२०७७ फागुन १८ गते १२:२० विकासन्युज
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बिक्री नभएको हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । संस्थाले हकप्रद निष्काशन गरी बिक्री नभएको कूल १२ हजार ४४२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको हो ।
जसमध्ये ३ हजार ३६८ कित्ता संस्थापक र ९ हजार ७४ कित्ता सर्वसाधारण सेयर रहेको छ । उक्त सेयर लिलाम बिक्री गर्न गत पुस २८ गते सम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभाले पारित गरेको थियो ।
यससँगै संस्थाले आगामी फागुन २८ गतेदेखि चैत १३ गतेसम्म उक्त सेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । इच्छुक संस्थापक साना किसान सहकारी संस्थाले मात्र चैत १३ गते एक बजेभित्र प्रतिकित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो त्यसमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।
उक्त लिलाम बिक्रीका लागि बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । यससँगै इच्छुकले काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र साना किसान विकास लघुवित्तको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
कम्पनीले सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.