सरकारले घोषणा गरेको राहत कार्यक्रम कार्यान्वयन नगरेको भन्दै व्यवसायीले गरे आन्दोलनको घोषणा

  २०७७ असार २४ गते १६:२४     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेका छन् । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै साेकाे कार्वान्वयनका लागि आन्दाेलनकाे घाेषणा गरेका हुन् ।

कोभिड–१९ (कोरोनाभाइरस) का कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीहरुलाई सरकारले सहयोग नगरेको भन्दै व्यवसायीहरुले आन्दोलन गर्ने जनाएका छन् ।

महासंघले ६ सूत्रीय माग राखेको छ । व्यवसायीहरुले लकडाउन अवधिको बैंकिको व्याजदरमा शतप्रतिशत छुट पाउनु पर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योग, व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनु पर्ने, स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनु पर्ने र लकडाउन अवधिभरको व्यवसायीक घरभाडा पुरै छुट गरिनु र्ने माग अघि सारेको छ ।

सरकार विरुद्धको आन्दोलन घोषणा गरेको महासंघले पहिलो चरणमा भोलि बिहिबार ९ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ ।