२०७७ फागुन १३ गते १३:०८ विकासन्युज
एन्जेसी । अस्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने विधेयक पारित भएको छ । केही समय अगाडीदेखि यो मुद्दा विचाराधिन अवस्थामा रहेको थियो । बुधबार अस्ट्रेलियाको माथिल्लो सदनबाट नयाँ मिडिया कानुन पारित भएको हो । समाचार संस्था रोयटर्स का अनुसार अस्ट्रेलियाले ल्याएको नयाँ कानुन अनुसार फेसबुक र गुगल अस्ट्रेलियन मिडियाको समाचार प्रयोग गरेबापत रकम तिर्नु पर्नेछ ।
यो कानुन अनुसार सूचना तथा प्रविधि कम्पनीहरूले रकम तिर्नु पर्ने उल्लेख छ । तर, कति रकम तिर्नु पर्ने भन्ने कुनै मापदण्ड तोकिएको छैन । अस्ट्रेलियाको नयाँ कानुन अनुसार फेसबुक र गुगलले स्थानिय मिडिया संस्थालाई निश्चित रकम तिर्न दवाव परेको थियो । अस्ट्रेलियाले ल्याउन लागेको कानुनमा फेसबुक र गुगलले असहमति जनाउँदै रकम नतिर्ने बताएका थिए । गुगलले मिडिया कम्पनीसँग केही अघि सम्झौता गरिसकेको छ । फेसबुकले भने अस्ट्रेलियाली प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न रोक लगाएको थियो । सरकारी अधिकारीसँग पछिल्ला दिनमा वार्ता गरेपछि फेसबुक आफ्नो कदमबाट पछि हटेको छ ।
बिगत ६ महिना यता अस्ट्रेलियासँग फेसबुक र गुगलको द्वन्द्व थियो । सूरुवातमा गुगलले अस्ट्रेलियाबाट बाहिरिने चेतावनी दिएको थियो । गएको साता भने रकम तिर्न राजी भएको थियो । अस्ट्रेलियाका ठूला प्रकाशकलाई झण्डै ४७ मिलियन डलर तिर्न गुगल तयार भएको छ । फेसबुकले भने मिडियालाई पैसा नतिर्ने भन्दै अस्ट्रेलियाको कानुनमा असहमती जनाएको थियो । अस्ट्रेलियाली प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न, पढ्न पाँच दिनसम्म प्रतिबन्ध लगाएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.