भारतले राेकेकाे एक वर्षपछि खुल्यो पाम तेलको निकासी, उद्याेगीलाई राहत

  २०७८ असार १७ गते १६:४३     विकासन्युज

काठमाडौं । एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतले नेपालबाट निर्यात हुदैँ आएको पाम तेलको आयातमा खुला गरेसगैँ नेपालबाट निकासी खुला भएको हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरिएको जनाएको छ । शाखाले बुधबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो ।

बुधबारदेखि खुला भएको पाम तेलको आयात आगामी डिसेम्बरसम्मका लागि मात्र रहेको शाखाले जनाएको छ । नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्ध गरेपछि अहिले भट्मासको तेलको निर्यात उच्च रहेको छ ।

नेपालमा पाम आयलको उत्पादन हुँदैन् । विगतको दिनमा नेपालबाट निर्यात हुँदै आएको पाम आयल नेपाली उद्योगीहरूले मलेसिया र इन्डोनेसियाबाट पाम आयात गरी नेपालमा प्रशोधन गरी भारत लगायतका देशमा निकासी गर्दै आएका थिए ।

एक वर्षभन्दा बढी समयदेखि रोकिएको निकासी खुला हुँदा पाम तेल उत्पादन गर्ने उद्योगहरुलाई राहत मिलेको विराटनगरका उद्योगीहरुले बताएका छन् ।

बुधबारदेखि भारतले आयात खुला गरेतापनि नेपालबाट निकासीगर्न भने केही समय लाग्ने जनाईएको छ । देशभर २० वटा पाम तेल निर्यात गर्ने उद्योगहरु रहेका छन् ।