२०७८ जेठ २५ गते १५:५० विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पुँजीबजारको विकास र विस्तारको लागि बोर्डले चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा बढ्दै गएको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष ढुङ्गानाले साे बताएका हुन् ।
पछिल्लाे समय धितोपत्रको दोश्रो बजारमा सक्रिय लगानीकर्ताको उल्लेख्य वृद्धि भएको बताउँदै उनले कोरोनाको कारण सरकारले घोषणा गरेको लकडाउनको अवधिमा बोर्डको अग्रसरता तथा समन्वयमा नेप्से, सीडीएससीको कारोबार प्रणालीमा सुधार गरी पूर्ण रुपले अनलाइनमा कारोबार गर्न सक्ने व्यवस्था बनाइएको कारण लगानीकर्तालाई लगानी गर्न सहजता भएको जनाएका छन् ।
साथै, कारोबारको लागत घटाइएको कारणले बजारप्रति सर्वसाधारणको आकर्षण वृद्धि भएको छ । यससँगै, अर्थतन्त्रमा अन्य लगानीको क्षेत्रहरु संकूचन भएको छ । बैंकिङ्ग क्षेत्रमा तरलता प्रर्याप्त रहेकोले पनि दोश्रो बजारका गतिविधिहरु ऐतिहासिक रुपले वृद्धि भएको उनकाे भनाई छ ।
‘लामो समयदेखि स्पष्ट नभएको पुँजीगत लाभकर स्पष्ट भएसँगै बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको हो । बजारको बढ्दो स्वरुपका कारण पछिल्लो समय नेपाल सरकारको राजश्वमा पुँजीबजार भरपर्दो श्रोतको रुपमा रहन थालेको छ । गत वर्षसम्म सरकारलाई पुँजीगत लाभकरका रुपमा मुस्किलले एक अर्ब रुपैयाँसम्म योगदान पुर्याउने पुँजीबजार अहिलेको अवस्थामा एक महिनामै एक अर्ब रुपैयाँभन्दा बढी योगदान गर्न सक्षम भएको छ । त्यसैले, सबै क्षेत्रबाट पुँजीबजारको महत्व बढेको छ ।’, उनले भने ।
हाल दोश्रो बजारको स्थिति पनि उत्साहजनक रहेकाे छ । परिसूचकहरु ऐतिहासिक उचाईंमा पुगेका छन् । नेप्से परिसूचक गत असारमा १३६५ बिन्दुबाट अहिले २९ सय बिन्दुका हाराहारिमा पुगेको छ भने १७ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ । कूल ग्रहास्थ उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्रै रहेकोमा हाल कुल ग्रहास्थ उत्पादन बराबर बजार पुँजीकरण पुगेको छ । यसले धितोपत्र बोर्डको बजार र तरलता पनि बढेको पुष्टि गर्दछ ।
एक वर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या करिब ६ प्रतिशतले वृद्धि हाल ३५ लाख नाघेको छ । मेरो सेयर खाताको संख्या एक वर्ष नपुग्दै तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ ।
धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले ५ लाख लगानीकर्ताले भाग लिने गरेकोमा हाल करिब १८ लाखले आवेदन दिन सक्ने अवस्थाको सिर्जना भएको छ । २०७७ असारमा धितोपत्र दोश्रो बजार अनलाइन कारोबारको लागि करिब ३५ हजारले मात्रै युजर आईडी लिने गरेकोमा हाल उक्त संख्यामा १७ गुणा बढीले वृद्धि भई हाल ६ लाख ६० हजार भन्दा बढीले अनलाइन कारोबार सुविधा लिएका छन् ।
औषतमा ६ लाख लगानीकर्ताहरु कारोबार सक्रिय रहेका छन् र लगानीकर्ताहरु क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् । चालु आर्थिक वर्षको १० महिनामै धितोपत्रको प्राथमिक बजारमार्फत करिब ७८ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन हालसम्मकै उच्च हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.