कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं

  २०७७ भदौ १४ गते १५:४०     चेतनाथ

कोरोना भाईसरले नेपाल मात्र नभई विश्व नै आक्रान्त बनेको बेला नेपालमा अहिले सबैभन्दा आकर्षक मानिएको कोरोना बीमा गराउन मानिसहरु निकै उत्साहित बनेका छन् । यस्तो लाग्छ, यो हात खाली नजाने चिट्ठा नै हो र यो छुटायो भने घाटा लाग्छ जस्तो ज्ञान सबैमा पलाएको छ । मान्छेहरु यसैपनि जमघट हुन पाइंदैन । एकदुई जना साथीहरु भेट हुंदा होस् वा मोबाइल वा मेसेञ्जर, भाइबरमा कुरा गर्दा शुरुमा उनीहरु एकअर्काको सञ्चोबिसञ्चोको हालखबर सोध्छन् र दोश्रो कोरोना बीमा गरेको छ कि छैन भनेर सोध्छन् । नगरेको मान्छेलाई कोरोना लागेमा १ लाख पाइने लोभ देखाउंछन् । उनीहरु आफूले त हजुरबा, हजुरआमा, मामा, आमा, दिदी बहिनी, भिनाजु, सालो, श्रीमती, छोराछोरीको बीमा गरिदिएको गफ हान्छन् । यी यस्ता मान्छे हुन्, जसले भूकम्पले आफ्नो घर भत्काएपछि पनि आफ्नो घरको कहिल्यै बीमा गराएनन् । यी यस्ता मान्छेहरु हुन्, जसले मोटरसाइलको व्यापक बीमा गर्दा तिर्नुपर्ने पैसा अलि बढी देखेर ब्लुबुक नविकरणको लागि तेश्रो पक्ष बीमा मात्रै गराउँछन् । कोरोना बीमा गराउनेले बीमा भनेको के हो बुझ्ने कुरा पनि भएन, सरोकारको बिषय पनि भएन । यत्ति हो कि, यो बीमा गरेमा हातहातै लाख रुपैयाँ नगद पाइन्छ र त्यसले अरु गर्जो टार्न पाइन्छ ।

नेपालमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपालमा चिट्ठा खुलेको छ । अनुदानमा सहभागी हुने भए ३०० र नभए ६०० तिरिपछि कुनै न कुनै दिन १ लाख रुपैयां पाइन्छ । त्यसैले सचेत जनताहरु कोरोना नै लागे पनि कुनै घाटा छैन भन्ने सोचमा छन् । कोरोना लागेमा सरकारले उपचार गरिदिन्छ, लागेको खर्च सरकारले नै गरिदिने भएपछि बीमाले दिने ९९ हजार ४०० रूपैयाँ त चोखो फाइदा हो । त्यसैले कोरोना लागेपनि केहि गुमाउनु नपर्ने र नगदी फाइदा हुने भएपछि मान्छेहरु अहिले हट केकको रुपमा रहेको कोरोना बीमा लिन उत्साहित छन् । किनकी हरेकलाई थाहा छ, अहिलेसम्मको डाटा अनुसार संक्रमण भएकाहरुमध्ये १ प्रतिशत भन्दा कम मान्छे मर्ने गर्दछन् र कुनै पनि मान्छे त्यो १ प्रतिशतभित्र पर्छु भन्ने कल्पना समेत गर्दैन ।

विश्वभर कहिंकतै नभएको यो कोरोना चिट्ठा नेपालमा खोलिएको कारण पनि पैसामा बढि सम्बेदनशील देखिने नेपालीहरु बढि आकर्षित भएका हुन् । कुनै पनि महामारीको बीमा संसारमै कहिंकतै गरिदैन । बीमा गरिएका पोलिसीहरुमा पनि अपबादको रुपमा माहामारी, गृहयुद्ध, बाह्य युद्ध आदिबाट भएको क्षतिको कभरेज पोलिसीले कभर नगर्ने स्पष्ट लेखिएको हुन्छ । जुन अबस्थामा अन्य पोलिसीहरुले समेत कभर गर्दैन, त्यसैलाई बीमा गर्ने अचम्मको अफर नेपालमा ल्याइएको छ । त्यसमाथि बीमा भनेको क्षतिपूर्तिको सिद्धान्त हो । क्षतिपूर्तिमा बीमितको क्षतिको हिसावकिताब निकालिन्छ, त्यसमा बिल भर्पाइ र भएका खर्च र नोक्सानीको लेखाजोखा हुन्छ । भएको खर्चको क्षति बीमितलाई भराइन्छ । तर कोरोना बीमा पोजेटिभ रिपोर्ट आउँदैमा कसैलाई कुनै नोक्सानी भएको हुन्न र भए पनि त्यसको खर्च राज्यले गरिदिन्छ, जसमा अहिलेसम्म करिब १५ अर्ब राज्यले यसबापत खर्च गरिसकेको छ ।

लकडाउन, निषेधाज्ञाको बेला अरु बीमा नभएपनि नेपालमा २/३ दशक बीमामा बीमामा काम गरेका बीमाका दिग्गजहरु यहि पोलिसी बेच्न अफिस खोलेर बसेका छन् । बीमा भनेको के हो ? कसरी ? किन ? गर्ने भन्ने कुरामा हस्तक्षेपकारी भूमिका निभाएर राज्यलाई सल्लाहा सुझाव दिनुपर्ने यी दिग्गज सिइयोहरुको ध्यान त्यतातिर जानु त कता हो कता, यहि चिट्ठा बेचेर जागिर जोगाउन र टार्गेट पुरा भएको रिपोर्ट बनाउन कस्सिएका छन् ।

भदौ दोस्राे सातासम्म १० लाखलाई कारोना चिट्ठा बेचिएको छ । दावीतर्फ हेर्ने हो भने यस बीचमा करीब ६०० जना भाग्यमानीहरुले यो चिट्ठा हात पारेका छन् । कोरोनाको संक्रमणको दर हेर्ने हो भने धेरै भाग्यमानीहरु थपिने अनुमान गर्न सकिन्छ । कोरोनाबाट त्यो अवधीसम्म करिब ३८ हजार संक्रमित छन् । यो संक्रमण भनेको जांचिएकाहरुको आंकडा हो, नजांचिएकाहरुमा कोरोनाको संक्रमण कति छ, कसैलाई थाहा छैन । सबैको जाँच गर्ने हो भने योभन्दा दशौं गुणा बढि संक्रमण हुने आंकलन सजिलै गर्न सकिन्छ ।

अझ नेपालमा संक्रमणको दर निकै उकालो लागेको छ । कमजोर राज्य संयन्त्र, फितलो अनुगमन र यसबारे गम्भीर नभएका जनताहरुको कारण यो समूदायस्तरमा फैलिएर भयावह रुप लिनसक्ने आंकलन गर्न थालिएको छ । छिमेकी देश धपक्कै बलेको छ । यस्तो अबस्थामा संक्रमित थपिंदै जांदा त्यसको असर जनस्वास्थ्यमा त पर्ने नै भयो, त्यसको मार बीमा कम्पनीहरुमा सोझै पर्ने देखिन्छ । त्यहि मान्छेलाई कोरोना पोजेटिभ आउने, अर्को दिन नेगेटिभ आउने र संक्रमित निको भएर घर फर्केको चक्र सबैले देखिएकै कुरा भयो । पोजेटिभ आएपछि त्यहि रिपोर्ट देखाएर १ लाख लिने र नेगेटिभ आएपनि त्यो लिएको १ लाख भूस हुने अचम्मको दृष्य हामी देखिरहेका छौं । अझै १ लाखको लागि रिपोर्ट बन्ने आशंका बढिरहेको बेला यसको अनुगमनको पाटो कसैले नसोचेकै बेस होला ।

बीमा तिर्ने भनेको संकलित रकमबाटै हो, संसारमा यस्तो अचम्मको अफर कतै नभएकोले यसको रिइन्सुरेन्स हुने कुरा पनि भएन । संक्रमितहरु बढ्दै जाँदा यसको दावी पनि बढ्दै जान्छ र चिट्ठा पाउनेहरु पनि बढ्दै जान्छन् । अनुदानको आशा नगरी ६०० को हिसाव गर्दा पनि १६६ जनाको बीमा गरिएकोमा त्यसमध्ये १ जना मात्रै संक्रमित भयो भने त्यो एकजनाले १६६ जनाले तिरेको प्रिमियिमको पैसा लैजान्छ । संक्रमण दर यहि हिसावले बढ्दै जाँदा कम्पनीहरुले संकलन गरेको प्रिमियमले कतै थेग्न सक्दैन । यो कुन स्राेतबाट तिर्ने भन्ने सम्बन्धमा सरकारले गजबको ट्रिक अपनाएको छ । पहिलो, उठेकोबाटै चलाउने, त्यसले नपुगे नेपालकै पुनर्बीमा कम्पनीबाट तिर्ने, त्यसले नपुगे बीमा कम्पनीहरुले जोगाएर जगेडामा राखेको पैसा तान्ने, त्यसले नपुगे रेगुलेटरको रुपमा रहेको बीमा समितिले तिर्ने, त्यो सकिएपछि सरकारले तिर्ने । बीमा कम्पनीहरुको रेगुलेरले आफ्नो कोषबाट बीमा दावी भुक्तानी गर्ने अचम्मको कुरा पनि हामीलाई सामान्य लाग्न थाल्यो । सरकारले दिने भनेको प्रिमियमको अनुदान कसैले हिसाव नगरौं, किनकी १ वर्षभन्दा अघिको कृषि बीमाको अरब हाराहारीको रकम अझैसम्म बीमा कम्पनीले पाएका छैनन् भने, यो महामारीको पैसाको हिसाव गर्नु व्यर्थ छ ।

समग्रमा देश अनुसारको भेष त गर्नै पर्ने भयो । सबै नागरिकहरुलाई यो बीमाको बारेमा धेरै बुझाउने झंझट नगरौं, यत्ति मात्रै भनौं, रु. ३०० वा ६०० तिरौं, रु. १ लाखको चिट्ठा किनौं । कम्पनीहरुले पनि कोरोनाको पैसा यति उठायौं भनेर टार्गेटमा राखौं, तिरेको पैसाको हिसाव नगरौं । राज्य, कम्पनी, जनता सबैजना यहि खेतीमा लागिरहेको बेला पाखामा बसेर बेकारमा किन किचकिच गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.