२०७७ माघ १३ गते २०:५८ विकासन्युज
बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्ने एउटा रमणिय नगरपालिका हो ‘कमलामाई नगरपालिका’ । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि चर्चित छ । यो नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक अनि प्राकृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र हो । यहाँका प्राकृतिक श्रोत साधन र ऐतिहासिक तथा पुरातात्विक सम्पदा जीवन्त रहन सक्षम छन् । यो नगरपालिका चुरे तराईको प्रचण्ड गर्मी देखी महाभारतको उच्च श्रृंखलासम्म विस्तारित छ ।
नगरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ, नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन्, कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, रोजगारीको अवसर नगरपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः
नगरपालिकामा कोरोनाले पुर्याएको असर तथा हालको ताजा अवस्थाका वारेमा केहि बताइदिनुस् न
विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो नगरपालिकामा पनि ठुलो असर पुर्याएको छ । कोरोनाको कारण विकास निर्माण देखि लिएर सबै क्षेत्रमा असर पुर्याएको छ । कोरोना बाट नै यहाँका ५ जनाले ज्यान गुमाउनुपर्यो । नगरपालिका भित्र हामीले क्वारेन्टिन स्थापना गरेका थियौं । हामीले सिन्धुली कोभिड अस्पतालको पनि निर्माण गरेका छौं । हामीले स्थानिय अस्पतालमा आइसोलेसनको सञ्चालन पनि गरेका थियौं । अब नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन । अवस्था सामान्य बन्दै गएको छ ।
स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?
प्रदेश सरकारका माननीय, मन्त्री तथा कर्मचारी सबैसँग समन्वय गरेर हामी अगाडि बढि रहेका छौं । सिन्धुलीगढी दरबार बनाउन पनि हामीले प्रदेश सरकारसँग नै समन्वय गर्यौं । नयाँ सडक निर्माण, भएका सडकहरु पिच गर्ने लगायतका योजना छन् । बहुवर्षे योजनामा पनि हामीलाई प्रदेश सरकारले सहयोग गरेको छ । नगरपालिकाको विकास निर्माणदेखि भौतिक पूर्वधारसम्मका योजनाहरुमा पनि प्रदेश सरकारसँग समन्वय गरेरै अघि बढेका छौं । प्रदेश सरकारको साथ स्थानीय सरकारलाई मिलको छ । हाम्रो नगरपालिकाको एकमुष्ट बजेट १ अर्व १६ करोड १२ लाख रुपैयाँ रहेको छ ।
स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आईपर्छन् ?
स्थानीय तहमा काम गर्दा समस्या धेरै आउने गरेका छन् । सडक निर्माण गर्नुपर्यो भने सिमानाका कुराहरु आउन सक्छ । बजेट विनियोजन गर्ने कुरामा मानिसको अपेक्षा धेरै रहेको हुन्छ । तर हाम्रो बजेट भने अपेक्षा गरेभन्दा थोरै रहेको हुन्छ । भौगोलिक दृष्टिकोणले विकट गाँउपलिकालाई मिलाएर नगरपालिका बनाइएको छ । जे होस् जनता हाम्रो कामसँग सन्तुष्ट नै छन् भन्नुपर्छ ।
केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?
नगरपालिकामा केन्द्र सरकार बाट पनि सहयोग भएको छ । केन्द्र सरकारकै सहयोगको कारणले गर्दा ‘उज्यालो नगरबासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना’ भनेर गाउँ–गाउँमा बिजुली पुर्याउन संघीय सरकार बाट बजेट ल्याएर हामीले काम गरेका हौं । विकास निर्माणको काममा पनि हामीले केन्द्र सरकारको सहयोग पाइरहेका छौं । ठुला विकासको योजनामा पनि केन्द्र सरकार बाट सहयोग मिलिरहेकै छ ।
नगरपालिकामा गरेको विकास निर्माणको काम कत्तिको प्रभावकारी भएको छ ?
नगरपालिकामा गरेको विकास निर्माणको कामहरु सबै प्रभावकारी भएका छन् । विकासको काम प्रभावकारी भएकाले म यसमा सन्तुष्ट रहेको छु ।
त्यहाँ भएका विकास निर्माणका कामको उदाहरण दिनुपर्दा के भन्नुहुन्छ ?
मुख्यतः सडक सबै ठाउँमा पुर्याउने काम भइसकेको छ । प्रदेश सरकार र संघिय सरकारको समन्वयमा सडकहरु पिच गर्ने कार्य भइरहेको छ । बिजुली वत्ति घर घरमा पुर्याइरहेका छौं भने खर तथा परालको छानो अन्त्य गर्ने अभियानमा हामी जुटेका छौं । मा.वि स्कुलका भवनहरुको निर्माण र व्यवस्थापन गर्ने कार्य गरिएको छ ।
तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि नगरपालिकाका नागरिकमा कस्तो परिर्वतन आएको छ ?
नगरिकको आर्थिक स्थितीमा परिर्वतन आएको छ । पहिले यो नगरपालिका दुधमा, मासुमा आत्मनिर्भर थिएन तर आज यी कुराहरुमा आत्मनिर्भर भइसकेको छ । तरकारीमा पनि आत्मनिर्भर भएको छ । सानासाना मझौला उद्योग खोल्न चाहने नागरिकले नगरपालिका बाट विना व्याज विना धितो १ करोड रुपैयाँ नगर स्वारोजगार र १ करोड रुपैयाँ युवा स्वारोजगार पाउन सक्छन् । विभिन्न मजदुरको स्वास्थ्य बीमा भएको छ । ६ सय घर परिवारका २८ सय मान्छे स्वास्थ्य बीमा बाट लाभान्बित भएका छन् । सबै वडामा कृषिका भेटेरिनरीका जेटिएहरुलाई पठाएका छौं । अस्पताल नभएका वडाहरुमा अस्पताल भवनको निर्माण गरेका छौं । नेपाल सरकारबाट प्राप्त निःशुल्क औषधी हामीले जुनसुकै समयमा पनि वितरण गरेका छौं ।
तपाई निर्वाचित भएको ३ बर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झिन लायक काम के–के गर्नुभयो ?
त्यस्ता काम धेरै नै छन् । नेपाली सेनाको सहयोगमा सिन्धुली गढी संंग्रहालय अन्तिम चरणमा पुगेको छ । सिन्धुली गढी दरबारको निर्माण भइरहेको छ । सिद्धलाला मन्दिरमा भ्यू टावर बनिरहेको छ । वडा नं ९ र १० जोड्ने पक्कि पुल टेन्डर भएर चलिरहको छ । नगरपालिकादेखि तीनपाटन गाँउपालिका जोड्ने बाटो ५२ करोड रुपैयाँमा पिच हुने काम अगाडि बढि रहेको छ । नगरपालिकाको वडा नं ६ र ५ जोड्ने पुलको निर्माण भइरहेको छ । वृद्ध बाआमाहरुले निःशुल्क रुपमा आँखाको उपचार पाइरहनु भएको छ । नगरपालिका भित्रका विद्यालय व्यवस्थित रहेका छन् । भवन निर्माणका कामहरु भएका छन् । त्यसैले मैले सम्झिन लायकका काम धेरै भएका छन् भन्दा फरक पर्दैन ।
बुँदागत रुपमा भन्नुपर्दा नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ?
नगरपालिकाको ठुला योजनाहरुमा – १. सिन्धुली गढी दरबारको योजना (बजेट ७ करोड रुपैयाँ), २. सिन्धुली गढी हिलिफीर बन्ने योजना (बजेट ३ करोड रुपैयाँ), ३. सिद्ध लाला मन्दिर भ्यू टावरको निर्माण (बजेट ३ करोड ५० लाख रुपैयाँ), ४. नगरपालिका हुँदै चकमके जाने बाटोको योजना (५२ करोड रुपैयाँको प्रजेक्ट), ५. नगरपालिकाको वडा नं. ९ र १० जोड्ने पुलको निर्माण (१२ करोड रुपैयाँको योजना) लगायत छन् भने नगरपालिका भित्रका साना तिना योजानाहरु त धेरै नै रहेका छन् ।
आफ्नो नगरपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ नि ?
पर्यटन क्षेत्रको प्रचारप्रसार राम्रैसँग गरेका छौं । सिन्धुली गढी हेर्न भन्दै वाह्य तथा आन्तरिक पर्यटकहरुको भिड लागिरहेकै छ । कमलामाई मन्दिरको उचित व्यवस्थापन गरेका छौं भने यस मन्दिरको प्रचारप्रसार पनि गरिरहेका छौं । पर्यटकहरुका लागि होमस्टेको व्यवस्थापन गरेका छौं ।
कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असर तथा हालको शैक्षिक अवस्थाका वारे पनि बताइदिनुहुन्छ कि
कोरोना भाइरसले नगरपालिका भित्रको शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । कोरोनाको समयमा नगरपालिकामा रहेको सबै विद्यालयहरु बन्द भएको थियो । कोरोनाको प्रभाव नपरेका ठाँउमा सामजिक दूरी कयम गर्दै पठनपाठन सञ्चालन गर्यौं । नगरपालिकामा इन्टरनेट तथा रेडियोका माध्यम बाट पनि पढाउने व्यवस्था गर्यौं । हाल गाँउपालिकामा कोरोनको खासै प्रभाव छैन । नगरपालिकामा रहेका सबै विद्यालयको पठनपाठनहरु नियमित रुपमा सञ्चालन भइरहेको छ । विद्यालयमा माक्स, सेनिटाइजर आदिको प्रयोगलाई अनिवार्य गराएका छौं ।
नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?
हामीले नगरपालिकामा बाँझो जमीन नराख्न तथा खेतीयोग्य जमीनको उपयोग गर्न लगाएका छौं । तरकारी खेती गर्नका लागि टनेल पनि वितरण गरिरहेका छौं । हरेक वडामा एउटा जेटिएको व्यवस्थापन गरेका छौं । विउको साटो विरुवा नै दिने अभियानमा रहेका छौं । एक वडा–एक उत्पादन भन्ने अभियान नगरपालिकाको छ । नगरपालिका भित्र जे उत्पादन हुन्छ त्यसै अनुसारका विउ विजन वितरण गर्दै आएका छौं । नगरपालिकामा विभिन्न खाले तरकारी उत्पादन हुने गरेको छ । अनुदानलाई भन्दा खेती अथवा तरकारी व्यावस्थापन तर्फ जोड दिएका छौं । नगरपालिकाले कृषिमा १ करोड र भेटेरिनरीमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
नगरपालिकाले रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?
नगरपालिकाले युवा स्वरोजगारका लागि भनेर १ करोड रुपैयाँ बजेट छुट्याएको छ । नगर स्वारोजगारको पनि कार्यविधि बनिरहेको छ । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि हामीले रोजगारी दिने वातवरणको विकास गरिरहेका छौं ।
नगरपालिकामा मानिसहरु प्रायः कस्ता समस्या लिएर आउने गर्छन् ?
कोहि खानेपानीको पाइप चाहियो भन्दै आउनुहुन्छ, कोहि रोजगारी चाहियो भन्दै आउनुहुन्छ, कोहि भने स्वास्थ्य सेवा राम्रो हुनुपर्यो भन्नेजस्ता समस्याहरु लिएर आउनुहुन्छ ।
तपाइँको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?
मेरो कार्यकालमा सबै वडामा बिजुली पुग्नेछ । नगरपालिका तरकारीमा आत्मनिर्भर बनिरहेकै छ । सबै वडामा सडक पुर्याउने योजना बनाएको छु । नगरपालिकामा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । जे होस्, आफूले जिताएकोे जनप्रतिनिधि नगरपालिकको मेयर भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्नेमा विश्वस्त छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.