२०७८ असार ३ गते १६:१८ विकासन्युज
काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोड रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ ।
विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा तीन करोड ७३ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट गरेको हो ।
विभागले ११ महिनामा देशभर रहेका विभिन्न एक हजार ६६ व्यावसायिक फार्मको अनुगमन गरिएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईँका अनुसार उक्त अवधिमा विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने ९९० फार्मलाई कारवाही गरिएको छ ।
विभागको उक्त फार्मलाई कारवाहीस्वरुप जरिवाना गरी दुई करोड २८ लाख ८७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । हालसम्ममा विभागले दुई ८२४ वटा व्यापारिक फार्मलाई अनुगमन गरेको जनाएको छ । उक्त अनुगमन गरेकामध्ये ३५ फार्मलाई उपभोक्ता संरक्षण ऐनविपरीत कारोबार गरको भन्दै कारोबार रोक्का गरेको छ ।
शाखा कार्यालयबाट २६९ फार्मलाई कारवाही
विभागअन्तर्गत रहेका शाखा कार्यालयले ११ महिनाको अवधिमा २६९ फार्मलाई कारवाही गर्दै जरिवाना गरेको छ । विभागको तथ्याङ्कअनुसार मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली गरी पाँचवटा शाखा कार्यालयले ११ महिनामा एक हजार ६०९ फार्मको अनुगमन गरेको छ ।
अनुगमन गरिएका फार्ममध्येमा ६१२ फार्म सामान्य अवस्थामा रहेको, ५२९ फार्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको र ४० फार्मलाई आवश्यक कागजातसहित स्पष्टीकरण सोधिएको थियो । यस्तै २६९ फार्मलाई जरिवाना गर्दा ७४ लाख ४६ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ ।
निषेधाज्ञामा ९७ फार्मलाई कारवाही
विभागले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको अवधिमा ९७ फार्मलाई कारवाही गरेको छ ।
बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि उक्त फार्मलाई आर्थिक जरिवाना गरिएको विभागका प्रवक्ता सेढाईँले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा अवधिमा बजार अनुगमनबाट विभागले १३ लाख ९६ हजार रुपैयाँ राजश्वसमेत सङ्कलन गरेको छ । उक्त अवधिमा विभागले २०३ फार्मको अनुगमन गरेको थियो ।
त्समध्येमा एक फार्मको कारोबार रोक्का गरिएको छ भने ३० हजार रुपैयाँ बढीको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट गरिएको छ । विभागले निषेधाज्ञाको अवधिमा खाद्यान्न तथा स्वास्थ्य क्षेत्र केन्द्रित बजार अनुगमन गरेको थियो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.