साधारण सभाको चापमा सहकारी

  २०७७ पुष १९ गते २१:३०     सन्तोष तिमल्सिना

लेखक

साधारण सभा सहकारीका लागि मात्र नभई सबै संघ संस्था तथा कमपनीहरुको सर्वोच्च अंग हो । साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । कुनै पनि संघ संस्था तथा कम्पनीका सदस्यहरु सम्मिलित भई सम्पन्न भएका कार्य प्रगति र भावी कार्यक्रमको साधारण सभामा छलफल हुने गर्दछ । अझ सहकारी संस्थाहरुमा साधारण सभाको बिशेष महत्व रहन्छ ।

पछिल्लो समय सहकारी संस्थाहरुमा साधारण सभाको चाप बढ्दै गएको छ । पौष मसान्तसम्ममा साधारण सभा सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान रहेका कारण पनि सहकारी संस्थाहरुमा साधारण सभाको चाप बढ्नु स्वभाविक पनि हो । सहकारी ऐन २०७४ को परिच्छेद ६ मा साधारण सभा, समिति तथा लेखा सुपरिवेक्षण समिति सम्बन्धि व्यवस्था रहेको छ । ऐनको दफा ३९ को उफा २ मा संचालक समितिले प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना भित्र बार्षिक साधारण सभा बोलाउनु पर्ने उल्लेख गरिएको छ ।

बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, लेखा परिक्षकको प्रतिवेदन अनुमोदन गर्ने, संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने, बार्षिक प्रतिवेदन पारित गर्ने, विनियम तथा आन्तरीक कार्यविधिहरु पारित गर्ने, संस्था एकिकरण तथा विघटन गर्ने, संस्थाको दिगो विकासका लागि समितिलाई निर्देशित गर्ने जस्ता महत्वपूर्ण कुराको निणर्य साधारण सभाले गर्ने भएकाले तोकिएको समयसिमा भित्र साधारण सभा सम्पन्न गर्नु सम्पूर्ण सहकारी संस्थाहरुको दायित्व हो । संचालकहरु आफ्नो पदीय जिम्मेवारीलाई त्याग्न सक्छन, तर साधारण सभाबाट पन्छिन पाउँदैनन् । यो वा त्यो बहाना बनाएर साधारण सभा बोलाउन सकिएन वा साधारण गर्न सकिदैन भन्न मिल्दैन ।

विगतका बर्षहरुमा दशैं अगाडी नै साधारण सभा सम्पन्न गरेर दशैंमा आफ्ना शेयर सदस्यहरुलाई शेयर लाभाशं वितरण गर्ने सहकारी संस्थाहरुले पनि यो बर्ष ढिलै गरी साधारण सभा सम्पन्न गरेका छन । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण समयमै साधारण सभा गर्न सहकारी संघ संस्थाहरुलाई कठिनाई परेको थियो । भेला, सभा, सम्मेलनको आयोजना गर्दा धेरै मानिसहरु जम्मा हुने, भिडभाड हुने हुँदा कोरोना संक्रमणको जोखिम उच्च हुने सम्भावना रहेकाले दशैं अभिसम्म सहकारी संघ संस्थाहरुलाई साधारण सभा के– कसरी गर्ने अन्यौलता नै रहेको थियो ।

सुरुवाती समयमा केही अन्यौलता रहेता पनि असोजमा सहकारी विभागले सहकारी संस्थाहरुको साधारण सभा सम्बन्धी सूचना जारी गर्दै कानुनमा तोकिएको मय भित्र साधारण सभा सम्पन्न गर्न निर्देशन गरेको थियो । कोभिड–१९ लाई मध्यनजर गर्दै विभागले साधारण सभा कार्यक्रम सम्बन्धि केही मापदण्ड सहित साधारण सभा सम्पन्न गर्न निर्देशन गरे अुरुपम पौषसम्ममा साधारण सभा सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्थाका कारण पनि पौष महिनामा सहकारी संस्थामा साधारण सभाको चाप ह्वतै बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.