भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्छ: अर्थमन्त्री पौडेल

  २०७७ माघ १३ गते १३:३२     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून विजकिकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

उनले निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि बताए । निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुई मध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने र  भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडी बढाउँदै  प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि पौडेलले जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनैपनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने र तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्न समेत माग गरे ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त अनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । उनले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन माग गरे ।

भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा वस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । यस्तै भ्याटको दर, आयकरको दर लगायतका करदका दरहरु घटाउन समेत उनले माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.