क्यानडाको स्थानीय सरकारबाट मित्र काफ्लेलाई ‘सिटिजन्स अवार्ड’

  २०७८ असार १२ गते १५:३८     विकासन्युज

काठमाडाैं । क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन् ।

स्थानीय सरकारबाट हरेक वर्ष प्रदान गरिने यो अवार्ड अन्तरगत यो वर्ष कोभिड-१९ को समयका उत्कृष्ट नागरिकहरु विधा थप गरिएको थियो । काफ्लेले सोही अवार्ड प्राप्त गरेका हुन् ।

सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले उक्त अवार्ड प्रदान गरेका थिए । सिटिजन अवार्ड अन्तरगतको यो विधाको अवार्ड काफ्लेसहित ७ जनाले प्राप्त गरेका छन् । अल्भिन लाउरडेस, अमनप्रित ब्रअर, अमिक सिंह, गिल डन, जेसिका बार र सर्भान्ती राजहले यो अवार्ड प्राप्त गरेका छन् ।

वर्ष नागरिक, कला, खेलकुद, आपतकालिन सेवा, प्रेरणादयी, दीर्घकालिन सेवा लगायतका विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ ।

सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका उत्कृष्ट नागरिकहरुलाई यी अवार्डहरुमार्फत सम्मान गर्दै आएको छ । समुदायका नागरिकहरुले विभिन्न क्षेत्रमा गरेको उपलब्धीको सम्मान स्वरुप यो अवार्ड प्रदान गरिदै आएको हो ।

यो अवार्डको छनौट कमिटिमा विभिन्न विधाका विज्ञहरु, समुदायका सदस्यहरु, निर्वाचित स्थानीय जनप्रतिनिधिहरु, ब्राम्टनको फायर एण्ड इमर्जेन्सी सर्भिस, स्वंसेवक एमबीसी, ब्राम्टन स्पोटर्सस एलायन्स, ब्राम्टन सिनियर काउन्सिल र पिल रिजनल पुलिस रहँदै आएको छ । सिटी अफ ब्राम्प्टन झण्डै ६ लाख जनसंख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो ।