राष्ट्र बैंकको नीतिगत व्यवस्थाले ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा लिन अयोग्य

  २०७७ पुष ३ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले सेयर बजारमा ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा प्रयोजनको लागि धितो राख्न ‘अयोग्य’ भएका छन् । आर्थिक वर्ष समाप्त भएको एक वर्ष पूरा हुँदा पनि अन्तिम लेखापरीक्षण नगर्ने संस्थाको धितोमा सेयर कर्जा दिन नपाइने व्यवस्थाको कारण राम्रा बीमा कम्पनीका सेयर धितो राखेर कर्जा लिन नपाइने भएको हो ।

राष्ट्र बैंकले केही दिनअघि जारी गरेको नयाँ सर्कुलरमा ‘आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु’को सेयर धितो राखेर सेयरधितो कर्जा दिन नपाइने व्यवस्था छ । बीमा कम्पनीहरुको अन्तिम लेखापरीक्षण गर्नुअघि अन्य प्रक्रिया पनि पूरा गर्नुपर्ने प्राविधिक विषयप्रति नेपाल राष्ट्र बैंकले ध्यान नदिदा यस्तो समस्या आएको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले २०७४ सालदेखि बीमा कम्पनीहरुमा पनि नेपाल लेखामान (एनएफआरएस) लागू गरेको छ । एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने तथा जीवन बीमा कम्पनीहरुको बिमांकीय मूल्यांकन गरेर मात्रै लेखापरीक्षण गराउनु पर्ने भएकोले लेखापरीक्षण गराउन ढिला भइरहेको बीमा समितिले पनि बताउँदै आएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षण गरिसकेका कम्पनीहरुको सेयर धितो राखेर मात्रै सेयरधितो कर्जा लिन पाइन्छ । बीमा समिति स्रोतले दिएको जानकारी अनुसार अधिकांश जीवन बीमा कम्पनी तथा केही निर्जीवन बीमा कम्पनीहरुले पनि आर्थिक वर्ष २०७५/७६ कै अन्तिम लेखापरीक्षण स्वीकृत गराएका छैनन् ।

बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले उनीहरुका नियामक निकायबाट अन्तिम लेखापरीक्षण गराएको वित्तीय विवरण स्वीकृत गराउनु पर्छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति हो भने बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक हो ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार विगतका वर्षहरुमा राम्रो प्रतिफल दिएका, वित्तीय अवस्था बलियो भएका र व्यवसायिक रुपमा सफल मानिएका बीमा कम्पनीहरुको सेयरधितो राखेर कर्जा लिन नपाइने अवस्था सिर्जना भएको छ ।

बीमा समिति स्रोतका अनुसार जीवन बीमा क्षेत्रको सबैभन्दा राम्रो कम्पनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले पनि आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षण स्वीकृत गराएको छैन । यसैकारण नेपाल लाइफको सेयर धितो राखेर कर्जा लिनको लागि नयाँ व्यवस्थाले रोक्छ । जबकि हिजो नेपाल लाइफको सेयर २२ सय रुपैयाँको हाराहारीका कारोबार भएको छ ।

बीमा समिति स्रोतले अर्काे राम्रो जीवन बीमा कम्पनी नेसनल लाइफले पनि आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गराएको छैन । सोही कारण सो कम्पनीको सेयर धितो राखेर कर्जा लिन अब पाइने छैन । यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (एलआइसी), एसिएन गुराँस, सूर्या, प्राइम जस्ता जीवन बीमा कम्पनीका सेयर धितो राखेर कर्जा लिन नपाइने अवस्था सिर्जना भएको छ ।

निर्जीवन बीमा कम्पनीतर्फ ओरेन्टल र राष्ट्रिय बीमा कम्पनीले लेखापरीक्षण स्वीकृतिको लागि समितिमा पेश नै गरेका छैनन् । सोही कारण प्रतिकित्ता १४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको राष्ट्रिय बीमा कम्पनीको सेयर धितो राखेर पनि कर्जा पाइदैन । सो कम्पनीले पनि समयमै लेखापरीक्षण नगराएकोले यस्तो अवस्था आएको हो । नेसनल इन्स्योरेन्सले पनि लेखापरीक्षण प्रतिवेदन समितिमा पेश गरेको छैन ।

सम्बन्धित समाचार

सेयर बजारमा सुन्निएको पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकको ‘रेडकार्ड’

One comment on "राष्ट्र बैंकको नीतिगत व्यवस्थाले ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा लिन अयोग्य"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.