२०७७ सालः कोरोनाले अत्याएर डिजिटल पेमेन्टको बानी बसाल्यो

  २०७८ वैशाख २ गते १०:०९     विकासन्युज

काठमाडौं । केही समयअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काठमाडौँ उपत्यकाभित्र सञ्चालित कालिमाटी, बल्खु, तिनकुने जस्ता तरकारी बजार पुगे । त्यहाँबाट उनले केही तरकारी र फलफूल किने ।

सामान्यतया तरकारी बजारमा तरकारी तथा फलफूल खरिद तथा बिक्रीका लागि जाने गरिन्छ । तर, गभर्नर अधिकारी तरकारी बजार जानुको मुख्य उदेश्य तरकारी वा फलफूल किन्नुभन्दा पनि अर्कै थियो । उनको ध्येय तरकारी तथा फलफूल खरिद विक्रीमा डिजिटल भुक्तानी कार्यान्वयन गर्न सकिन्छ भनेर सन्देश दिनु थियो ।

गभर्नर अधिकारीको पहलमा राष्ट्र बैंकले ‘क्यास लेस इकोनोमी’को अवधारणमा डिजिटल कारोबारलाई प्रश्रय दिइरहेको छ ।

अधिकारीको पहलमा गत पुस १० गतेबाट सानिमा बैंकले काठमाण्डौं स्थित नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी कार्यक्रम सुरु भएको थियो । तरकारी बजारमा क्यूआर कोड मार्फतको भुक्तानीको सुरुवात नै यहिबाट भएको हो ।

प्रविधिको प्रयोग अन्तरगत पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका तरकारी बजार, मन्दिर तथा अटोरिक्सा लगायत धेरै स्थानमा क्विक रेपोन्स (क्यूआर) कोड जडान भइसकेको छ ।

नक्सालबाट सुरु भएको क्यूआर कोड गभर्नर अधिकारी उपस्थितिमा काठमाडौं उपत्यकाका कालिमाटी, बल्खु तथा कुलेश्वर तरकारी बजार लगायत देशका विभिन्न स्थानमा सञ्चालन भएका तरकारी बजारमा पुगिसकेको छ ।

गत साउन महिनामा क्यूआर कोडमार्फत ५८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेकोमा पछिल्लो समय ३४ गुणसम्म बृद्धि भएको छ ।

गत साउन मसान्तको तुलनामा फागुन मसान्तमा एक अर्ब ९७ करोड रुपैयाँले बृद्धि भई २ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

गभर्नर अधिकारीले नक्सालमा क्यूआर कोड जडान गर्दाको समय (गत पुसमा) एक अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । गत पुसको तुलनामा फागुन महिनामा ८१ करोड बढीको कारोबार भएको छ ।

फोन पेले ल्याएको क्रान्ति

गभर्नर अधिकारीले क्यूआर कोड जडानलाई प्राथमिकतामा राख्दा कोड लिनेको संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको छ । कोरोना महामारी अघि क्यूआर मर्चेन्ट लिनेको संख्या डेढ लाखसम्म रहेकोमा हाल उक्त संख्या साढे तीन लाख पुगेको छ ।

फोन पेका सिटिओ दिवस सापकोट पछिल्लो सयम दैनिक हजार ग्राहक थपिने गरेका बताउँछन् ।

‘कोरोना महामारी अघि न्यून ग्राहक थिए, कोरोना महामारीसँगै राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने नीति लियो, कागजी नोटबाट कोरोना सर्ने भन्ने कुरा पनि भयो, त्यसपछि फोन पेका ग्राहकको संख्या र कारोबार रकममा बृद्धि हुँदै गएको छ’, सापकोटाले भने ।

संख्या बृद्धि

पछिल्लो समय नेपालमा डिजिटल प्रविधिको प्रयोग गर्नेहरुको संख्यामा बृद्धि भएको छ । नेपालमा कोरोना महामारी सुरुहुनुभन्दा अघिसम्म न्यून संख्यामा प्रविधिको प्रयोग हुने गरेकोमा पछिल्लो समय दोब्बरभन्दा बढीले बृद्धि भएको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैैैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अबधिमा २ अर्ब बढीको डिजिटल भुक्तानी मार्फत कारोबार भएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने भुक्तानीमा ठूलो संख्यामा बृद्धि भएको छ ।

कोरोना महामारीका कारण विभिन्न बैंकले मोबाइल बैंकिङको प्रवद्र्धन गर्दा अनलाइन मार्फत खाता खोल्न सक्ने सुविधा दिएसँगै मोबाइल बैंकिङका प्रयोगकर्ता थपिएका हुन् ।

गत वर्षको चैत अगाडीसम्म मोबाइल बैंकिङको प्रयोगकर्ता ९० लाख रहेकोमा हाल १ करोड ८२ हजार बढी पुगिसकेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनमा न्यून मात्रामा डिजिटल कारोबार हुने गरेको थियो । कोरोनाका कारण घरमा नै बसेर डिजिटल प्रविधिको प्रयोग गर्न सक्ने भएपछि प्रयोगकर्ताको संख्यामा बृद्धि भएको हो ।

गत साउनमा मोबाइल बैंकिङ मार्फत १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुन मसान्तमा आइपुग्दा चालिस अर्ब ३५ करोड ९० लाख बढी भएको छ । साउन महिनामा ५९ लाख २३ हजार पटक कारोबार भएकोमा फागुन महिनामा आइपुग्दा १ करोड ८२ हजार बढी पुगिसकेको छ ।

मोबाइल बैंकिङ सगँसगैँ इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर स्क्यान र मोबाइल वालेट लगायतका डिजिटल प्रविधिको प्रयोगकर्ता थपिएका छन् । प्रयोगकर्तासँगै कारोबार रकममा समेत उल्लेख्य रुपमा बृद्धि भएको छ ।

हाल राष्ट्र बैंकले नौ भुक्तानी प्रणाली र १४ भुक्तानी सेवा प्रदायक गरी २३ वटासंस्थालाई नगदरहित कारोबारको अनुमति दिएको छ ।

यसरी हेर्दा गत आर्थिक वर्ष नेपालमा डिजिटल पेमेन्टको लागि कोशेढुंगा सावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.