पालिकाका घरलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेका छौं – अध्यक्ष पाइजा

  २०७८ साउन ३२ गते १८:०९     विकासन्युज

मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएको छ । संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । गण्डकी प्रदेश अन्तर्गतको बागलुङ जिल्लामा अवस्थित वडिगाड गाउँपालिका हरेक नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा लागेको छ । जसअनुसार स्थानीय तहहरू आफ्ना एकल अधिकारहरूको कार्यान्वयन गर्न आफैं कानुन बनाई स्थानीय साशन आफैं सञ्चालन गर्ने वातावरण निर्माण भएको छ ।

यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । यसैक्रममा, निर्वाचित जनप्रतिनिधीहरुवाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीता र रोजगारी प्रवर्द्धनमा पालिकाको नीति, पूर्वाधार विकासका लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय सरकार बनेपछि वडिगाड गाउँपालिकामा पूर्वाधारको क्षेत्रमा के–के काम भए ?

पालिकामा हामीले पूर्वाधारको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं । पालिकामा १० ओटा वडा छन् । ती प्रत्येक वडामा सडकको ट्र्याक खुलाएर सडकको पहुँच पुर्याएका छौं । अझै यी सडकलाई व्यवस्थित बनाउनका लागि धेरै काम गर्नुपर्ने छ । पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजना निर्माणले तीव्रता पाएको छ । कतिपय योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य क्षेत्रको कुरा गर्दा पालिकामा हामीले प्रत्येक वडामा स्वास्थ्य इकाईको स्थापना गरेका छौं । स्वास्थ्य भवन निर्माणको काम पनि अगाडि बढाएका छौं । वडा नं. ७ र ८ मा स्वास्थ्य भवन बनाउनको लागि केन्द्र सरकारसँग बजेटको माग गरेका छौं । वडा नं. ३ र ९ को स्वास्थ्य भवन निर्माण टेन्डर प्रक्रियाबाट अगाडि बढाएका छौं । यी २ ओटा वडामा १ करोड ३५ लाख रुपैयाँ बराबरको बजेटमा भवन निर्माणको काम अगाडि बढाएका हौं । अन्य वडामा पनि स्वास्थ्य भवन निर्माणको काम अघि बढेको छ ।

१० ओटै वडा कार्यालय भवन निर्माणको काम गत वर्षदेखि सुचारु छ । केही वडा कार्यालयको भवन बन्दैछन् भने केही चाहिँ अन्तिम चरणमा पुगेका छन् । ६ करोड रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ भने भवन निर्माणको काम अन्तिम चरणमा पनि पुगेको छ । पर्यटन क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । ‘एक पालिका एक खेल मैदान’ को अवधारणा अन्तर्गत हामीले जलजलामा खेल मैदान पनि निर्माण गरेका छौं । पालिकामा १ सय ५० जना अट्ने कभर्ड हलको पनि स्थापना गरेका छौं । पालिकामा ‘एक घर एक धारा’ को अभियान सञ्चालन गर्दै प्रत्येक घरमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं ।

अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हलसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न

गाउँपालिकाकाले विशेष प्राथमिकताको साथ कृषि र पशुपालनको कार्यक्रमहरू अगाडि बढाएको छ ।कृषिको आधुनिकीकरण, विविधीकरण र व्यपारिकरणको कुरा पनि हामीले जोड दिएका छौं । कृषि क्षेत्रको रूपान्तरण गर्न गाउँपालिका लागेको छ । पालिकाले ‘एक घर १० बोट’ को कार्यक्रम पनि सञ्चालन गरेको छ । पशुपालन र कृषि फार्महरूलाई अनुदान दिने र कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि रहेको छ । कृषिमा युवालाई परिचालन गर्ने र सरकारले दिने सेवा सुविधा पनि उनीहरूले स्थानीय तहबाटै पाउन भनेर काम गरिरहेका छौं । पालिकामा खेतीतर्फ धेरैको आकर्षण बढ्दै गएको छ भने कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं ।

कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका हौं । गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीयस्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समूहको गठनपनि भएको छ । कृषक र पालिकाको साझेदारीमा हामीले अनुदानमा बिउ बिजन पनि वितरण गर्दै आएका छौं ।मलाई के लाग्छ भने व्यक्ति समाज वा देश समृद्ध बन्ने हो भने व्यपार नै हो र नेपालमा व्यापार बढाउने सबैभन्दा मुख्य र सम्भाव्य क्षेत्र भनेको कृषि नै हो । त्यसैले हामीले कृषि क्षेत्रमा पनि राम्रो नै काम गरेको अवस्था छ ।

कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ?

मुलुक कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा हाम्रो पालिका पनि यस महामारीबाट अछुतो रहन सेकेन । कोभिड–१९ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि हाम्रो गाउँपालिकामा उच्च सतर्कताका साथ सावधानी अपनाइरहेका छौैं । कोरोना महामारीको सुरुवातसँगै क्वारेन्टिन र आइसोलेसन बनाउने कामलाई विशेष प्राथमिकता र जनचेतना जगाउने काम समेत गरेका छौं । यस महामीरको रोकथाम र नियन्त्रणको लागि जनप्रतिनिधिहरू, स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीहरू निकै महत्वर्पुण भूमिका छ । कोभिडबाट पालिकाका धेरै नागरिकहरूसंक्रमित भएका छन् । कोरोना संक्रमणको कारण पालिकामा हालसम्म १८ जनाको मृत्यु भएको छ । पालिकामा हामीले १२ बेडको आइसोलेसन पनि स्थापना गरेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

लगानीको हिसाबले शैक्षिक क्षेत्रमा नै धेरै बजेट छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । भौगोलिक बिकटता र दुर्गम भएको कारण हामीले शैक्षिक क्षेत्रमा सोचेको जस्तो काम गर्न सकेका छैनौं । विद्यालयमा विद्यार्थी संख्या १०, २० र ५० जना हुने गरेको छ । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं ।

गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । तर, शिक्षा क्षेत्रमा सोचे जस्तो नतिजा चाहिँ मिल्न सकेको छैन । सरकारी विद्यालयमा गुणस्तर शिक्षा नभएको भन्दै बसाइसराई गरेर पनि धेरै मानिसहरू गएका छन् । निजी विद्यालयमा विद्यार्थीको चाप बढि हुने र सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुने गरेको छ । सामुदाई विद्यालयका शिक्षकले पनि राम्रो काम गर्न नसकेर होल पालिकको शिक्षा क्षेत्रमा राम्रो प्रगति हुन नसकेको । पालिकाले शिक्षा क्षेत्रलाई गुणस्तर बनाउनु पर्छ भनेर हामी अगाडि बढेका छौं ।

कार्यकालको अन्तिम बजेट पनि ल्याइसक्नुभएको छ, यसपटक बजेटमा तपाईंहरुको प्राथमिकतामा के छ र के कस्ता नयाँ कार्यक्रमहरू समेट्नुभएको छ ?

बजेटको प्राथमिकतामा कृषि विकास हो । पूर्वाधारको विकासमा हामीले ध्यान दिएका छौं । सडक कालोपत्रे गर्ने, शिक्षा, स्वास्थ्यमा जोड दिने हाम्रो योजना छ । १० वटै वडाको भवन निर्माण गर्ने योजना छ । यी वडाको भवन निर्माणको लागि निःशुल्क जग्गा प्राप्त भएको छ । गाउँपालिकाको भवन निर्माणको लागि १० रोपनी निःशुल्क जग्गा प्राप्त गरेका छौं । स्वास्थ्यचौकी बनाएर स्वास्थ्यको प्रत्याभूति दिलाउँदैछौं। प्रदेश र संघबाट आउने अनुदानलाई विभिन्न क्षेत्रमा विनियोजन गरेर हामीले अघि बढेका छौं । सडक निर्माणको कामलाई पनि अगाडि सारेका छौं ।

नयाँ कार्यक्रम अन्तर्गत पालिकाका घरलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेका छौं । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान सुरु भएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र टिकाउ पनि नहुने हुँदा जस्तापाताको छानो सुरक्षित हुने देखिएको छ । एक वर्ष भित्र खरको छाना मुक्त पालिका बनाउने अभियानमा २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।सबै भन्दा धेरै लालीगुराँस हाम्रो पालिकामा पाईन्छ । लालीगुराँसको संरक्षण गरी पर्यटनको विकास गर्ने पनि हाम्रो लक्ष्य छ । आधुनिक र व्यावसायिक कृषि, पर्यटन विकास, भौतिक पूर्वाधार विकास, रोजगारका अवसरहरूको सिर्जना र स्वास्थ्य क्षेत्रको विकासमा जोडदिने बजेट प्रस्तुत गरेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नु भएको छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । कृषि र पशुपालन क्षेत्रको विकास गर्ने हो । फलामको खानीको संरक्षण गरी उत्खनन गर्न सकियो भने पनि राम्रो हुन्छ । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ ।जसमध्ये हाम्रो गाउँपालिकाले खानेपानी, स्थानीय रोजगारीलाई प्राथमिकता, सडक मर्मत, उपभोक्ता सचेतना लगायत थुप्रै कामहरू गर्ने योजना छ ।शिक्षाको गुणस्तरलाई माथि उकास्ने पनि योजना छ । विकास निर्माणको कामलाई तीव्रता दिई बसाईंसरईं रोक्ने पनि योजना छ । विद्युतिय क्षेत्रको कामलाई पनि प्राथमिकता दिने हो ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । सडक निर्माणको कुरामा पनि हामीले जोड दिइरहेका छौं । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिकको पनि ठुलो भूमिका रहेको छ । परम्परागत प्रविधिको अन्त्य गर्दै आधुनिक प्रविधिको विकास गर्नुपर्छ भन्न चान्छु । अनि, यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.