२०७८ असार १३ गते १३:४३ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साता थप हुने भएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा सोमबार रातीदेखि सकिदैँछ ।
निषेधाज्ञा थपको मोडालिटीमा छलफल गर्न आज अपरान्ह ४ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पुनः थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिन छलफल गर्ने तयारी भएको जानकारी दिए ।
उनका अनुसार यसअघि खुला भएका क्षेत्रको समय थप गर्ने तयारी गरिएको छ । हाल वार र समय तोकेर अधिकाशं क्षेत्रका पसलहरूलाई खोल्न दिएको छ ।
सार्वजनिक सवारी सञ्चालन गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक भएका छन् । आजको बैठकले उक्त विषयमा समेत छलफल हुुने जनाईएको छ ।
बैठकअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारीसँग पछिल्लो कोरोना संक्रमणको अवस्था र सुझाव लिएर निषेधाज्ञाको मोडालिटी थप परिवर्तन गर्ने तयारी भइरहेको छ ।
निषेधाज्ञालाई केही खुकुलो बनाउँदै गत सातादेखि सवारीसाधन र ट्याक्सीलाई जोर–विजोर प्रणालीमा सञ्चालनको अुनमति दिईएको थियो ।
ट्याक्सी तथा हवाई सेवा पुनः सञ्चालन भएतापनि सार्वजनिक यातायातलाई सरकारले वेवास्ता गरेको भन्दै यातायात व्यवसायीहरु रुष्ट बनेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.