घुस लिएको अभियोगमा सिन्धुलीका ६ प्रहरी निलम्बित

  २०७७ साउन २८ गते ९:२०     विकासन्युज

सिन्धुली ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६ प्रहरी कर्मचारी निलम्बित छन् ।

उनीहरुलाई सवारी चालकसंँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटाैंडामा झिकाइएकामा थप छानबिन गर्न हाललाई मङ्गलबार निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए । उनका अनुसार निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान छन् ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् । यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए ।

निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मङ्गलटार, प्रहरीचौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरीचौकी भिमानमा कार्यरत थिए । निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतका संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको उनले जानकारी दिए । आफ्नो ड्युटीमा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताइएको छ ।

सुचना समन्वय अधिकृत थापाले भने, ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट विशेष कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मूल्याङ्कन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरिएको छ ।’ उनका अनुसार सेवाग्राहीसँंग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित ११ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५ प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.