राखी

  २०७७ भदौ १४ गते ९:३५     सन्तोष तिमल्सिना

कथा

शिरानी माथी राखेको मोबाईलको धुन मेरोे कानमा गुन्जियो । अर्धनिन्द्रामै मोबाईल छामछुम गर्दै फोन उठाए । एक जना नारीको आवाज सुनियो । “दाइ तपाई कहाँ हो ? म त आई सकें त !” मैले अनकनाउँदै सोधेँ, अँ कहाँ जाने ? रिसाए जस्तो गरी उनले जवाफ दिइन् । ‘‘अझै उठ्नु भएको छैन ? अनि आज मन्दिर जाने भनेको हैन त । खुरुक्क उठ्नु । नुहाएर रेडी भइहाल्नु । नत्र म त बोल्दिन नि ।’’

मैले हस् भन्दै फोन राखेँ । फोन गर्ने ती नारी सगुन थिइन् ।

त्यो बिहान रक्षाबन्धनको दिन थियो । यहि दिन मेरो हातमा राखी बाँधेर दाजु बनाउने सगुनको ठूलो इच्छा थियो । फेसबुकमा हामी पुरानै साथी हौं तर उसको मेरो राम्रोसंग भेटघाट भएको धेरै समय भएको थिएन । भेट भएको केही दिनपछि उनले म्यासेन्जरमा सर नमस्कार भनिन् । मैले पनि नमस्कार फर्काए । उनले लेखिन– तपाई रिसाउनु हुन्न भने मेरो मनले स्वीकारेको कुरा भनुँ ?

‘‘म किन रिसाउनु ? भनन, के कुरा हो ?’’ च्याटमा जवाफ दिएँ।

केही बेरपछि उनको जवाफ आयो । ‘तपाईसंग भेट भएदेखि मलाई केही गुमाएको वस्तु पाए जस्तो आभाष हुन्छ, किन–किन मेरो मनले तपाईलाई एउटै आमाको कोखबाट जन्मिएका दाजुबैनी हौं जस्तो महशुष गर्न थालेको छ । म त तपाईसंग भेटेर खुशी छु । एउटा अभिभावक पाएको छु । सर म तपाईलाई दाई भन्छु ल ?’
म ट्वाल्ल परेँ । आश्चार्य मानेँ । मनमनै सोच्न थालेँ । कस्तो खालको मान्छे रहिछ !

केही बेरपछि जवाफ दिएँ । ‘‘मलाई नयाँ नाता सम्बन्धहरू जोड्नु भनेको नाटक जस्तो लाग्छ । किन जोड्नु पर्यो नयाँ सम्बन्ध ? भएका सम्बन्धहरुलाई सुमधुर बनाउनु । तिमीले दाई भन्यौ भन्दै मैले बैनी भन्नै पर्छ भन्ने पनि छैन । ठट्टा नै गर्ने भएत जे–जे भन्दा पनि भयो ।’’

यति भनेर म किचेन तिर छिरें ।

फर्किदा सगुनले जवाफ पठाई सकेकी रहिछन् ।

लेखक

‘‘तपाईलाई नाटक लाग्ला तर मैले मनको कुरा भनेको हुँ । बैनी भन्नै पर्छ भन्ने बाध्यता छैन, तपाईलाई अप्यारो लाग्छ भने म पनि तपाईलाई दाई भन्दिन । मेरो मनमुटुले हजुरलाई दाईको रुपमा सजाई सकेको छ । म तपाईले जे भन्नु हुन्छ त्यही मान्छु तर तपाईसंग टाढिन सक्दिन । आफन्त भनेका सजिलोमा मात्र हुन, अप्ठ्यारोका लागि हैनन् । रगतका नाता भनेको कहरको हुँदो रहेछ, रहरको हैन । मनले भनोस वा नभनोस मुखले पुकार्न बाध्य भइन्छ । आफन्त, नातागोता धेरै होलान तर मेरो भवनालाई बुज्ने कोही छैनन् । मेरो भावना, दुःख, पीडालाई बुज्ने एक मात्र व्यक्ति तपाई मात्र हो । हामी बीच रगतको दाजु नभएता पनि तपाई मेरो हृदयले नै पुकारको दाजु हो । त्यो पनि तपाईलाई स्वीकारयोग्य छ भने ।

०००००

सगुनका लेखाईले मेरो मनमा दुविधा सिर्जना गरिदियो । उसका भावनाहरुलाई मैले मात्र बुज्न सक्छु भन्ने कुरा मलाई पत्यार लागेको थिएन । अझ कुनै कुनै बेला त ‘तपाई मेरो भगवान’ हो पनि भन्थिन् । उससंग मेरो गफ भन्दा अरु कुनै सहयोग लेनदेन भएको छैन । कसरी म उसका लागि विशेष मान्छे बन्न सक्छु ? मनमा धेरै प्रश्नहरु उब्जिन थालेका थिए ।

म उनले देखेको सपनाबाट उन्मुक्ति पाउने उपायहरु खोजिरहेको थिए । फेरी एउटा म्यासेज छोडिदिए ।

‘‘तिमीले मेरो पृष्ठभूमिलाई राम्रोसँग चिनेकी पनि छौनौं होला । न त तिमीलाई मेरो अतित थाहा छ, न त जीवन भोगाईका केही पलहरु नै थाहा छ ? मलाई त तिम्रो पारिवारीक पृष्ठभूमि समेत केही थाहा छैन भने म कसरी तिम्रो दाइ हुन सक्छु ? नाता जोड्नु ठूलो कुरा हैन, टिकाउन सक्नु नै महानता हो । भावनाको नाताले निरन्तरता पाँउछ भन्ने कुनै ग्यारेन्टी छैन । लिक बिनाको रेल जुनसुकै बेला दुर्घटना हुन सक्छ । यदि यो यात्रा बीचमा नै टुट्छ भने, होस् यो नाटक किन गर्नु पर्यो ?

मन मस्तिष्कमा बसिसकेको छापलाई मेटाउन गाह्रो हुन्छ । सगुनको मनमा पनि सौगात प्रतिको आफ्नोपन कहिले नमेटिने छाप बनिसकोको थियो । उसलाई झुक्किएर पनि सौगातबाट टाढा हुने मन थिएन । सौगातको दुःख र पीडालाई नजिकबाट नियाल्न चाहान्थिन् । सौगातले जे भने पनि मान्थिन् र विश्वास पनि गर्थिन् । सम्बन्ध जोड्ने नाटक नगरौ जस्तो सौगातको अभिव्यक्तिले सगुनको मन भारी भएर आउँथ्यो ।

मन भारी पारेर फोन गर्थिन र भन्थिन्–‘मैले तपाईलाई जे भने पनि नाटक जस्तो लाग्छ होला, मैले त मनको कुरा भनेको हुँ । मलाई बैनी भन्न सक्नु हुन्न भने नभन्नु । जबरजस्ती जोडेको नाताले निरन्तरता पाउन सक्दैन । सम्बन्धको आयु त्यहाँसम्मको हुन्छ, जहाँसम्म विश्वासको लहरा चुडिन्दैन । म विश्वासको लहरा कसिलो बनाउन चहान्छु । कदापि विश्वासघात गर्ने छैन । हजुर प्रति त्यही विश्वास भएर नै होला दाइ, जीवनका हरेक कुरा सेयर गरेको छु । मलाई मेरो जन्म दिने माता पिताको भन्दा नि हजुरको साथ प्यारो छ । म बुज्छु हजुरको पीडालाई, हजुरभित्र पनि रोदनहरु छन् । विश्वास नै लाग्दैन भने मैले के नै गर्न सक्छु । तपाईले गरेका बाजीहरु मैले जितेको छु ।

सगुनका भनाईहरुले मेरो पनि मनलाई पगाल्यो र मैले पनि उसलाई बैनी भनिदिएँ । रक्षाबन्धन नजिकदै थियो । त्यही दिन हातमा राखी बाँधेर दाजुबैनीको सम्बन्धलाई जीवन्त दिने हाम्रो सल्लाह भएको थियो । रक्षा बन्धनको दिन उनको पहिलो प्राथमिकता दाजुबैनीको सम्बन्ध जोड्नु थियो । शुद्ध सम्बन्धको लागि उनी आफू पनि नुहाएर निष्केकी थिएन । मलाई पनि पहिला उठेर नुहाउनु सम्झाइन् ।

०००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.