२०७८ वैशाख १४ गते १२:५५ मञ्जरी पौडेल
नेपाल राष्ट्र बैंकले ६६औं वार्षिकोत्सव मनाइरहेको छ । नेपालको वित्तीय क्षेत्रको सबैभन्दा बलियो र विश्वासिलो नियामक निकाय नेपाल राष्ट्र बैंकले ६६औं वार्षिकोत्सव मनाइरहदा लघुवित्त क्षेत्रका लागि के गरिरहेको छ, अबका दिनमा के कस्ता काम र सुधारहरु गर्नुपर्छ भन्ने लगायतका विषयमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालसँग विकासन्युजका लागि मञ्जरी पौडेलले कुराकानी गरेकी छन्ः
नेपाल राष्ट्र बैंकले ६६औं वार्षिकोत्सव मनाउँदै छ । यो अवसरमा लघुवित्त क्षेत्रको तर्फबाट के भन्न चाहनु हुन्छ ?
सर्वप्रथम त बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई ६६औं वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिन चाहन्छु ।
अहिलेकाे अवस्थामा नेपाल राष्ट्र बैंकको भूमिका सकारात्मक नै रहेको छ । लघुवित्तको क्षेत्रमा राष्ट्र बैंकले एकदमै सपोर्ट गरिरहेको छ । अभिभावकत्व निभाएको छ । पछिल्लो चरणमा बैंकको भूमिका परिवर्तन भएर लघुवित्तलाई सूपरिभिजन मात्रै गर्ने भन्ने निर्णय भएको छ । तैपनि लघुवित्तको हकमा हरेक विषयमा अहिलेसम्मलाई सकारात्मक नै छ । र, यो खालको सर्पोट अबका दिनमा पनि हुन्छ, हामीले पाउँछौं भन्ने आशा राखेका छौं ।
लघुवित्तको क्षेत्रमा नियामकले के गरिदियोस् भन्ने चाहनुहुन्छ ?
खासै यो नै गरिदियोस् भन्ने छैन । समय सापेक्ष संस्थाहरुलाई गर्नुपर्ने साथ सहयोग भइरहोस् भन्ने हो । आशा छ, अहिले जे जति सहयोग पाइरहेका छौं अबका दिनमा पनि समय अनुसार निरन्तर पाइराख्ने छौं ।
अहिले धेरै संस्थाहरु भएर संस्थागत क्षमता अलिकति बलियो नभएर कतै अफ्ठ्यारो पनि देखिएको छ । यसलाई अलि व्यवस्थित गर्नेमा हामी लागिरहेका छौं । पछिल्लो समय मर्जर तथा एक्विजिसनको अवधारणा आइरहेको छ । यसले सम्भवतः संस्थालाई बलियो बनाउने, मोर प्रोडुन्सियल, कर्पोरेट अलि राम्रोसँग चल्ने अवस्था हुनेछ । पछिल्लो समय संस्था शुदृढीधकरण गरिरहेका छौं । र, संस्था मर्जर एक्विजिशनको अभियानलाई अगाडि बढाएर संस्थाहरु बलियो पार्दै र यसलाई अलि व्यवस्थित बनाउन राष्ट्र बैंकको भूमिका हुन्छ भन्ने लाग्छ ।
के लघुवित्तहरुमा मर्जर तथा एक्विजिशन जरुरी नै छ ?
हो, बैंकहरुमा जस्तै लघुवित्त वित्तीय संस्थाहरुमा पनि मर्जर तथा एक्विजिशन जरुरी नै छ ।
किन ?
किनभने अहिले राष्ट्र बैंकले लिएको जुन लक्ष्य छ, त्यो पुरा गर्नको लागि मर्जर तथा एक्विजिशन नगरी सानो संस्थाले गर्न सक्ने अवस्था नै छैन । किनभने थुप्रै नियम तथा सिष्टमहरुका कुराहरु छन्, जहाँ धेरै ठूलो लगानी पनि आवश्यक हुन्छ । पुरानाले सके पनि नयाँ संस्थाले ठूलो लगानी गरेर पुरा गर्न सक्ने सम्भव नै हुँदैन । त्यसकारण पनि मर्जर तथा एक्विजिशनको अवधारणा आएको हो । यो अवधारणापछि संस्थाहरु बलियो हुन्छ भन्ने हो । ठूला तथा पुराना संस्थाहरु त आफैमा पनि दह्रा नै छन् । तर, एकदमै साना संस्थाहरु भने मर्जर तथा एक्विजिशनबिना चल्न सक्ने अवस्था छैन । ठूला साना सबै संस्थाहरुको सञ्चालन खर्चहरु एउटै हुन्छ । त्यसैले साना संस्थाहरुलाई महंगो पर्न आउँछ ।
अहिले ठूला भएका संस्थाहरु २०/२५ वर्षअघि सानोबाट शुरु भएर त्यसलाई विस्तार गर्दै आएर अहिले ठूला भएका हुन् । साना संस्थाहरुले पनि २०/२५ वर्ष कुरे भने त ठूला बन्छन् होला । तर, अहिलेका नयाँ संस्थालाई पहिलाका संस्था जस्तो विस्तारै गर्दै जान्छु, व्यवस्थित हुँदै जान्छु र ठूलो हुन्छु भन्ने समय छैन । किनभने अहिले फाष्टमूभिङ्ग छ । तुरुन्तै संस्थाहरु भायवल हुनुपर्छ । समय अनुसार बिजनेस हुन्छ र सो अनुसार चल्नु पर्छ । सरकार तथा नियामकको नीतिमा बस्नै पर्छ । पहिलाको जस्तो सजिलो छैन । त्यसैले पनि संस्थाहरु मर्जर तथा एक्विजिशनमा जानै पर्ने बाध्यता छ ।
मतलब चुक्तापुँजी वृद्धिको लागि त आवश्यक होइन ?
अहिलेलाई लघुवित्तको चुक्तापुँजी वृद्धिको लागि त मर्जर तथा एक्विजिशन खासै आवश्यक देखिएको छैन । किनभने संस्थाहरुले आफ्नो तरिकाले पुँजी वृद्धि गरिरहेका छन् । पुँजी बढाउनै पर्यो भने उपयुक्त समयमा आउला निर्णयहरु । अहिले यसको बारेमा खासै केही पनि छैन ।
मर्जर तथा एक्विजिशनमा पुँजीगत लाभकर र लाभांश कर छुट सेयरधनीहरुले पाइरहेका छन् । खासमा यो व्यक्तिले पाउनु पर्ने हो कि संस्थाले ?
यसमा राम्रो पक्ष भनेको कर छुट रहेको छ । अहिले व्यक्तिले छुट पाइरहेका छन् । उनीहरुलाई प्रोत्साहन गर्न पनि दिनै पर्ने हुन्छ । संस्था चल्ने भनेकै व्यक्तिबाट हो । व्यक्तिले कुनै पनि सुविधा पाएन भने किन मर्जमा जानु सञ्चालक समिति । सञ्चालक समिति भनेको संस्थाको मालिक हुन् । उनीहरु प्रोत्साहित भए भने संस्थालाई राम्रो हुने हो । त्यसैले प्रोत्साहन दुबैलाई हुन्छ । केही मात्रामा कर छुट हुने भएर व्यक्तिलाई तत्काल आकर्षण हुन्छ । संस्थालाई क्यापासिटी बढ्छ, संस्था ठूलो हुन्छ भन्ने छ । साथै, संस्थालाई पनि केही सहजता पनि छ । जस्तै, नाफा बढाएपछि लाभांश वितरण गर्दा पनि केहि मात्रामा छुट हुन्छ ।
तपाईंले विषय उठाइहाल्नु भयो । मर्जर तथा एक्विजिशनमा जान प्रोत्साहन गर्नको लागि संस्थाहरुलाई अझै थप सुविधाहरु दिन जरुरी हुन्छ । हाल सुविधाकाे कारणले संस्थाहरु मर्ज भएका छैनन्, सानो छ चलाउन सकिन्न भन्ने हिसावले मात्रै संस्थाहरु मर्ज भएका छन् ।
तर, यसको लागि पनि केही समयको लागि मात्रै भएपनि संस्था तथा व्यक्तिहरुलाई केही सुविधा दिने व्यवस्था भइदियो भने मर्जर तथा एक्विजिशनको प्रकिया अलि छिटो अगाडि बढ्थ्यो होला ।
पहिलो कोभिडको अवस्थामा बैंक तथा लघुवित्त वित्तीय संस्थाहरुले ऋणीहरुलाई राहात दिए । तर उनीहरुले भने राष्ट्र बैंकबाट केही पनि पाएनन् । अब दोश्रो लहरको कोभिड माहामारीको अवस्थामा बैंकले केही सहुलियत गरिदिए हुन्थ्यो जस्तो केही छ ?
अहिलेलाई त्यस्तो केही छैन । लघुवित्तको केशमा हामीले रिफाइनान्सको सुविधा पाएका छौं । भन्नाले कस्तो भने, संस्थाहरुको हकमा राष्ट्र बैंकले रिफाइनान्सिङ् भनेर सस्तोमा ऋण दिने हुन्थ्यो । जहाँसिधै संस्थाले सिफारिस गरेको ग्राहकलाई ५ प्रतिशतसम्म सस्तोमा ऋण दिने गर्थ्यो ।
लघुवित्तको हकमा भने ग्राहकलाई सिधै भन्दा पनि शतप्रतिशत नै संस्थालाई दिएको छ । हामीले चाहि त्यो ऋण दिएबापत हाम्रो खर्च कति हुन्छ त्यति ग्राहकलाई घटाउने भन्ने सर्त छ । यो पछिल्लो एक वर्षदेखि नयाँ शुरुवात भएको हो । लघुवित्त संस्थाहरुले पनि राष्ट्र बैंकबाट करिब २१ अर्ब रुपैयाँ जति रिफाइनान्सिङ्ग सुविधा पाएको अवस्था छ । तर, अहिले ८/९ अर्ब रुपैयाँ जतिको एप्लिकेशन भएको छ । बाँकी पछि आउँला ।
यसले संस्थालाई पनि सजिलो भएको छ र व्यक्तिलाई पनि सजिलो भएको छ । बैंकको यस्ता खालका सुविधाले लघुवित्त संस्थाहरुलाई सजिलो भएको छ ।
दोश्रो लहरको कोभिड शुरु भएको छ । यसले के कस्तो असर पार्छ भन्ने थाहा छैन । नेपाल सरकारले केही निर्णय गरेको छैन । सरकारले निर्णय नगरेपछि राष्ट्र बैंकले केही गर्ने भन्ने पनि हुँदैन । त्यसैले अहिले पर्ख र हेरको अवस्थामा छौं ।
अब लकडाउनको अवस्था के कसरी जान्छ । त्यहिअनुसार रणनीतिहरु बन्दै जान्छ । हालसम्म त सबै संस्थाहरुको अवस्था राम्रो नै भइरहेको उनीहरुको वित्तीय विवरणले देखाएको छ ।
आगामी बजेटको लागि के कस्ता सुझाव दिनुभएको छ ?
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको लागि हामीले औपचारिक रुपमा सुझाव दिइसकेका त छैनौं । दिने तयारी मै छौं । ग्राहकलाई केही सुविधा दिनु पर्यो । सब्सिडायरिज लोनमा लघुवित्तको ग्राहकहरुको जोडिएका छैनन् । तिनीहरुलाई पनि जोड्नु पर्यो । लघुवित्तमा ऋणीहरुको संख्या ठूलो छ । अहिलेसम्म लघुवित्तका ऋणीहरुले कृषिलगायत अन्य क्षेत्रमा राज्यबाट जे जति अनुदान पाउनु पर्ने हो, त्यो पाएका छैनन् । राज्यले हामीलाई नै नदिएपछि हामीले ऋणीहरुलाई दिने कुरा भएन । यसको लागि हामीले नेपाल सरकारलाई पनि भनेका छौं ।
त्यस्तै, लघुवित्तको लागि छुट्टै स्थायी कोषको व्यवस्था होस् भनेका छौं । अहिले हामीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइरहेका छौं । जसको व्याजदर कहिले घट्ने त कहिले बढ्ने भइरहेको छ । त्योभन्दा पनि संस्थासँग मागिरहनु भन्दा छुट्टै एउटा कोष होस् भन्ने हाम्रो माग हो । सरकारले विदेशीहरुसँग एक २ प्रतिशतमा ठूलो ऋण लिन पाउँछ । २ प्रतिशतमा ल्याएको ऋण ५/६ प्रतिशतमा लगानी गर्यो, हामीलाई दियो भने हामीले पनि त्यसमा केही मार्जिन राखेर दिन्थ्यौं । ग्राहकलाई पनि केही सस्तो पर्थ्यो र हामीलाई पनि दीर्घकालिन स्रोत पनि हुन्थ्यो ।
साथै, अहिले सामाजिक सुरक्षा कोषका विषयहरु पनि छन् । लघुवित्त संस्थाहरु गाउँगाउँमा पुगेका छन् । लघुवित्तहरुले पनि उक्त सेवाहरु दिन सक्ने व्यवस्था मिलाइदिए पनि हुन्थ्यो भन्ने माग हो ।
त्यस्तै, मर्जर र एक्विजिशनको लागि बैंकको केही सर्पोटको अपेक्षा गरेका छौं । आशा गरौं, अबको वर्षमा यी सेवा सुविधा पाउँछौं ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.