२०७७ पुष २७ गते १७:३३ विकासन्युज
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा हालसम्म दुई अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार(पुस २७ गते) साँझ ५ बजेसम्ममा १० लाख ६७ हजार ८९३ जना आवेदकले २ करोड १० लाख ५२ हजार ३२० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरिरहेको छ ।
कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेकाे हाे ।
यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यससँगै इच्छुकले भाेलि बैंकिङ्ग समय भित्रमा कम्पनीकाे सेयरकाे लागि आवेदन दिइसक्नु पर्ने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.