२०७७ माघ १५ गते १२:०९ विकासन्युज
काठमाडौं । नेपालाम भ्रष्टाचार झन् बढ्दै गएको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै नेपालमा भ्रष्टाचार झन बढ्दै गएको देखाएको हो ।
१८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा परेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले यस वर्ष नेपालमा भ्रष्टाचार बढेको बताएको छ । गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो ।
सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारी माथी कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेकोले नेपालमा भ्रष्टाचार बढ्दै गएको तथ्यांकले देखाएको छ ।
विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.