काठमाडाैं महानगरद्वारा मेलम्ची नगरपालिकालाई २ कराेड सहयाेग

  २०७८ असार ८ गते १२:३७     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपतको बेलामा आफुहरुले थोरै भएपनि सहयोग गरेको बताए ।

धेरै क्षति भएको भएपनि माया र आत्मियताको कुनै मुल्य नहुने भन्दै उनले सिन्धुपाल्चोकको विपतिमा काठमाडौं महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने बताए । पानी पर्ने सिजन अझै आउन बाँकी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप पूर्वाधारको क्षति हुन नदिन ध्यान दिनपनि आग्रह गरे ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सुचना प्रवाह गरेका कारण मानविय क्षति कम भएको उल्लेख गरे । विकास निर्माणको कामको संरचना क्षति हुँदा झनै समस्यामा परेको उनको भनाई छ । हाल अर्बौको क्षति भएको भन्दै अझै नदीले कटान गरिरहेकाले त्यसलाई न्युनिकरणको लागि प्रयास गरिरहेको उनले बताए ।

सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पु¥याएको छ । विभिन्न ठाउँबाट राहत संकलन समेत भइरहेको छ ।