२०७८ जेठ २० गते १६:०० विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खानीखोला हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।
‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (क) मा भएको ब्यवस्था बमोजिम नेप्सेमा विवरण पेश गरेको नपाईएकाले धितोपत्र सूचीकरण, २०७५ को विनियम १६(१) (घ) मा भएको व्यवस्था बमोजिम कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार जेठ २० गतेको निर्णयानुसार रोक्का राखिएको हो’, नेप्सेको सूचनामा उल्लेख छ । यससँगै खानीखोला हाइड्रोले वित्तीय विवरण नेप्सेमा पेश नगरेसम्म दोश्रो बजारमा सेयर कारोबार रोक्का हुने छ ।
यसअघि नेपाल धितोपत्र बोर्डमा खानीखोला हाइड्रोसहित ३ कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै लगानीकर्ताले निवेदन दिएका थिए । लगानीकर्ताले खानीखोला हाइड्रो, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै बोर्डमा निवेदन दिएका थिए ।
त्यसमध्ये नेप्सेले खानीखोला हाइड्रोको सेयर कारोबार रोक्का गरिदिएको हो । तर बाँकी दुईको बारेमा भने नेप्सेले कुनै जानकारी गराएको छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.