ताप्लेजुङकाे मेरिङदेन गाउँपालिकाले इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने

  २०७८ असार १० गते ९:०६     विकासन्युज

ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो ।

बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यामिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।

यसैबीच १६ वर्षमुनिका असहाय बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याई विद्यालय भर्ना दर सत प्रतिशत पु¥याउनका लागि विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । सोअन्तर्गत प्रतिव्यक्ति मासिक ५०० का दरले उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

यस्तै अनौपचारिक शिक्षामार्फत गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय भाषा, लिपि तथा संस्कृतिको संरक्षणका लागि स्थानीय मातृ भाषाको पठनपाठनलाई निरन्तरता दिने र स्थानीय भाषा स्वयंसेवक शिक्षकले पाउँदै आएको पारिश्रमिकमा रु तीन हजार थप गरिने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड १६ लाख ४९ हजारको बजेट ल्याएको छ ।