राष्ट्र बैंकका अधिकारीलाई १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी सहितको फोन र म्यासेज

  २०७८ साउन ७ गते १०:२८     विकासन्युज

काठमाडौं । आफूलाई ह्याकर बताउने एक समुहले नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकाल सहितका अधिकारीलाई यस्तो म्यासेज पठाइएको हो ।

आफूलाई ह्याकर बताउने समुहले राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको राष्ट्र बैंकका प्रवक्ता समेत रहेका नियमन विभाग प्रमुख ढकालले जानकारी दिए ।

‘मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरुको सिस्टम चेक गर्यौं, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनु पर्ने अवस्था छैन,’ ढकालले विकासन्युजसँग भने ।

यसरी म्यासेज पठाउने को हो र किन पठायो भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए । तर, कसले पठाएको हो भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले आफूलाई ह्याकरको फोन आएको बताए ।

‘मेरो मोबाइलमा शंकास्पद फोन आएको थियो, फोन गर्नेको नम्बर देखिएको थिएन, रेड अलर्ट सहितको फोन भएकोले मैले उठाइनँ,’ पोखरेलले भने ।

कसैले धम्क्याउने प्रयोजनको लागि यस्तो हर्कत गरेको पनि हुन सक्ने राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।

‘म्यासेज पाउने वित्तिकै हामीले राष्ट्र बैंकदेखि बैंक तथा वित्तीय संस्थाहरुको सिस्टम चेक गरिसकेका छौं, हाम्रो सिस्टम सुरक्षित देखिएको छ, धम्क्याउने प्रयोजनको लागि पनि यस्तो गरिएको हुन्छ, हामीले यसको अध्ययन थालिसकेका छौं, यो कार्य कानुनी रुपमा दण्डनीय भएकोले जसले यस्तो गरेको हो, त्योमाथि कारबाही हुन्छ,’ प्रवक्ता ढकालले भने ।

ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरिएको छ ।

आफूले पठाएको सन्देशलाई हलुका रुपमा नलिन ह्याकरले चेतावनी दिएको छ ।