ गरी १ सय ८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्येबाट ५ सय ६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा घिमिरेले बताए ।
प्रदेशमा अहिलेसम्म ३४ हजार ४ सय ४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार २ सय २८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७ सय ३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७ सय ८२ मा पोजिटिभ देखिए भने १४ हजार ९ सय ५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४ सय ३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३ सय ३१, होम क्वारेन्टिनमा १४ हजार ५ सय ७९ र आइसोलेसनमा ९ सय ३९ जना बसेका छन् ।
गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिए
गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पर्वत जिल्लामा गरी बुधबार थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ७ः५० बजे विज्ञप्ति जारी गरी नवलपरासीमा १८ र पर्वतमा तीन नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१ र १८ वर्षका गरी १४ पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यसैगरी मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, कावासोती नगरपालिकाका वर्ष ३७ वर्षका पुरुष तथा पालिका नखुलेको एक जना २७ वर्षका पुरुषमा समेत सङ्क्रमण फेला परेको बताइएको छ । पर्वतको फलेवास नगरपालिका १९ र २१ वर्षका दुई पुरुष र ४६ वर्षीया एक महिलामा समेत सङ्क्रम पुष्टि भएको छ ।
नयाँ सङ्क्रमण पुष्टि भएका सबै जना भारतबाट आएर सम्बन्धित जिल्लाको स्थानीय तहको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म २ सय ४७ कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ६६, बागलुङमा ४१, पर्वतमा २९, गोरखामा २५, तनहुँमा ११, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् ।
कूल सङ्क्रमितमध्येमा १३ महिला छन् । सङ्क्रमितमध्ये २२ विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म ८ हजार ४ सय ४३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा ५ हजार ८ सय ६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये २ हजार ३ सय ५५ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.