पुँजीगत लाभकर गणना गर्न मेरो सेयरमा थपियो नयाँ सुविधा, आजैदेखि सञ्चालनमा ल्याइने

  २०७८ साउन ३ गते १७:४०     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)ले सञ्चालनमा ल्याएको मेरो सेयर प्रणालीमा धितोपत्रको स्वामित्व (अर्थात सेयर होल्ड गरेको) अवधि गणना गर्ने सुविधा थपिएको छ । आजदेखि पुँजीगत लाभकरमा नयाँ व्यवस्था लागू भएसँगै सिडिएससीले सोको गणनाको गर्नको लागि उक्त सुविधा थप गरेको हो ।

उक्त सुविधा आज(साउन ३ गते) बेलुका ७ बजेदेखि सञ्चालनमा ल्याइने भएको छ । यससँगै, मेरो सेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो सेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न सिडिएसले आग्रह गरेको छ ।

साथै, यो सम्बन्धी थप जानकारी लिन परेमा लगानीकर्ताले सिडिएसको वेवसाइट तथा आफ्नो राफसाफ सदस्यलाई वा सिडिएसमा सम्पर्क गर्न सक्नेछन् ।

सरकारले नयाँ आर्थिक वर्षदेखि पुँजीगत लाभकर न्युनतम ५ प्रतिशत र अधिकतम ७.५० प्रतिशत लागू गर्ने व्यवस्था गरेसँगै आजदेखिको कारोबारमा उक्त व्यवस्था लागू हुने भएको छ । यो व्यवस्थासँगै अल्पकालीन लगानीकर्ता (अर्थात ३६५ दिनसम्म सेयर होल्ड गर्ने) ले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ । र, त्यो भन्दा बढी अवधि होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत नै लाभकार तिर्नुपर्ने छ । यसअघि दुबै किसिमका लगानीकर्तालाई एउटै अर्थात ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्दै आएको थियो ।

‘२०७८ साउन १ गतेदेखि हुने सम्पूर्ण कारोबारहरूमा विक्रीकर्ता बासिन्दा प्राकृतिक व्यक्तिले धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरि सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरि विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएकोले सम्पूर्ण लगानीकर्ताहरूलाई सोही अनुसार गर्नुहुन अनुरोध गरिन्छ,’ सिडिएससीकाे विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.