२०७८ साउन ३१ गते १७:३२ विकासन्युज
बौदीकाली गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत नवलपरासी जिल्लामा अवस्थित गाउँपालिका हो । यो गाउँपालिका भौगोलिक रूपमा दुर्गम भएपनि प्राकृतिक स्रोतसाधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यो गाउँपालिकाको पूर्वतर्फ बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका, पश्चिममा पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ ।
मुलुक संघीय संरचनामा गएसँगै जनताको नजिक रहने सघीय व्यवस्थाको मर्म अनुरूपका प्रदेश र स्थानीय तह छन् । अझ जनताको सुखःदुखसँग प्रत्यक्ष सम्बोधन गर्ने स्थानीय तहका ७ सय ५३ सरकार गठन भई करिब ४ वर्षदेखि सक्रिय छन् । यसैक्रममा, निर्वाचित जनप्रतिनिधीहरुवाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी ।
गाउँपालिकाको अध्यक्ष भएर आएपछि के–कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ?
पालिकामा पहिलाको तुलनामा हाल धेरै परिवर्तन आएको छ । हाम्रो पालिका भौगोलिक रूपमा विकट र दुर्गम छ । हामी निर्वाचित भएर आएपछि पालिकामा धेरै विकास निर्माणको काम गरे जस्तो लाग्छ । विकास निर्माणको काम गरेर सकिँदो पनि रहेनछ । पालिकाको स्रोत र साधनले भ्याए जति विकास निर्माणको काम गरेका नै छौं । कृषिको विकास र सडक सबै वडामा पुर्याउने मेरो लक्ष्य थियो । त्यही अनुरूप काम पनि भएको छ तर, हिउँद भरी सडकको निर्माण गर्यो बर्खामा सबै भत्किन्छ । हाल पालिकामा पहिरोका कारण धेरै सडकहरू क्षतविक्षत भएका छन् । प्रदेश र केन्द्र सरकारले पनि भौगोलिक अवस्था हेरेर बजेट विनियोजन गर्नु पर्छ भन्ने मेरो भनाई हो । सडक सञ्जाल त प्रत्येक वडामा पुर्याएका छौं अहिले बाढिपहिरोका कारण कुनै पनि सडक सञ्चालन हुने अवस्था छैन । हामीले कार्यपालिकाको बैठक बसेर दशैंसम्म सबै सडकको मर्मत गर्ने भनेका छौं ।
हामीले भौतिक पूर्वाधार, सामाजिक विकास आदि सबै कामलाई सन्तुलित रूपमा लिएर अगाडि बढेका छौं । मानव विकास गर्ने, दक्ष जनशक्ति निर्माण गरी रोजगारी सिर्जना गर्ने र जीवनको गुणस्तर बढाउने भौतिक तथा मानवीय विकासका पूर्वाधारहरूका काम गरेका छौं ।
पालिकाले स्वास्थ्य र शैक्षिक क्षेत्रमा हालसम्म गरेका उपलब्धिबारे संक्षेपमा बताइदिनुस् न
पालिकामा शैक्षिक र स्वास्थ्य क्षेत्रतर्फ पनि धेरै कामहरू भएको छ । शिक्षाको क्षेत्रमा हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड दिएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । कोभिडको कारण शैक्षिक क्षेत्र पनि प्रभावित बन्दै गएको छ । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ भन्ने तर्फ जोड दिएका छौं । पालिकाका विद्यार्थीहरूको भविष्य सुनिश्चित छ भने शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं ।
स्वास्थ्य क्षेत्र तर्फ कुरा गर्दा पालिकाकामा हामीले १५ बेडको अस्पताल शिलान्यास पनि गरेका छौं । यस अस्पताललाई निर्माणको प्रत्रिया अगाडि बढाएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका अगाडि बढेका छौं । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामीले विशेष जोड दिइरहेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं ।
कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?
कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा नै छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । पालिकाका कुनै पनि सेवा प्रवाहमा समस्या रहेको छैन । जनताको सेवाको लागि तत्पर रहनको लागि कर्मचारीहरूलाई आग्रह गरेको छु भने कर्मचारी पनि जनताको सेवाको लागि तत्पर हुनुहुन्छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हुन्छ । अहिलेसम्म जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो नै छ ।
अनि नागरिकहरूबाट चाहिँ कस्ता खाले प्रतिकृयाहरु पाइरहनुभएको छ त ?
जनप्रतिनिधिहरुले जति काम गरेपनि जस नपाउने रहेछ । विकास निर्माणको काममा र कतिपय कुरामा नागरिकको असन्तुष्ट छन् । जनताले हामीबाट धेरै कुराको अपेक्षा राखेका छन् । भौतिक पूर्वाधारसम्बन्धी पनि धेरै चाहना छन् । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । सामाजिक र समावेशी ढङ्गबाट आउने मागहरूलाई हामीले प्राथमिकतामा राख्ने गरेका छांै । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर धेरै भन्दा धेरै मागलाई संबोधन गर्ने प्रयास गरिनै रहेका छौं । पालिकाले राम्रो काम गर्यो भने नागरिकबाट पनि राम्रै प्रतिकृया पाउने गरेका छौं ।
अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा कस्तो काम गरेको छ बताईदिनुहोस् न
हाम्रो पालिकाको समृद्धि अत्यन्त महत्वपूर्ण आधार कृषि क्षेत्रलाई लिन सकिन्छ । कृषिमा अनेक समस्या र चुनौती रहेको सन्दर्भमा ती चुनौतीको समाधान गरी कृषिको व्यवसायिकरण, सहकारीकरण र दिगो कृषि विकासको योजना बनाई पालिकाले कृषि विकासको रणनीति र कृषि क्रान्तिको कार्यक्रम अगाडि बढाएकाछौं । पालिकामा एभोकाडो खेतीको सुरुवात पनि हुन थालेको छ । पालिकामा फलफूलमध्येको सबैभन्दा धेरै सुन्तला खेती हुने गरेको छ । पहाडी पर्यावरण र भौगोलिक—वातावरणीय विविधताका कारण हामीलाई तुलनात्मक लाभका कृषि उत्पादन गर्न सक्ने वातावरण छ ।
किसानहरूले नै गोलभेँडा, च्याउ, तरकारी वा अन्य खेती लगाउँदै आएका छन् । किसानले यदि कृषिबाट आम्दानी, रोजगारी र समृद्धि चाहन्छन् भने उनीहरू व्यवसायिक रूपमा खेती गर्नुपर्छ आवश्यक छ । कृषिको व्यवसायिकरण, यान्त्रीकरण र औद्योगीकरणतर्फ काम गर्न अझै बाँकी नै छ । पालिकामा अदुवा खेती धेरै हुने गरेको छ । कृषिलाई दिगो, प्राङगारिक, किसानमैत्री बनाउने र परनिर्भरता हटाउनेतर्फ हामी लागेका छौं । पालिकामा कृषिका विभिन्न कार्यत्रलमहरु पनि सञ्चालन हुदै आएको छ । यहाँको आवश्यकता र हावापानी अनुसार कृषि विकासको कामहरू भएका छन् भने कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं ।
अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नु भएको छ ?
अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । यस वर्ष म लगायत गाउँपालिकाले देश र जनताको सेवामा निस्स्वार्थ भावले सकारात्मक सोचका साथ कार्यसम्पादन गर्ने लक्ष्य लिएका छौं । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दीर्घकालीन योजनाहरूको सुरुवात गरेका छौं भने कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । सडक निर्माण भए पछि सबै कुराको विकास हुने रहेछ त्यसैले बाढिपहिरोले क्षतविक्षत गरेका सडकको मर्मत गर्ने पनि योजना छ ।
कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ?
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट हाम्रो गाउँपालिकामा पनि अछुतो रहन सकेन । कोरोना महामारीको सुरुवातसँगै क्वारेन्टिन र आइसोलेसन बनाउने कामलाई विशेष प्राथमिकता र जनचेतना जगाउने काम समेत गरेका छौं । यस महामीरको रोकथाम र नियन्त्रणको लागि जनप्रतिनिधिहरू, स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीहरू निकै महत्वर्पुण भूमिका छ ।
बाहिरी जिल्ला वा विदेशबाट पालिकामा प्रवेश गर्नेहरूलाई परीक्षण देखि क्वारेन्टिन व्यवस्थापन गर्नमा पनि पालिकाले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । कोरोनाको संक्रमण बढ्दै जदाँ हामीले होम आइसोलेसनलाई प्राथमिकता दिएका थियौं । पालिकामा एम्बुलेन्स तयारी अवस्थामा राखी सिकिस्त बिरामीहरूलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएका छौं ।अप्ठ्यारो भएको अवस्थामा त्यही एम्बुलेन्समार्फत अस्पताल पुर्याउने व्यवस्था गरिन्छ । लक्षण देखिएका तथा शङ्कास्पद सबैको परीक्षण निःशुल्क गर्दै आएका छौं । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं ।
अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?
गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । सडक निर्माणको कुरामा पनि हामीले जोड दिइरहेका छौं । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिकको पनि ठुलो भूमिका रहेको छ । अनि, यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.