२०७७ माघ १३ गते ११:४१ विकासन्युज
काठमाडौं । पछिल्लो समय काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण काम तीव्र गतिमा भइरहेको छ । केही हप्ता अगाडि स्थानीयहरुको अवरोधका कारण केही समस्या भएको सुरुङमार्गको काम पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको हो ।
सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार अहिले कामले तीव्रता पाएको छ । उनका अनुसार अहिले सुरुङमार्गको पूर्व–पश्चिमबाट खन्ने, विभिन्न ठाउँमा पूल निर्माण गर्ने, ओभरपास निर्माण गर्ने, पहुँच रोड बनाउने लगायतका कामहरु भइहरका छन् । केही दिन अघि सुरुङमार्गको काम सुरु भएको दुई हप्तामै विवादमा आएको थियो ।
स्थानीयले सुरुङमार्गले स्थानीय स्तरमा विभिन्न समस्याहरु सिर्जना गर्ने भन्दै ती समस्याको समाधानका लागि विभिन्न मागहरु राखेका थिए । त्यसपछि आयोजनाका मानिसहरु र स्थानीय तहका जनप्रतिनिधीहरु मिलेर काम नियमित रुपमा अगाडि बढाउने सहमति भएसँगै अहिले कामले तीव्रता पाएको हो ।
आयोजना प्रमुख शाक्यका अनुसार अहिले साइटमा ३ सय जना कामदारले काम गरिहरेका छन् । ‘गत शुक्रबारबाट हामीले पूर्वीतर्फको टोटीपाखाको मेन टनेलको काम सुरु गरिसकेका छौं, दैनिक ३ सय कामदार खटिएका छन्, ३४ मिटर सुरुङ खनिसकेका छौं,’ उनले भने ।
छैन निर्माण सामग्रीको अभाव
शाक्यका अनुसार आयोजनाका लागि अहिले प्रयाप्त मात्रामा निर्माण सामग्री छन् । ‘अहिले निर्माण सामग्रीको मूूल्य बढेपनि त्यसको असर आयोजनालाई नपरेको उनको भनाई छ । निर्माण सामग्री पनि आइसकेको छ । इलेक्ट्रोमेकानिकल सामान आयात गर्न बाकी छ, अन्य धेरै निर्माण सामग्रीहरु आइसकेका छन्,’ उनले भने ।
उनका अनुसार अहिले बढेको निर्माण सामग्रीले आयोजनालाई केही असर परेको छैन । उनले ९० प्रतिशत इक्विपमेन्ट साइटमा आइसकेको बताए । उनले सुरुङमार्गका लागि आवश्यक पर्ने जम्बो ड्रिलर लगायतका मेसिनहरु जापानबाट ल्याइएको बताएका छन् भने त्यसबाहेकका सामान तथा मेसिन जापान र इटालीबाट ल्याएको बताए ।
यस्तै, २० प्रतिशत निर्माण सामग्रीहरु पनि साइटमा ल्याइसकेको छ । सुरुङमार्ग खन्न थाल्नेदेखि यसको फिनिसिङ गरेर पूर्णरूपमा सम्पन्न गर्नेसम्म सबै गरेर ४४ महिनामा यो आयोजना पूरा गर्ने योजना छ। सन २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको थियो ।
२ दशमलव ७ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्गमा लागत २२ अर्ब हुने अनुमान गरिएको छ । गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेपनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाई र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाईका कारण १४ महिना ढिलो गरी निर्माण कार्य शुरु भएको हो ।
आयोजना स्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पुरा भइसकेको छ । जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.
One comment on "नागढुङ्गा-नौबिसे सुरुङमार्गको काम फाष्ट ट्रयाकमा, दैनिक ३ सय कामदार परिचालित, ३४ मिटर सुरुङ खनियो"