काठमाडौं महानगरपालिकाको बजेट १८ अर्ब ९५ करोड ७७ लाख

  २०७८ असार १० गते १३:२७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख बराबरको बजेट विनियोजन गरेको छ । महानगरले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित उक्त बजेट विनियोजन गरेको हो ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

महानगरले प्रस्तावित बजेटमा कोभिड–१९ रोकथाम र नियन्त्रणलाई प्राथमिकता राख्दै सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

बजेटमा कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य किमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरिएको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिईन ।