२०७७ असार ३१ गते १३:०५ विकासन्युज
भरतपुर । चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो ।
सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छुटको निर्देशन दिएका बताए ।
मलका व्यवस्थाप तथा बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी)का सञ्चाल राजेन्द्र अर्यालल भन्छन्, ‘लकडाउनकै समयमा यहाँ आइपुग्नुभएका उहाँले मलका व्यवसायीको मर्का बुझेर स्वतःस्फूर्त रुपमा लकडाउन अवधिभरको भाडा नलिन निर्देशन दिनुभयो ।’ चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएका उनले बताए ।
मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले पलायनको खतरा टरेको प्रतिक्रिया दिए । उनी भन्छन्, ‘कारोबार गर्न नपाएको चार महिना बितिसक्यो । यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्था आउँथ्यो,’ पौडेलले भने, ‘माननीय चौधरीको कदमबाट हामीले ठूलो राहत महसुस गरेका छौं । व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ ।’
मलका अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छुटको निर्णयबाट आफू निकै हौसिएको बताए । ‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ । यसलाई देशभरका सपिङ मलहरु र धरधनीहरुले अनुशरण गर्नुपर्छ,’ तिवारीले भने, ‘व्यवसायी पलायन भए भने त्यसको मार घरधनीलाई पनि पर्छ ।’
मलका म्यानेजर उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीले बताए ।
सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको व्यवस्था लगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे/नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्म रुपमा निगरानी गरी ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको म्यानेजर केसीले जानकारी दिए ।
मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको उनको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.