सरकारले मौलिक तथा कलात्मक फिल्म निर्माण गर्ने

  २०७८ साउन १२ गते १३:३७     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा दश नयाँ पिल्म निर्माण गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै मौलिक तथा कलात्मक फिल्म निर्माण गर्ने जनाएको हो ।

बोर्डले सह लगानीमा १० फिल्म निर्माण गर्ने भन्दै मंगलबार सूचना प्रकाशन गरी ६० दिनभित्र इच्छुक व्यक्तिलाई सहभागीता जनाउन समेत आग्रह गरेको छ ।

स्वदेशी चलचित्रकोे विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ठ कथा, पटकथा (स्कृष्ट) छनोट गरी सहनिर्माण गर्ने जनाएको छ । जसमा पाँच फिचर र पाँच छोटो फिल्म रहनेछ ।

मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले चलचित्र विकास बोर्डले गत वर्ष स्टोरी बैंक समेत स्थापना गरेको थियो ।
यसअघि तीन फिचर र तीन छोटो फिल्ममा सह–लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्या बढाएर १० बनाएको हो ।

कस्तो फिल्ममा कति लगानी गर्ने भन्ने बिषयमा भने बोर्डले केही जानकारी दिएको छैन ।