तीस वर्षदेखि पहिराको सन्त्रासमा सल्यान

  २०७७ असार २८ गते १५:३९     रमेशकुमार वली

सल्यान । कपुरकोट गाउँपालिका¬ ३ मा ६ मिटर जमीन भासिएको छ । यही कारण बजारकै छेउमा रहेका घर ढल्केका छन् । सन्त्रासमै ढल्केको घरमा करीब ६ वर्षअघिदेखि व्यवसाय सञ्चालन समेत स्ञ्चालन हुँदै आएको छ ।

कपुरकोट¬–३ मा रहेको खारा पहिराले यहाँका करीब सयभन्दा बढी घरधुरीलाई जोखिमले पिरोलिइरहेको वर्षाै बितेको छ । उनीहरुले यस ठाउँ छोडेर न त कतै अन्त जान सके न राज्यले कुनै वैकल्पिक व्यवस्थापका लागि पहल गरेको छ । पहिराले यहाँको विद्यालयसमेत भासिएपछि विद्यालयलाई स्थानान्तरण गरिएको छ भने भासिएको करीब एक किलोमिटर सडकको हाल अहिलेसम्म उस्तै रहेको छ ।

पहिरो रोकथामका लागि तीन वर्ष पहिलेदेखि सानोतिनो कार्य गरिरहेको भए पनि पर्याप्त नहुँदा पहिरो रोकिने त कुरै भएन । त्यही बनाउन लागेका संरचनाहरुसमेत बर्सेनी बगाउँदै लगेको छ । खारा पहिरामा वर्षातमा मात्र हैन सुख्खा याममा समेत पहिरो जाने गरेको कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले बताए । उनले भने, “पहिरो रोकथामका लागि सानातिना प्रयास भइरहेका छन् तर पनि यस प्रयासले पहिरो रोकिने छाँटकाँट देखिँदैन । एकातिर बनाउँछाैँ अर्कोतिर बगाउँछ, यही लुकामारीले पहिरो थामिने अवस्था छैन ।” जमीन भासिएकै क्षेत्रफलबाट पहिरो गएमा तुलसीपुर उपमहानगर पालिकाको पातुखोला क्षेत्रमा धनजनको क्षति हुने सम्भावना रहेको उनको भनाइ छ ।

अहिलेसम्म पहिरो रोकथामका लागि रु तीन करोड ८० लाख खर्च भइसक्दा पनि पहिरो रोकिने छाँटकाँट छैन, पहिरोकै कारण खेतीयोग्य जमीनसमेत भासिएपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तिलकबहादुर सेन ठकुरीले भने, “२०५२ सालदेखि पहिराको रोकथामका लागि प्रयास गरेका हौँ, यहाँको माटो नुनिलो भएकाले जाली छिट्टै गल्ने भएकाले रोकथाममा समस्या भएको छ ।” पहिराको रोकथाममा लाग्नुभन्दा पनि अब राज्यले जोखिममा रहेको बस्तीलाई अन्यत्रै स्थानान्तरण गरेमा पहिराको सन्त्रास नहुने उनको भनाइ छ ।

जिल्लामै कपुरकोट क्षेत्रमा बढी पानी पर्ने भएकाले पनि पहिराको त्रास बढी भएको स्थानीयवासी पूर्णबहादुर वलीले भने, “ठूलो पानी परेको दिन रातभरि निन्द्रा लाग्दैन दिउँसो त भागेर बाँचिएला जस्तो लाग्छ तर रातिमा पहिरो गए बालबच्चा लिएर काता जानु ।”

कपुरकोटको खारा पहिरामा सङ्घीय सरकार समेत जानकार भएकाले यसका बारेमा सोच्नुपर्ने अवस्था आएको कपुरकोट गाउँपालिका¬–३ का वडाध्यक्ष मीनबहादुर सेनले बताए । “कपुरकोट बजारमै हेर्नुस् जमीन सात मिटर तल भासिएको छ, कति जोखिम छ भन्ने कुरा यहाँहरुले नै देख्नुभएको छ”, उनले भने ।

गाउँपालिकाले पहिराका कारण भत्किएका घरहरुमा नबस्न पटकपटक सार्वजनिक सूचना जारी गरे पनि स्थानीयवासीले नमानेको उनको भनाइ छ । “हामीले धेरै पटक उहाँहरुलाई जोखिमपूर्ण घरहरुमा नबस्न सूचना जारी गरेका छौँ तर यसका लागि स्थानीयवासीले मान्नु भएन”, उनले भने ।

अब पहिरो रोकथाममा बजेट खर्च गर्नुभन्दा पनि यहाँका पीडित परिवारहरुलाई स्थानान्तरणको योजना बनाउन आवश्यक भएको उनको भनाइ छ । “यही सडकबाट धेरै पटक राज्यका जिम्मेवार व्यक्तिहरु ओहोरदोहोर गरिरहेका छन् तर बजार नै भासिँदा पनि ध्यान जान सकेको छैन पहिरो गएमा यहाँ ठूलो धनजनको क्षति हुने अवस्था छ”, उनले भने ।

खारा पहिरामा नै जग्गा र घर भएकाहरु बढी प्रभावित भइरहेका छन् । जमीनमा ठूलाठूला चिरा परेकाले पनि कतिबेला पहिरो जान्छ भन्ने डरले स्थानीयवासीलाई सन्त्रास बनाउँदै आएको छ । पहिलेको भन्दा पहिरो रोकथामका कारण कम भए पनि ढुक्क भएर बस्न सक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ ।