२०७८ साउन १५ गते १७:३५ विकासन्युज
काठमाडौं । ईलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले कोभिड-१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई ३५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । गाउँपालिकाले संक्रमणबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको हो ।
गाउँपालिकाले विपत् व्यवस्थापन कोष सञ्चालन समितिको बैठक अनुसार गाउँपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई गाउँपालिकाले प्रतिमृतक राहत स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताइएको छ ।
विपत् व्यवस्थापन कोष सञ्चालन समितिका निर्णय अनुसार गाउँपाकिकाले घरैमा पुगेर राहत उपलब्ध गराइएको छ । समस्यामा परेको परिवारलाई तत्काल आधारभूत आवश्यकता पुरा गर्न सहयोग मिलोस् भनेर राहत वितरण गरेको गाउँपालिकाले बताएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाएका वडा नं. ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, वडा नं. ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्ष्मीमाया लावती तथा वडा नं. ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । गाउँपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेका छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.