रामेछाप र ओखलढुंगामा अनुदान सम्झौता अन्तिम चरणमा

  २०७३ असार ९ गते १२:०५     विकासन्युज

काठमाडौं, ९ असार । रामेछाप र ओखलढुंगामा भूकम्पबाट क्षति भएका घरहरु पुनर्निर्माणका लागि घरधनीसँग अनुदान सम्झौता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार रामेछापमा ४३ हजार ६ सय ९ घरधनीले अनुदान पाउने छनौट सूचीमा परेकोमा ३९ हजार ४ सय ५ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।

यस्तै ओखलढुंगामा १९ हजार ८ सय १९ घरधनी अनुदान पाउने छनौट सूचीमा परेकोमा १६ हजार ६ सय २१ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । गोरखा र सिन्धुपाल्चोकमा पनि अनुदान सम्झौता धेरै अघि बढिसकेको छ । गोरखामा ५८ हजार ५ सय ३ घरधनी अनुदान पाउनेको छनौट सूचीमा परेकोमा ३४ हजार ४ सय ५७ घरधनीसँग र सिन्धुपाल्चोकमा ७८ हजार ५ सय ३७ घरधनी अनुदान पाउनेको छनौट सूचीमा परेकोमा ३४ हजार ४ सय ५७ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा २०७३ साल असार ९ गतेसम्म १ लाख ४७ हजार १ सय ८८ घरधनीसँग अनुदान सम्झौता भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख गणेशराज वस्तीले असार मसान्तभित्र ११ जिल्लामा अनुदान सम्झौता सम्पन्न गर्ने गरी काम गरेको जानकारी दिए ।

११ जिल्लामा भएको अनुदान सम्झौता यस प्रकार रहेको छः

क्र.सं.          जिल्ला          अनुदान सम्झौता
१               रामेछाप                  ३९४०५
२             ओखलढुंगा                १६६२१
३               गोरखा                    ३४४५७
४            सिन्धुपाल्चोक             २००७८
५               दोलखा                   ५८८४२
६                धादिङ                     ८६६०
७                 काभ्रे                       ३२९७
८                नुवाकोट                  २८७५
९                 रसुवा                      १५६६
१०               सिन्धुली                    ११००
११             मकवानपुर                  २८७

कूल                                      १४७१८८

भूकम्प अतिप्रभावित उपत्यका बाहिर ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्भेक्षण गरिएकोमा ५ लाख ३३ हजार ४ सय ५४ घरधनीहरु अनुदान पाउनेको छनौट सूचीमा परेका थिए । बाँकी घरधनी मापदण्डभित्र नपरेकाले अनुदान पाउनेको सूचीमा नाम समावेश नगरिएको प्राधिकरणले जनाएको छ ।

अनुदान सम्झौता भइसकेका घरधनी मध्ये ५ हजार ८ सय ४१ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भएको छ । जसमा गोरखामा ४ हजार ४९, दोलखामा १२ सय ३७, ओखलढुंगामा ४ सय ४१, रसुवामा १ सय १२ र सिन्धुपालचोकमा २ जना घरधनीको बैंक खातामा रकम जम्मा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले अनुदान सम्झौतासँगै घरधनीको बैंक खातामा अनुदान रकम पुर्याउने व्यवस्था मिलाउन प्राथमिकताका साथ प्राधिकरण अघि बढेको बताए ।

बैंकमार्फत अनुदान रकम वितरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल तथा नेपाल फाइनान्सियलल इन्स्टिच्युसन एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही अनुसार प्राधिकरण र ५९ वटा बैंकबीच छुट्टाछुट्टै रुपमा सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.