२०७८ असार ८ गते १४:३३ विकासन्युज
काठमाडौं । बिहीबारदेखि सवारी चालक अनुमति पत्रको नवीकरण खुला हुने भएको छ ।
गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकांश जिल्लामा लागु गरिएको निषेधाज्ञाका कारण रोकिएको उक्त सेवा बिहीबारदेखि पुनः सुरु हुन लागेको हो ।
यातायात व्यवस्था कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बिहीबारदेखि कोटा प्रणाली मार्फत तीन सेवा सुचारु हुुने जनाएको हो ।
जसअनुसार सवारी चालक अनुमति पत्र नवीकरणमा र ट्रायल पास गरेर रोकिएका चालकले राजश्व संकलनमा दैनिक एक/एक सय कोटा संख्या तोकिएको छ । यस्तै, सवारी चालक अनुमतिपत्र वितरणमा दुई सय जनाको कोटा तोकिएको छ ।
निषेधाज्ञाका कारण नवीकरणको म्याद सकिएका चालकहरुले नियमानुसार लाग्ने जरिवाना शुल्क बुझाउनु पर्ने भएको छ । सरकारले हालसम्म जरिवाना छुट सम्बन्धि कुनै निर्णय नगरेको भन्दै कार्यालयले शुल्क लिने जनाएको छ ।
यस्तै, नयाँ सवारी चालक अनुमतिपत्रका लागि अनलाइन मार्फत दर्ता भई बायोेमेट्रिकका गर्न वाँकी रहेका सेवाग्राहीहरुलाई यातायात व्यवस्था विभागबाट अर्काे सूचना जारी नहुँदासम्म उक्त कार्य रोकिएको छ ।
यातायात व्यवस्था विभागले निषेधाज्ञा खुकुलो भएतापनि तत्काल सवारी अनुमति पत्र (लाइसेन्स) आवेदन खोल्न नसकिने जनाएको छ ।
विभागमा स्मार्ट लाइसेन्स पर्याप्त नभएको र यसअघि नै अनलाइन मार्फत आवेदन दिएका धेरै रोकिएको भन्दै तत्काल नयाँ आवेदन खुला नहुने जनाइएकाे छ । दशैंभन्दा अगाडी अनलाइन आवेदन नखुल्ने बताइएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.