मार्जिन लेण्डिङको सीमाले ठूला लगानीकर्तालाई अवरोध गर्छः अध्यक्ष अग्रवालसँगको कुराकानी

  २०७८ भदौ ३ गते १२:५४     विकासन्युज

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हुन् विष्णुप्रसाद अग्रवाल । यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका उनले सो संस्थामा लामो समयसम्म विभिन्न पदमा रहेर काम गरिसकेका छन् । २१ वर्षकै उमेरदेखि नै व्यापार व्यवसायमा सक्रिय अग्रवाल हाल एमएडब्लू इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी, एमएडब्लु रेडि मिक्स कंक्रिट, एमएडब्लु इन्जिनियरिङ, भीआर होल्डिङ लगायत कम्पनीका अध्यक्ष पनि हुन् । कोरोना भाइरसको समयमै परिसंघको अध्यक्ष सम्हालेका अग्रवालसँग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल स्वेदेशी अभियान’, राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा गरेका व्यवस्था र परिसंघका आगामी योजना लगायतका विषयमा कुराकानी गरेका छौं ।


नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल स्वदेशी अभियान’को सुरुवात गरेको छ, के हो मेक इन नेपाल स्वदेशी अभियान ? यसको मुख्य लक्ष्य के हो ?

नेपालमा औद्योगिक वातावरण सिर्जना गर्नको लागि सुरु गरिएको यो एउटा अभियान हो । यो अभियानले उत्पादनमुखी अर्थतन्त्रको स्ट्रेन्थ बढाउँछ । यसले पुँजीसँगै रोजगारी सिर्जना गर्न महत्वपूर्ण काम गर्छ । देशको अर्थतन्त्रको लागि र कुनै प्रडक्ट प्रवद्र्धनका लागि यो अभियान अति आवश्यक छ भन्ने बझाईका साथ हामीले यसको सुरुवात गरेका छौं । देशमा औद्योगिक वातावरण सिर्जना गर्न, वस्तुको प्रवद्र्धन तथा प्रमोशन गर्न र सर्भिस क्षेत्रलाई डिजिटलाइजेशन गर्ने विषयमा यो अभियानले महत्वपूर्ण भूमीका खेल्छ भन्ने हाम्रो पूर्ण विश्वास छ ।

उत्पादनमुखी अर्थतन्त्रको विस्तार र उत्पादित वस्तुको बजारिकरणका लागि स्वेदेशमै र विदेशमा पनि कसरी बजार स्थापित गर्न सकिन्छ ? त्यसमा हामी लाग्छौं । वस्तुको मूल्य र त्यसको गुणस्तरीयतामा पनि विश्वासको वातावरण सिर्जना गर्नको लागि नै ‘मेक इन नेपाल स्वदेशी अभियान’ सुरु गरेका हौं ।

यो अभियानले बेरोजगार रहेका युवाले रोजगारी पाउने र उद्योग खोल्न चाहनेहरुले उद्योग सञ्चालन गर्न सक्ने वातावरणको सिर्जना कसरी गर्छ ?

हामीले एउटा अध्ययन गरेका छौं । पूर्वाधार विकास गरी पर्यटनलाई कसरी अगाडि बढाउने ? सर्भिस क्षेत्रलाई कसरी विस्तार गर्ने ? प्रविधिको विकासलाई कसरी अघि बढाउने ? औद्योगिक वातावरण कसरी सिर्जना गर्ने र युवाहरुलाई कसरी रोजगारी दिने भन्ने लगायतका विषयमा हामीले अध्ययन गरेका छौं । सो अध्ययन अनुसार हरेक वर्ष १ हजारवटा उद्योग स्थापना गर्ने र डेढ लाख रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ ।

यस्तै, आजका दिनमा हाम्रो निर्यात एक खर्बको छ । यसलाई बढाएर ४ खर्ब रुपैयाँ पुर्याउने हाम्रो लक्ष्य छ । हामीले स्मार्ट लक्ष्यहरु राखेर अगाडि बढिरहेका छौं ।

सरकारले गर्नु पर्ने काम तपाईंहरुले गर्दै हुनुहुन्छ, सिएनआईको यो अभियानमा सरकारको साथ कस्तो छ ?

सरकारले हामीलाई सहयोग र समर्थन पनि गरेको छ । सरकारले हामीसँग सम्झौता पनि गरेको छ । सरकारले पनि हामीले गर्नु पर्ने काम तपाईंहरुले गर्नु भयो भनेर खुसी व्यक्त गरिसकेको छ । हामीले ७ वटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छौं । ती ७ वटा पिलरहरुमा रहेर हामीले हाम्रो उद्धेश्य र योजनाहरु लिएका छौं ।

सीएनआईले यो अभियान मार्फत पोलीसी बनाउन वकालत मात्रै गर्ने हो कि उत्पादनको प्रमोसन तथा क्षमता वृद्धि गर्न पनि भूमीका खेल्छ ?

यसमा दुईटा विषय छन् । एउटा भनेको औद्योगिक वातावरण बनाउने । यो हाम्रो मुख्य प्राथमिकता हो । दोस्रो, नेपालमा उत्पादन भइरहेका अर्थात वस्तु तथा उत्पादन र ती वस्तु उत्पादन गरिरहेका उत्पादकहरुको लागि राम्रो वातवरण सिर्जना गर्ने हो । र, ती वस्तुहरुमा उपभोक्ताहरुको विश्वास पैदा गर्ने काम यो अभियानले गर्छ । हामीले स्वदेशी उत्पादन सम्बन्धी लोगो लिएर आएका छौं ।

स्वदेशी लोगो दर्ता र सरकारसँग सम्झौता पनि गरेका छौं । धेरै उद्योगीहरुले सम्झौता गरेर आफ्नो उत्पादनमा लगाइसकेका छन् । केही प्रक्रियामा छन् । हामीले पनि किताब नै निकालेर यसलाई सफल बनाउन प्रभावकारी रुपमा लागिरहेका छौं । गुणस्तर नभएका वस्तुहरुमा पनि मापदण्ड बनाएर काम गर्छौं ।

हाम्रा नीतिहरु विशेष गरेर बिजनसेमै केन्द्रित हुन्छन्, तर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने किसिमबाट हामी न नीति बनाउँछौ नत सरकालाई सुझाव नै दिन्छौं, यो अभियानले यस विषयको सम्बोधन गर्छ ?

हामीले ‘मेक इन नेपाल स्वदेशी अभियान’ मार्फत कुन–कुन विषयमा एडभोकेसी गर्नु पर्ने र नेपाललाई औद्योगिक वातावरण गराउनको लागि हाम्रो भिजन क्लियर छ । सरकारसँग मिलेर वर्कसपको आयोजना गरेर औद्योगिक माहोल सिर्जना बनाउनु पर्छ । विभिन्न विषयहरुलाई लिएर कुन नीतिले देशलाई कस्तो किसिमको फाइदा हुन सक्छ भन्ने विषय हामीले बुझ्नु पर्छ ।

व्यवसायिक वातावरण कसरी बढाउन सकिन्छ ? आयतलाई कसरी प्रतिस्थापन गर्न सकिन्छ ? कुन वस्तुलाई बढी फोकस गर्ने भन्ने विषयलाई हामीहरुले वर्कसप गर्छौं । पेपरहरु प्रस्तुत गर्छौं । यो सबै एकै पटक हुने विषय होइन ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मार्जिन लेण्डिङमा सीमा तोकेको छ । यसप्रति तपाईंको धारण के हो ?

यो व्यवस्थाले ठूलो लगानीकर्तालाई अवरोध सिर्जना गरेको छ । अहिले लगानीकर्ताहरुको बुझाई र दृष्टिकोणमा पनि परिवर्तन हुँदै गएको छ । जस्तै, मैले सेयरधितो राखेर कर्जा लिएँ भने त्यो पैसाले सेयरमै लगानी गर्न आवश्यक छैन । मैले त्यो पैसा उद्योगमा पनि लगाउन सक्छु । त्यसैले मौद्रिक नीतिको त्यो व्यवस्थाले उद्योगमा लगानी गर्न चाहने ठूला लगानीकर्ताको भावना विपरित छ । त्यो भावना खुम्च्याइएको छ । पहिले प्रोफिट मात्रै हेर्थे भने अहिले त्यसको भ्यालुएसन पनि बढ्नु पर्छ भन्ने तर्फ लागिरहेका छन् ।

मौद्रिक नीतिले १ करोड रुपैयाँसम्मका उद्यम व्यवसायको कर्जामा अधिकतम २ प्रतिशत प्रिमियममा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ, यसको असर ठूला ऋणीको व्याजदर बढ्छ भन्ने विश्लेषण गर्न थालिएको छ, त्यस्तो हो ?

साना ऋणीहरुको कन्भिन्स गर्ने क्षमता कम हुन्छ । त्यसैले पनि उनीहरुको कर्जाको व्याजदर पनि उच्च हुन जान्छ । तर, कोरोना भाइरसको महामारीमा उनीहरुलाई बचाउन आवश्यक छ । यो व्यवस्थाले उनीहरुलाई थोरै भएपनि राहत दिएको छ । यसमा हामीले धेरै कमेन्ट गर्नु हुन्न । यो व्यवस्थालाई हामीले स्वागत नै गरेका छौं ।

मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुले दिएको राहतमा उद्योगी व्यवसायी सन्तुष्ट हुनुहुन्छ ? कि बजेटले अझै बढी राहतका कार्यक्रमहरु ल्याउनु पर्थ्याे ?

हामीले बजेटको पनि स्वागत नै गरेका थियौं । बजेटले हाम्रा धेरै विषयहरुलाई समेटेको थियो । हामीले मौद्रिक नीतिको पनि स्वागत नै गरेका छौं । हाम्रा धेरै विषयहरु मौद्रिक नीतिले बोलेको छ । कोरोना भाइरसको समयमा यस्तो कार्यक्रम आउनु भनेको सकारात्मक नै लाग्छ । यसले व्याजदर पनि स्थिर राख्नमा सहयोग गर्छ भन्ने हाम्रो बुझाई हो ।

हामीले लामो समयदेखि कोरोना भाइरसको सन्त्रास भोगिरहेका छौं, अहिले अर्थतन्त्रलाई रिभाइव गर्ने प्रयत्न गरिरहेका छौं । यति लामो समयसम्म हामीले के गुमायौं, के पायो र के सिक्यौं ?

महत्वपूर्ण विषय भनेको डिजिटलाइजेसन हो । कोरोनाकालमा हामीले डिजिटलाइजेसनमा ठूलो फड्को मारेका छौं । यदि अवस्था नर्मल नै थियो भने हामीले यति चाँडै यति ठूलो फड्को मार्न सकिने अवस्था थिएन । अर्को, कुनै पनि संस्थामा पारदर्शीताको ठूलो भूमीका हुन्छ । पारदर्शीता चाहिन्छ । जुन ठाउँमा पारदर्शीता छैन त्यो ठाउँमा पारदर्शीता कायम गर्नुपर्छ भन्ने पाठ पनि सिकेका छौं । यस्तो विषम परिस्थितीमा उद्योगी व्यवसायीहरुले बाँच्ने विषय पनि महत्वपूर्ण हो । यो समयमा हामीले नाफा कमाउने भन्दा पनि बाँच्ने अर्थात व्यवसायलाई निरन्तरता दिने विषयलाई नै ध्यान दियौं । वर्किङ क्यापिटललाई म्याक्सिमाइज गर्ने विषयमा प्रविधिले ठूलो भूमिका खेल्यो ।

कोरोनाको कारण बिजनेसमा असर त ठूलै परेको छ । तर, यस्ता खालका महामारी तथा विपतिहरु हाम्रा लागि पाठ हुन् । यसैबाट सिकेर अझ हामीले अगाडि बढ्ने हो । चुनौतीहरुलाई छिचोलेर अगाडि बढ्न सिकाउने नै यस्ता विपतिहरु हुन् । अहिलेको एउटै विकल्प भनेको भ्याक्सिनेसन हो । हामीले सरकारलाई बारम्बार भन्दै आएका छौं । अहिलेसम्म कति ठूलो असर भोग्यौं । कति अमाउन्टको नोक्सान हामीले भोग्यौं भन्ने अहिलेसम्म कुनै पनि निकायले अध्ययन गरेको छैन । कुल जीडीपीको प्रत्येक दिन साढे १० अर्ब रुपैयाँको इकोनोमी छ । एक महिनामा पनि ३ सय अर्ब रुपैयाँकै फरक पर्छ नै । यति लामो समयसम्म हामीले लकडाउन तथा निषेधाज्ञा भोग्यौं । असर त धेरै नै परेको छ ।

यो चुनौतिपूर्ण समयमा तपाईं सीएनआईको अध्यक्ष बन्नुभएको छ, तपाईको कार्यकाललाई सफल बनाउनको लागि के कस्ता योजना तथा रणनीतिहरु लिएर आउनु भएको छ ?

हाम्रो सबैको महत्वपूर्ण योजना र एजेण्डा भनेको औद्योगिक वातावरण सिर्जना गर्ने नै हो । त्यसैका लागि हामी लागि रहेको छौं । त्यसैको वरिपरि रहेर हामीले कार्यक्रमको आयोजना गर्छौं । हाम्रा सदस्यहरुको समस्याहरुलाई समाधान गर्नको लागि अगाडि बढ्छौं । उद्योगी व्यवसायीहरुका समस्याहरुलाई सही तरिकाले सम्बन्धित निकायमा पुर्याउने, व्यवसायीमैत्री नीतिका विषयहरुमा ध्यान दिने विषयहरु नै हाम्रो प्राथमिकतामा पर्छन् ।

तपाईं लामो समयदेखि अटो व्यापारमा काम गर्दै आउनु भएको छ, नेपालमा अटोबजारको अवस्था र यसको भविश्य कस्तो छ ?

अटो बजार कोरोनाकालमा पूर्ण रुपमा बन्द नै रह्यो । तर, पछि केही चलायमान भयो । कोरोनाको दोस्रो लहरमा डिमाण्डमा केही कमि आएको छ । अहिले अर्थतन्त्र पनि चलायमान भइसकेको छ । मौद्रिक नीति पनि आइसकेको छ । बजेटको कार्यान्वयन पनि भइसकेको छ । फेरि अब बजेट संशोधन हुने विषय छ । त्यो पनि कार्यान्वयनमा आइसकेपछि सरकारको खर्च पनि बढ्छ । बजार चलायमान हुन्छ । आशा छ, विस्तारै व्यावासियक वातावरण बन्छ ।

अटो बजार विस्तार गर्न नयाँ के काम गर्दै हुनुहुन्छ ?

हामीले भैरहवामा यामाहाका लागि एसेम्बलिङ उद्योग खोल्दैछौं । जुन एक वर्षभित्रै सञ्चालनमा आउँछ । यसको प्रक्रिया अगाडि बढिरहेको छ । राम्रै स्केलमा ल्याउने हामीले तयारी गरिरहेका छौं । कुनै पनि देशमा एसेम्बलबाटै अटोमोबाइल्स सुरु भएको छ । त्यसैले नेपालमा पनि अब एसेम्बलिङ उद्योग बढाउनु पर्छ भन्ने हाम्रो रणनीति हो । अन्य उद्योगी व्यवसायी साथीहरु पनि सोही ढंगले काम गरिरहनु भएको छ ।

अटो मोबाइल्समा तपाईंले चाइनिज प्रडक्ट ल्याउन सुरु गर्नु भएको छ, अब नेपालमा चाइनिज प्रडक्टले पनि मार्केट लिन्छ भन्ने तपाईंको बुझाई हो ?

यो प्रडक्टमा निर्भर हुन्छ । कुन र कस्तो गाडी लिएर आउँछन् ? भन्ने विषय नै मुख्य हो । त्यसको गुणस्तर र मूल्य के कस्तो छ भन्ने हो । मान्छले विस्तारै प्रयोग गर्दै सिक्छ । हरेक देशले आफ्नो इको सिस्टम बनाउँछ । सिक्दै जान्छ । अहिले चाइनिज प्रडक्टमा पनि इम्प्रुभ भएको देखिन्छ । मैले मात्र होइन अरुले पनि चाइनाबाट अटोमोबाइल्स सम्बन्धि प्रडक्टहरु लिएर आइरहेका छन् । त्यसले कतिसम्मको बजार लिन्छ ? उपभोक्ताले मन पराउँछन् वा पराउँदैनन् ? अहिले यही नै भन्न गाह्रो छ ।

अन्तिममा, सीएनआई उद्योगीहरुको साझा संगठन हो, यसको अध्यक्ष हुनको लागि औद्योगिक पृष्ठभूमीको मान्छे हुनु पर्ने भन्ने व्यवस्था विधानमै उल्लेख छ । तर, तपाईंको पृष्ठभूमी व्यापारिक हो । तपाईं सीनआईको अध्यक्ष हुन कसरी सफल हुनुभयो ?

व्यापारिक पृष्ठभूमीबाटै मान्छे उद्योगी बन्छ । सर्वप्रथम त उद्योगको परिभाषा हामीले बुझ्नु पर्छ । हामीले हाम्रो विधानमा उत्पादन क्षेत्र, बैंकिङ्ग क्षेत्र र सेवा क्षेत्रलाई पनि उद्योग नै भनेका छौं । मेरो संलग्नता अर्थात व्यवसायिक पृष्ठभूमी वित्तीय क्षेत्र र सर्भिस क्षेत्रमा पनि छ । त्यसैले पनि म सुरुमै सीएनआईको सदस्य हुन सफल भएँ । बिचमा हाम्रो उत्पादन कम्पनी पनि थियो । वर्कसपहरुमा पनि हाम्रो संलग्नता छ । त्यसमा २ सय जना जनाले रोजगारी पाएका छन् । उद्योग क्षेत्रमा पनि केही समस्या छन् । ती समस्याहरुलाई पनि मैले बुझिरहेको छु । एउटा अध्यक्षको सबै क्षेत्रमा लगानी तथा संलग्नता हुनु पर्छ भन्ने पनि हुँदैन र त्यो सम्भव पनि हुँदैन । तर, हामीले आफ्नो तर्फबाट उद्योगको प्रगति र औद्योगिक वातावरण सिर्जना गर्नको लागि प्रयास गरिरहने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.