२०७८ असार १६ गते १५:३२ विकासन्युज
काठमाडौं । साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ । यातायात व्यवस्था विभागले साउनदेखि नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य रुपमा उक्त नम्बर प्लेट जडानको तयारी गरेको हो ।
विभागका महानिर्देशक नमराज घिमिरे नामाकरण भएका प्रदेशमा नयाँ दर्ता भएका र नवीकरण हुने सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने बताउँछन् । उनका अनुसार विभागले गत चैतसम्म सरकारी सवारी साधनलाई अनिवार्य रुपमा इम्बोष्ट नम्बरप्लेट जडानको समय दिइएको थियो ।
विभागले नामाकरण भइसकेका प्रदेशहरु बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको इम्बोस्ड नम्बर प्लेट जडानको तयारी अघि बढाएको हो ।
यातायात व्यवस्था विभागले ०७४ को भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो । एउटै प्लेटको मूल्य २५ सय देखि ३६ सय रुपैयाँसम्म राखेर निश्चित लट तोक्दै अनिवार्य रुपमा प्लेट फेर्नुपर्ने व्यवस्था लागू भएको थियो । तर, प्लेटमा नेपाली भाषाको अंक र अक्षर प्रयोग नभएको तथा गाडी धनीको विवरण सीधै टाइगर डकाटुरको सिंगापुरको सर्भरमा पुगेको विषयमा विवाद सुरु भएको थियो ।
लामो समयको विवादपछि गत भदौँबाट विभागले पहिलो चरणमा बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेको थियो ।
विभागका अनुसार नयाँ प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ट नम्बर प्लेट जडान गरेपछि देशभरका सवारीधनी र सवारीसाधनको अवस्थालाई एकै ठाउँबाट निरीक्षण तथा अनुगमन गर्न सकिने छ ।
२३ प्रकारका नम्बर प्लेटलाई पाँच प्रकारमा सीमित गरिएको छ । सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था गरिएको छ ।
३६ सयसम्म शुल्क
इम्बोस्ट नम्बर प्लेटका लागि ठूला सवारीसाधनलाई तीन हजार छ सय रुपियाँ, चार पाङ्ग्रेको तीन हजार दुई सय, तीन पाङ्ग्रेको दुई हजार नौ सय र मोटरसाइकलको दुई हजार पाँच सय रुपियाँ लाग्ने छ ।
चारपाङ्ग्रे सवारीसाधनमा अगाडि सिसाभित्र फ्राइड एण्टीना स्टीकर राखिने छ । उक्त विवरणको जानकारी लिन काठमाडौँ उपत्यकाको पाँचवटै प्रवेश नाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुनमा एफआरआईडी गेट राखिने छ । सो गेटबाट प्रवेश हुने सम्पूर्ण सवारीसाधनको पूरा जानकारी विभागमा जडित कन्ट्रोल कक्षमा देखिने छ ।
विभागले इम्बोस्ड नम्बर प्लेट छपाइका लागि २०७३ जेठ १६ मा बंगलादेशको टाइगर डेकाटुरसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त कम्पनीलाई सरकारले ५ वर्ष (६० महिना) मा २५ लाख सवारीको इम्बोस्ड नम्बर प्लेट छाप्न दिने उल्लेख छ । प्रति नम्बर प्लेट १५ सय रुपैयाँका दरले कम्पनीलाई भुक्तानी दिने सम्झौता अनुसार ४ अर्ब ९५ करोड रुपैयाँ टाइगर डेकाटुरले पाउँछ ।
नम्बर प्लेट प्राप्त गर्ने प्रक्रिया
इम्बोस्ट नम्बर प्राप्त गर्नका लागि अनलाईनबाट फारम भर्नुपर्छ । यातायात व्यवस्था विभागको वेबसाइटको पेजमा इम्बोस्ट नम्बर प्लेट अनलाईन निवेदन क्लिक गरी फारम भर्नुपर्छ ।
जसमा पहिलो चरणमा सवारीसाधनको नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना पठाएपछि विभागले तुरुन्तै कोर्ड नम्बर मोबाइल म्यासेजमा पठाउन्छ । प्राप्त म्यासेज फारममा पुनः टाइप गरेपछि अर्को फारम खुल्छ जसमा सवारीको सम्पूर्ण विवरण र वैयक्तिक विवरण भर्नुपर्छ ।
त्यसपछि सम्बन्धित यातायात कार्यालयमा गई पैसा बुझाएको भौचर नम्बर फारममा उल्लेख गरी अनलाईनमा पठाएपछि नम्बर प्लेट लिन कहिले र कहाँ जाने भन्ने बारेमा इमेल र मोबाइलमा म्यासेज आउँछ । म्यासेजमा तोकिएको समयमा आफ्नो सवारीसाधन लिएर गएपछि इम्बोस्ट नम्बर प्लेट जडान गरिन्छ ।
अनलाईन फारममा भरिएको विवरण अनुसार इम्बोस्ट नम्बर छापिने छ । छापिएको नम्बर प्लेट विभागले सम्बन्धित कार्यालयमा तोकिएको समयमै पठाउने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.