२०७८ साउन ३ गते १८:११ विकासन्युज
काठमाडाैं । चर्को मिटर ब्याजमा पैसा दिएको आरोपमा प्रहरीले काठमाडौंको चावहिलबाट एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोले आईतबार दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैसेपाटीमा बस्ने ३३ वर्षका गणेश उप्रेतीलाई १९ करोडभन्दा बढीको चेकसहित प्रक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर थिमी बस्ने प्रकाश कार्की र काठमाडौंको कोटेश्वर बस्ने हेमरा गुमाजुलाई व्यक्तिगत कामका लागि उप्रेतीले चर्को मिटर ब्याजमा पैसा दिएको प्रहरीको भनाइ छ । उप्रेतीले पटक–पटक गरी कार्कीबाट चार करोड १६ लाख र गुभाजुबाट चार करोड १४ लाख रुपैयाँ रकमका चेकहरु लिई सो वापतको रकम नदिए ज्यान लिने धम्की दिएको पीडितहरुले जाहेरी दिएका थिए ।
उप्रेतीलाई खोजी गर्ने क्रममा शुक्रबार काठमाडौंको चावहिल मित्रपार्कस्थित दृशान्त अटोमोबाइल्सबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ । उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरेको छ ।
उप्रेतीले अन्य व्यक्तिलाई पनि चर्को मिटर ब्याजमा रकम दिने गरेको बुझिएको प्रहरीले जनाएको छ । उप्रेतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.