२०७३ असार २३ गते १२:४९ विकासन्युज
काठमाडौं, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका तुलनामा आज निकै सुधार हुँदै गएकाले भेन्टिलेटर झिकिएको हो । अहिले उनको रक्तचाप १२०/८०, मुटुको धड्कन ९०/८० र युरिन पास ६० एमएल प्रतिघन्टा भएको अस्पतालका एमडी हरिकिशोर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा आइसकेका र उनले कुराकानी पनि गरेका अस्पतालले जनाएको छ । एमडी श्रेष्ठले भने – “अहिले उहाँ पूर्ण रुपमा होसमा आइसक्नुभएको छ । हामीले औषधिको मात्रा पनि घटाएका छौँ । उहाँको स्वास्थ्य अवस्था हिजोको भन्दा बिहान र बिहानको भन्दा अहिले धेरै राम्रो भएको छ ।”
यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गर्दै नेता कोइराला पुनः स्वस्थ जीवनशैलीका साथ पार्टी जीवनमा फर्कने विश्वासका साथ स्वास्थ्यलाभको कामना गरेको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.