आजदेखि भेरोसेलको दोस्रो डोज दिईने, देशभर खोप अभियान सुरु

  २०७८ साउन २२ गते ८:५८     विकासन्युज

काठमाडौं । सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने भएको छ । यसअघि चिनियाँ खोपको पहिलो मात्रा लगाएको २१ दिन पुरा भएका नागरिकले दोस्रो डोज पाउने भएका हुन ।

दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्नेछन ।

दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंले यसअघि नै जनाइसकेको छ । कार्यालयका अनुसार असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाएका नागरिक १ लाख ६५ हजार छन् ।

असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।