निर्माण व्यवसायीका अध्यक्ष सिंहसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

  २०७८ साउन १३ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष एवंम महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक रवि सिंहसहित ५ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंह सहित ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्धा दर्ता गरेको हो । सो राजमार्गको खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गलत भएको पाइएको आयोगले जनाएको छ ।

ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्नेभन्दा फरक व्योहोरोको विवरण पेश गरिएको उल्लेख गर्दै आयोगले इष्टिमेटविपरीत काम गराएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपसहित आयोगले मंगलबार मुद्दा दायर गरेको हो ।

आयोगले रवि सिंह, पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईं, आयोजनाका तत्कालीन इञ्जिनीयर दीपककुमार खड्का, तत्कालीन सवइञ्जिनीयर गजेन्द्रप्रसाद राउत र तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँलविरुद्ध समान बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।