२०७७ मंसिर १६ गते १७:१६ शिव सत्याल
काठमाडौं । पछिल्ला केही दिनयता नेपाली पुँजी बजारले प्रत्येक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । परिसुचकले छोएको उच्चतम बिन्दु, दैनिक कारोबार भएको सेयर संख्या र कारोबार रकम जस्ता सुचकले अघिल्लो दिनको रेकर्ड भत्काउदै नयाँ रेकर्ड बनाइरहेका छन् ।
खासगरी गत असोज २८ गते विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नै पुँजी बजारको लागि ‘क्याटलिष्ट’ जस्तै देखियो । यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले १८८१ को उच्चतम विन्दु चुम्दा (२०७३ साउन १२ गते) पनि अर्थमन्त्री विष्णु पौडेल नै थिए । संयोग, अहिले नेप्से परिसुचकले सो विन्दु पार गरेर २ हजारको वरिपरी घुमिरहँदा र दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा पनि पौडेल नै अर्थमन्त्री छन् ।
बजारमैत्री व्यक्तिले अर्थमन्त्रालयको जिम्मेवारी पाउँदा लगानीकर्तामा मनोवैज्ञानिक असर कस्तो पर्ने रहेछ भनेर अध्ययन गर्ने एक पात्र पौडेल पनि बनेका छन् । तर, पौडेललाई छनोट गरेर गरिने अध्ययन सकारात्मक असरको लागि हुनुपर्छ, जसरी पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई पनि लिने गरिन्छ ।
अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय संहालेपछि पुँजी बजारमा सकारात्मक सन्देश प्रवाह हुने वा लगानीकर्तामा सकारात्मक मनोवैज्ञानिक असर पर्ने खास केही काम गरेकै छैनन् । अझ भनौं, पुँजी बजारका बारेमा अर्थमन्त्री पौडेलले केही गरेकै छैनन्, केही बोलेकै छैनन् । तर, बजारले अर्थमन्त्रालयको जिम्मेवारी पौडेलले सम्हाल्नुलाई खुसीयालीको रुपमा लिएको छ । दैनिक नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।
लगानीकर्ताको सबैभन्दा चिन्ता र संशयको विषय बनेको सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर अन्तिम हो कि होइन भनेर अर्थमन्त्रालयले अझै प्रष्ट पारेकै छैन । लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानको शब्दमा भन्ने हो भने कुनै पनि लगानीकर्तालाई कुनै पनि समय राजस्व प्रशासनले यति करोड रुपैयाँ कर तिर्न आउनु पर्यो भनेर पत्र पठायो भने आश्चर्य नमान्दा हुन्छ । यो संशय अर्थमन्त्रालयले निवारण गरेकै छैन ।
तर, सेयर बजारमा उत्सव देखिन्छ ।
किन ?
सेयर बजार किन बढिरहेको छ भनेर विभिन्न विश्लेषण र धारणा आइरहेकै छन् । व्याजदर सस्तो भएको, लगानीका अन्य क्षेत्र समस्यामा परेकोले सेयर बजारमा पैसाको खोलो बगेको, बजारमैत्री व्यक्ति अर्थमन्त्री बनेको, बजारले एउटा चक्र पूरा गरेर बढ्ने चक्र कायम गरेको, सुचिकृत कम्पनीहरुमा कोभिडले खासै असर नपरेको वित्तीय विवरणहरु सार्वजनिक भएका जस्ता कारणले बजार बढेको हो भन्ने तर्क आइरहेका छन् । अनलाइन ट्रेडिङको कारण ब्रोकर अफिसको कुनै व्यक्तिलाई फोन गरेर सेयर खरिद वा बिक्रीको आदेश दिनुपर्ने परम्परागत प्रणालीबाट अनलाइन ट्रेडिङ आएको र त्यसले केही सय व्यक्तिको पकडमा रहेको बजार अनलाइन ट्रेडिङकै कारण केही लाखको हातमा पुगेको विश्लेषण पनि सुनिन्छ ।
कारण यिनै र यस्तै हुन सक्लान् । भलै, कसैकसैले केही खास कम्पनीको सेयर कर्नरिङ गरेर ‘स्पेकुलेसन’ गरिएको आरोप पनि लगाउन थालेका छन् । बजारमा यस्ता तिकडम हुन्छन् पनि । यस्ता तिकडम रोक्न नियामक चाहिने हो । नियामक निकायले आवश्यक अध्ययन, विश्लेषण र अनुगमन गरिरहेको पनि होला ।
अब यसअघिका ३ वटा बुलको परिवेश हेरौं ।
२०६५ सालमा नेप्से परिसुचक ११७५ विन्दुमा पुग्यो । सो विन्दु त्यो बेलासम्मको उच्चतम विन्दु थियो । सेयर विश्लेषक प्रकाश तिवारी यसअघिका २ बुल र अहिलेको अवस्थामा केही समानता देखिरहेका छन् ।
‘परिसुचक ११७५ विन्दुमा पुगेको बेलामा देश राजनीतिक संक्रमणमा थियो, तत्कालिन विद्रोही शक्ति नेकपा माओवादी शान्ति प्रक्रियामा आएपनि संविधानसभाले संविधान बनाएको थिएन, माओवादी लडाकुलाई पनि नेपाली सेनामा समायोजन गर्ने राजनीतिक निर्णय भइसकेको थियो, अर्काे संयोग-त्यसको केही समय अघिदेखि मात्रै ‘ओपन क्राई’ (बोलकबोल) प्रणालीबाट नेपाली सेयर बजार सेमिअटोमेसनमा गएको थियो,’ तिवारी स्मरण गर्छन् ।
परिसुचक ११६५ मा पुगेको बेलामा अर्थमन्त्रीको जिम्मेवारीमा नेपाली काँग्रेसका नेता डा. रामशरण महत थिए ।
अर्काे बुल २०७३ साउन १२ गतेको हो । सो दिन नेप्से परिसुचक १८८१ विन्दुमा पुग्यो । त्यतिबेलाको संयोग-२०७२ को शक्तिशाली भूकम्पको कारण राजधानी काठमाडौंसहित देशका १४ जिल्ला अतिप्रभावित भएका थिए । ८ हजारभन्दा बढीको ज्यान गएको थियो । कयौं अंगभंग र घाइते भएका थिए । पुननिर्माणको लागि अर्बाैं रकम चाहिने आँकलन गरिएको थियो । देशमा भारतले लगाएको अघोषित नाकाबन्दी भने हटेको थियो ।
‘भूकम्पको त्रासदी र त्यसले निम्त्याएका असरको सामना गरिरहेको प्रतिकुल अवस्था एकातिर थियो भने अर्काेतिर सोही समयमा डिम्याट सुरु भएको थियो, २०६५ को बुलमा राजनीतिक संक्रमण र सेमी अटोमेसन, २०७३ को बुलमा भूकम्पको त्रासदी र डिम्याट, यी अनौठा संयोग छन्,’ सेयर विश्लेषक तिवारी भन्छन् ।
नेपाल ब्रोकर एसोशिएसनका संस्थापक अध्यक्ष पर्मेश्वर भक्त मल्लले अर्काे रोचक कुरा पनि सुनाए ।
‘२०६५ साल र २०७३ सालको बुलको परिवेश तपाईंले सुनाए जस्तै हो, २०६५ भन्दा अगाडिको बुल २०५८ सालको ६ सय ५५ हो (नेप्से परिसुचक ६५५ विन्दुमा), त्यो बेला ओपन क्राइ प्रणाली थियो, दरबार हत्याकाण्ड (तत्कालिन राजा वीरेन्द्रको बंश नास हुने गरी भएको हत्याकाण्ड) को केही समयपछि नै परिसुचक ६५५ मा पुगेको थियो,’ मल्लले भने ।
सेयर बजारको अहिलेको उत्सव पनि यी तिनवटा परिवेशसँग मिल्दोजुल्दो छ । अहिले राजनीतिक संक्रमण नभएपनि कोभिड महामारीको कारण अर्थतन्त्र धराशायी भएको छ । कोभिडका कारण नेपालमा साढे १ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोभिडको खोप आउन लागेको समाचार सार्वजनिक भएपनि नेपालमा कहिले आउने हो, कोभिड खतरा कहिलेदेखि सकिन्छ भन्ने यकिन छैन । आममानिस अझै पनि त्रासदीकै अवस्थामा छन् ।
यही बेला सेयर बजार बुलिस ट्रेण्डमा छ । दैनिक नयाँ नयाँ रेकर्ड बनिरहेका छन् । र, यही त्रासदीकै अवस्थामा पुँजी बजारमा नयाँ सन्देश प्रभाव भएको छ । अहिले पुँजी बजारमा अनलाइन ट्रेडिङ कार्यान्वयनमा आएको छ ।
अब यहाँसम्म आइपुग्दा के प्रष्ट भयो भने २०५८ को बुलमा राजनीतिक अवस्था प्रतिकुल थियो, पुँजी बजारलाई प्रविधिले थप उत्प्रेरणा दिएको थिएन । २०६५ को बुलमा राजनीतिक संक्रमण थियो, पुँजी बजार ओपन क्राइ प्रणालीबाट सेमी अटोमेसनमा गएको थियो । २०७३ को बुलमा भूकम्पको त्रासदी थियो, पुँजी बजारमा डिम्याट कार्यान्वयमा आएर प्रविधि अझ थप भएको थियो । अहिले कोभिड महामारीको बेला छ, पुँजी बजारमा अनलाइन ट्रेडिङ कार्यान्वयन भएर प्रविधिको उच्चतम प्रयोग हुन थालेको छ ।
संकटको बेलामा नियामक निकाय अलि लचिलो हुने र नेपाली पुँजी बजार नीतिगत रुपमा सानोतिनो परिवर्तनले पनि निकै हलचल हुने भएका कारण यसअघिका ३ र अहिलेको बुलमा पुँजी बजार समाहित भएको देखिन्छ ।
अहिलेको उत्सव कहिलेसम्म ?
पुँजी बजार मापक नेप्से परिसुचक बढिरहेको छ । बढेको बजारलाई सांकेतिक रुपमा साढे र घटेको बजारलाई सांकेतिक रुपमा भालुको आकृति राख्ने चलन छ । अहिले तीब्र रुपमा बढिरहेको बजार (जुरो हल्लाउँदै दौडिरहेको साढे) ले कहाँ पुगेर विश्राम लेला (थकाई मार्ला) भन्ने चर्चा पनि सुरु भएको छ ।
आज (१६ मंसिर, २०७७) नेप्से परिसुचकले २००० विन्दु पार गर्यो । परिसुचक २०००.४० विन्दुमा पुगेको छ । आज दिनभर बजारमा निकै उतारचढाव देखियो । कुनै बेला नेप्से परिसुचक निकै बढेको देखिन्थ्यो भने कुनै बेला निकै घटेको । यद्यपि, बजार बन्द हुँदा परिसुचक ३.३५ अंकले बढ्यो । इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका शब्द सापटी लिने हो भने आज दिनभर बुल र बियर फाइट गरिरहेका थिए ।
लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान अनौठो कुरा सुनाउँछन् । अनौठो यो अर्थमा कि लगानीकर्ताको लागि बजार बढ्नु राम्रो कुरा हो । सँधै बजार बढोस् भन्ने कामना लगानीकर्ताको हुन्छ । तर, प्रधान यस्तो कामना गर्नेमा छैनन् ।
‘सेयर बजारमा बाउन्सिक इफेक्ट (जति जोडले तल गयो त्यति नै जोडले माथि जाने) हुन्छ, कोभिडका कारण सरकारले कर तिर्ने म्याद पुस मसान्तसम्म दिएको छ, कोभिडकै कारण राष्ट्र बैंकले कर्जाको व्याज तिर्ने समय पुस मसान्तसम्मलाई दिएको छ, कर र व्याज तिर्नुपर्ने पैसा पनि सेयर बजारमा आइरहेको छ, पुसपछि यो अवस्था आउँदैन, नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने यकिन अझै भएको छैन, अब बजार जति धेरै बढ्छ, त्योभन्दा निकै जोडले घट्ने खतरा देखिरहेको छु, त्यसैले अब पुग्यो, बजार योभन्दा नबढोस् भनेर प्रार्थना गरिरहेको छु,’ प्रधानले भने ।
अर्का लगानीकर्ता राकेश अडुकिया कोभिडको खोप नआउँदासम्म सेयर बजार बढ्ने सम्भावना देख्छन् ।
‘कोभिडको खोप आएपछि स्वास्थ्य महामारीको अवस्था अन्त्य होला, त्यसपछि लगानीका अन्य क्षेत्र पनि चलायमान हुन्छन्, अनि मात्रै सेयर बजार केही स्थीर होला, त्यो भनेको अझै कम्तिमा २ महिना सेयर बजारमा उत्साह कायमै रहने देख्छु,’ अडुकियाले भने ।
इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार अझै बढ्ने विश्लेषण सुनाउँछन् ।
‘२०७३ को बुल (नेप्से परिसुचक १८८१ विन्दुमा पुगेको बेला) मा लगानी गर्नेहरु अझै पनि नोक्सानीमै छन्, सेयर बजारमा लगानी गरेको व्यक्ति अहिले त्यहाँबाट निस्केर जाने कुनै क्षेत्र नै छैन, त्यसैले बजार अझै बढ्ने अवस्था देख्छु,’ अध्यक्ष रौनियारले भने ।
लगानीकर्ता इन्द्रबहादुर थापा पनि बजार अझै बढ्ने आँकलन सुनाउँछन् ।
‘मान्छेले जहिले पनि प्रतिफल हेरेको हुन्छ, बैंकमा पैसा राख्यो भने व्याज असाध्यै कम छ, व्यापार व्यवसाय पनि कम छ, तत्काल फाइदा लिन सक्ने भनेको सेयर बजारबाट नै हो, त्यसैले धेरैभन्दा धेरै मानिस बजारमा आएका छन्, अनलाइन ट्रेडिङले धेरै ठूलो सहयोग पनि गरेको छ, अझै बजार बढ्ने सम्भावना देख्छु, नभएपनि तत्काल बजार घट्दैन,’ लगानीकर्ता थापाले भने ।
सेयर विश्लेषक प्रकाश तिवारी पनि बजार बढ्ने सम्भावना अधिक देख्छन् । अहिलेको व्याजदर र अहिलेकै नीतिगत व्यवस्था रहुन्जेलसम्म बजार बृद्धिको सम्भावना देखिएको तिवारीले सुनाए ।
‘यसअघिको बुलामा परिसुचक ७ सयभन्दा धेरै बढेको (नेप्से परिसुचक ११६५ बाट बढेर १८८१ मा पुगेको) थियो, त्यसलाई आधार मान्ने हो भने पनि १८८१ विन्दुबाट नेप्से परिसुचक ६/७ सय त बढ्छ होला, अहिले परिसुचक २ हजारको हाराहारीमा छ, त्यसैले यो विन्दु नै अधिकतम हो भन्ने मान्नु हतार होला,’ तिवारीले सुनाए ।
बैंकिङ क्षेत्र ‘अण्डरभ्यालुड’ !
लगानीकर्ता तथा विश्लेषकहरु बैंकिङ क्षेत्र अझै पनि अण्डरभ्यालुड (सस्तो मूल्यमा) रहेको बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने प्रतिफल, आगामी दिनमा उनीहरुको सम्भावित व्यवसायिक सफलता जस्ता विषयले उनीहरुको सेयर मूल्य अझै पनि तल भएको सरोकारवालाले बताएका छन् ।
नहौसिनुस् है !
नेप्से परिसुचक दिनदिनै बढिरहेको छ । कारोबार रकमले प्रत्येक दिनजसो रेकर्ड बनाउँदै तोड्दैछ । सेयर बजारका बारेमा सकारात्मक कुराहरु जो कसैले पनि सुनाउन थालेका छन् । ‘मेरो मामाले यति दिनमा यति कमाए रे, फलानोले यो साता यति कुम्ल्याएछ’ भन्ने जस्ता हल्ला सुनिरहनु भएको होला ।
नेप्से परिसुचक जति बढे वा घटेपनि, दैनिक जति रकम बराबरको जति कित्ता सेयर कारोबार भएपनि अथवा सेयर बजारमा जतिवटा रेकर्ड बन्दै तोडिदै गरेपनि लगानी गर्नेले ध्यान दिने विषय भनेको पोर्टफोलियो व्यवस्थापन नै हो । आफूले सेयर किनेको कम्पनीको मूल्य बढ्यो भने किन्नेलाई फाइदा हुने हो ।
पुँजी बजारबारे जानकार दिलिप मुनंकर्मी सेयर बजार घट्यो वा बढ्यो भनेर दौडनेभन्दा पनि आफूले लगानी गरेका कम्पनीको सेयर मूल्य के भयो भन्ने कुरालाई विशेष ध्यान दिनुपर्ने बताउँछन् । यस्तै, आफूले कुनै पनि कम्पनीको सेयर किन्नुअघि किन त्यही कम्पनीको सेयर त्यति मूल्यमा किन्दैछु भनेर विश्लेषण गर्नुपर्ने उनको सुझाव छ ।
‘नेप्सेमा सुचिकृत कम्पनी २ सय बढी छन्, १ सय ९९ वटा कम्पनीको मूल्य बढ्यो, नेप्से परिसुचक पनि निकै माथि गयो, कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गर्यो, तर मैले किनेको त्यही एउटा कम्पनीको मूल्य घट्यो भने (हुन त यस्तो अवस्था हुँदैन, तर उदाहरणको लागि) यी सबै कुराले मलाई के फाइदा भयो र ? त्यसैले आफूले कस्तो कम्पनीको सेयर किन्ने, त्यति मूल्य किन हाल्ने, महंगो मूल्यमा किनेको सेयर छ भने त्यही कम्पनीको सेयर सस्तो मूल्यमा पाउँदा किनेर त्यसलाई कसरी औसत लागत तल झार्ने भन्ने जस्ता प्राविधिक विषयमा ध्यान पुर्याएर मात्रै लगानी गर्नुपर्छ, बजार जोखिमप्रति चनाखो भएर लगानी गरिएन भने बढेको बजारमा पनि गुमाउनु पर्ने अवस्थामा पुगिन्छ भने घटेको बजारबाट पनि फाइदा लिन सकिन्छ,’ मुनंकर्मीले भने ।
अहिले नेपालमा रेमिटान्स आप्रवाह राम्रैसँग बढिरहेको छ । हिजोको दिनमा अनौपचारिक माध्यमबाट आउने रेमिटान्स पनि कोभिड महामारीको कारण औपचारिक माध्यमबाट आउन थालेपछि रेमिटान्स वृद्धि देखिएको हो । रेमिटान्स आप्रवाहमा कमी आयो वा बजारमा तरलता कम भयो भने पनि सेयर बजारमा अहिले देखिएको उत्साह घट्न सक्ने खतरा भने छ ।
पुँजी बजारको नियामक निकायले पनि कम्पनीको वित्तीय अवस्था, आगामी योजना, कम्पनीबाट प्राप्त हुन सक्ने प्रतिफल जस्ता विषयलाई अध्ययन गरेर मात्रै लगानी गर्नु भनेर आग्रह गरिरहेकोले यी पक्षको पनि विशेष ध्यान दिन भने जरुरी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.