ग्रीनलाइफ हाइड्रोको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?

  २०७७ माघ २६ गते १८:३५     विकासन्युज

काठमाडौं । हाल सेयर निष्काशन तथा बिक्री गरिरहेको ग्रीनलाइफ हाइड्रोपावरको प्राथमिक सेयर(आईपीओ)मा भोलि (माघ २७ गते) सम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा बढी आवेदन परेसँगै उक्त सेयरको निष्काशन बन्द छिटो मिति (अर्थात माघ २७ गते)मा हुन लागेको हो ।

कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियो । जसमा हालसम्ममा एक अर्ब ९८ करोड रुपैयाँ बढीको आवेदन परिसकेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज(सोमबार) साँझ ५ बजेसम्ममा १० लाख ९१ हजार २५१ जना आवेदकबाट एक करोड ९८ लाख ६१ हजार ७१० कित्ता सेयर माग गरिसकेका छन् ।

जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६.१ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा ३२ लाख ५१ हजार ६५२ कित्ता माग गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेबसाइट तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ ।

हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ।

One comment on "ग्रीनलाइफ हाइड्रोको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.