२०७८ वैशाख २४ गते १५:१७ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडको उपचारका लागि अक्सिजनभन्दा सिलिण्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बधित निकायलाई आग्रह गरेका छन् । प्रमुख शाक्यले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अक्सिजनको सिलिण्डरको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यतिखेर अस्पतालहरुमा अक्सिजनको होइन, सिलिण्डरको अभाव छ । व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिण्डर संचित गरेर राखेको पाइएको छ । यस्तो महामारीका बेला बिरामीलाई अति आवश्यक पर्ने अक्सिजन आपूर्ति सहजताका लागि व्यक्ति तथा संस्थासँग भएको संचित सिलिण्डर अस्पताल वा सम्बन्धित उद्योगमा बुझाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’
कोभिड संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका कामसँगै उपचार पद्धतिलाई समेत सहज बनाउनु पर्ने बर्तमान अवस्था उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला अस्पतालमा उपचाररत धेरै विरामीलाई प्लाज्मा चाहिएको छ । यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरुले प्लाज्मा दान गरिदिनुहुन बिनम्र अपिल गर्दछु ।’
दोस्रो लहरका रुपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी हो । यसका लागि महानगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरैभन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका बिरामीलाई अस्पताल आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, जोखिमपूर्ण ठाउँलाई निसंक्रमण गराउने लगायतका काम गरिरहेको छ । विज्ञप्तिमार्फत प्रमुख शाक्यले भने, ‘हामी संघीय सरकार, प्रदेश सरकार तथा अन्य नगरपालिकाहरुसँग समन्वय गरेर ठूला अस्पतालहरुमा विरामीको चाप घटाउने प्रयास गरिरहेका छौँ ।’
अस्पतालको क्षमता र संख्या बढाउनु अहिलेको आवश्यकता हो तर यही नै निर्विकल्प समाधान होइन । विज्ञप्तिमा भनिएको छ, जसरी पानीको मुल सफा नगरी नदी सफाइ हुँदैन । त्यसैगरी स्वास्थ्य मापदण्ड पालना नगरी विरामीको संख्या घटाउन सकिँदैन । विरामीको चापले आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा स्वास्थ्य सेवा व्यवस्थापनमा भार सिर्जना हुन्छ । महामारी व्यवस्थापनका कोणबाट यो जटिल अवस्था हो । त्यसैले यसप्रकारको जटिलता आउनु अघि सबैले कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गरौँ । अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कौँ । मास्कको अनिवार्य र सही प्रयोग गरौँ । साबुन पानीले नियमित हात धोऔँ । साबुन पानी नभए सेनिटाइजरको प्रयोग गरौँ । भाइरसको सम्पर्कबाट बच्न अधिक सजगता अपनाऔँ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.