प्रदेश नं ५ बजेटः स्थानीय तहको प्राथमिकता स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी

  २०७७ असार ११ गते ९:१२     विकासन्युज

बुटवल । प्रदेश नं ५ का स्थानीय तहले आगामी आर्थिक बर्षमा कोभिड –१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानिय तहले आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था र दीर्घकालीन रुपमा स्वास्थ्य क्षेत्रको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।

यससँगै अधिकांशले कोभिड –१९ कै कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमा समेत रोजगारी गुमाएका नागरिकलाई स्थानीयस्तरमै रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि, स्थानीयस्तरमा हुने भौतिक पूर्वाधारका काम र व्यावसायिक क्षेत्रमा अवसरका लागि कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपालगञ्जबाट व्यावसायिक करमा छुट
औद्योगिक नगरीको केन्द्रका रुपमा विकास हुँदै गएको बाँकेको एक मात्र उपमहानगर नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ४७ करोड ९६ लाख ५४ हजार ७ सय ६० को बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख उमा थापा मगरले चालु खर्चतर्फ २४ करोड तीन लाख, पूँजीगत खर्चतर्फ १ अर्ब २० करोड रूपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड १० लाखको बजेट प्रस्तुत गरे ।

बजेटमा आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्न अपरिहार्य रहेकामा जोड दिइएको छ । यसैगरी कोभिड—१९ पछिको लकडाउनका कारण सबैभन्दा बढी प्रभावित होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटीपार्लरलगायत व्यवसायलाई करमा छुट दिइने उल्लेख छ । कोरोना महामारीकै कारण स्वदेश फर्केका युवाका लागि रोजगारी सिर्जना गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउन उनीहरुले चाहेको व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव गरिएको उपप्रमुख मगरले बताए ।

यसैगरी बाँकेको नरैनापुर गाउँपालिकाले ५५ करोडको बजेट ल्याएको छ । चौथो गाउँसभा बैठकमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक वर्ष ७७/७८ का लागि ५५ करोड २८ लाख २३ हजार ३६० को बजेट प्रस्तुत गरे ।  जिल्लाका कोहलपुर नगरपालिका तथा खजुरा, जानकी, बैजनाथ, राप्तीसोनारी, डुडुवा गाउँपालिकाले पनि बजेट प्रस्तुत गरेका छन् ।

ती सबै स्थानीय तहले कोरोना महामारी नियन्त्रण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पूर्वाधार र रोजगारीलाई बजेटको प्राथमिकतामा राखेका छन् । छलफलपछि बजेट पारित गरिने जनाइएको छ ।

सिद्धार्थनगर पूर्वाधार, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित
लुम्बिनी– शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रहेको रुपन्देहीको सिद्धार्थनगरले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख उमा काफ्लेले बुधबारको नगरसभामा कुल ९५ करोड ९ लाख ६६ हजार बराबरको बजेट सार्वजनिक गरे । उनले कुल बजेटको चालुतर्फ ५८ प्रतिशत र पूँजीगततर्फ ४२ प्रतिशत खर्च प्रस्ताव गरेका छन् । उक्त रकम चालु आर्थिक वर्षको बजेटभन्दा २३ करोड ९८ लाख रूपैयाँले कम हो ।

नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख काफ्लेले आन्तरिक आयस्रोत रु १६ करोड, राजस्व बाँडफाँटबाट १३ करोड ७४ लाख ७७ हजार रूपैयाँ, लागत सहभागिताबाट २० लाख रूपैयाँ, संघ प्रदेश र दातृनिकायबाट ५८ करोड ६ लाख १५ हजार रूपैयाँ प्राप्त हुने बताए ।

पाल्पाको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनप्रति जोड
पाल्पा– स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । नगर तथा गाउँसभाबाट पारित बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनप्रति जोड दिइएको छ । तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार रूपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ ।

यो रकम चालु वर्षको तुलनामा ७७ लाख रूपैयाँले बढी हो । नगर प्रमुख अशोककुमार शाहीले सातौँ नगरसभामा पूँजीगततर्फ ४६ करोड १४ लाख ३५ हजार (कुल बजेटको ४१ प्रतिशत) रूपैयाँ र चालुतर्फ ६६ करोड ७५ लाख २५ हजार रुपैयाँ (कुल बजेटको ५९ प्रतिशत) बजेट रहेको बताए ।
यस्तै रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४९ करोड ८३ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले कृषिमा ३ करोड ८७ लाख ५० हजार रूपैयाँ, शिक्षामा १५ करोड ९१ लाख रूपैयाँ, स्वास्थ्यमा ५ करोड रूपैयाँ, ६३ लाख रूपैयाँ, सडक तथा पूर्वाधार विकासमा ५ करोड ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नारायण जिसीले बताए ।

बगनासकाली गाउँपालिकाको सातौं गाउँसभाले आगामी आर्थिक वर्षका लागि ४५ करोड चार लाख ६६ हजार २ सय ७४ रूपैयाँको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए । आगामी वर्षका लागि आर्थिक विकास क्षेत्रमा १ करोड १३ लाख रूपैयाँ, सामाजिक विकासमा ३ करोड १६ लाख रूपैयाँ र पूर्वाधार निर्माणमा ६ करोड ६० लाख रूपैयाँ बजेट गाउँसभाबाट विनियोजन भएको श्रेष्ठले बताए ।

यस्तै रुपन्देही सीमासँग जोडिएको तिनाउ गाउँपालिकाले आगामी आवका लागि रु ५० करोड ९९ लाख ७७ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले आगामी वर्ष पूर्वाधार निर्माणका क्षेत्र प्राथमिकतामा रहेको जानकारी दिए ।

रामपुरको प्राथमिकतामा कृषि र स्वास्थ्य
रामपुर– पाल्पाको रामपुर नगरपालिकाले बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, स्थानीय उत्पादन, उद्योग, व्यवसाय विस्तारलाई जोड दिएको छ । उक्त नगरपालिकाले एक वडा एक उत्पादन, एक घर एक रोजगार, नागरिकको जीवनस्तर उकास्न कृषि तथा पशुपक्षी उत्पादनमा जोड, बाँझो जमीनमा तरकारी खेती, दूध मासु र अण्डा उत्पादन बृद्धि गरी कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

रोजगारीका निम्ति विदेश जाने युवालाई गाउँमै कृषि रोजगारी सिर्जना गराउने र कृषि उत्पादनको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने छ । पर्यटकीय क्षेत्र विकास गर्न नगरका वडा नं ७ को बाहुनडाँडा र १० को मगरेमा व्यावसायिक प्याराग्लाइडिङ उडान, कालीगण्डकीमा निजी क्षेत्रको सहकार्यमा जलयात्रा सञ्चालन, राम्चेवन सीताकुण्ड क्षेत्रमा पदयात्रा सञ्चालन जस्ता पर्यटकीय तथा धार्मिक क्षेत्र विकासका कार्यक्रम समेटिएको छ ।

यस्तै माथागढी गाउँपालिकाको सातौं गाउँसभाले कृषितर्फ सामुदायिक बीउ बैंक तथा कृषि उपज भण्डारका लागि शीतभण्डार निर्माण, व्यावसायिक कृषिबाट कृषकलाई आत्मनिर्भर बनाउने, नश्ल सुधार जस्ता कार्यक्रम समेटिएको बजेट ल्याएको छ । रम्भा र निस्दी गाउँपालिकाले पनि नागरिकको आयस्तर वृद्धि गर्न कृषि उत्पादनमूलक कार्यक्रममा जोड दिएका छन् ।

महाराजगञ्जः समृद्ध नगर, खुशी नगरवासी
कपिलवस्तु– समृद्ध नगर, खुशी नगरवासीको आकाङ्क्षा पूरा गर्न महामारीका कारण समग्र अर्थतन्त्र र सामाजिक, आर्थिक अवस्थामा परेको प्रतिकूलतासंँग जुध्ने आधारसहित महाराजगञ्ज नगरपालिकाकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगर प्रमुख अब्दुल कलामले नगरवासीको जीवन रक्षा र पालिकाको आर्थिक सामाजिक विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड दिइएको बताए ।

ऐरावतीको नीति र बजेट पारित
झिमरुक– प्युठानको ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि साताैं गाउँसभामार्फत पेश गरेको ५१ करोड ८२ लाख ७० हजार रूपैयाँ बजेट सभाले सर्वसम्मत रुपले पारित गरेको छ । यही असार ५ गते नीति तथा कार्यक्रमसंँगै पेश गरिएको बजेट बुधबार सर्वसम्मत रुपमा पारित भएको हो ।

सभाले कृषि, शिक्षा, स्वास्थ्य, भवन तथा सडक पूर्वाधार, खानेपानीलगायतलाई प्रमुख प्राथमिकतामा राखी बजेट विनियोजन गरेको उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए ।

राजापुर– बर्दियाको मधुवन नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ७४ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको छैटौं नगरसभामा बुधबार नगरप्रमुख गणेशबहादुर क्षेत्रीले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ रु नौ करोड, पूंँजीगततर्फ २१ करोड १९ लाख २२ हजार ५ ९२ रूपैयाँ र वित्त व्यवस्थापनतर्फ ५ लाख रूपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगमा जोड दिएको छ ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.