गाउँपालिका अध्यक्षलाई प्रश्न – हालसम्म के-कस्ता महत्वपूर्ण कार्य सम्पन्न गर्नुभयो ?

  २०७८ भदौ ७ गते १७:४१     विकासन्युज

सानीभेरी गाउँपालिका कर्णाली प्रदेशअन्तर्गत रुकुम (पश्चिम) जिल्लामा अवस्थित गाउँपालिका हो । ११ ओटा वडा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका, पश्चिममा जाजरकोट जिल्ला, उत्तरमा आठविसकोट नगरपालिका तथा दक्षिणमा चौरजाहारी नगरपालिका र त्रिवेणी गाउँपालिका रहेको छ । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ ।

यस्तै स्थानीय तहको निर्वाचन भएको पनि ४ वर्ष बितिसकेको छ । ७ सय ५३ ओटा स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू चुनावको बेला गरेको बाचा र घोषणापत्रहरूप्रति पूरा प्रतिबद्ध छन् भने केही जनप्रतिनिधिले भोट माग्दा प्रयोग गरेको घोषणापत्र कागजमै सीमित राखे । गाउँगाउँमा सिंहदरबार पुग्छ भनेर आश गरेका आम सर्वसाधारणले सामान्य कामकाज पनि सम्बन्धित जिल्ला वा शहरमा नै पुग्नुपर्ने बाध्यता भने अझै टरेको छैन ।

यसैक्रममा, पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष नर बहादुर पुनसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको आधारित अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।

सर्वप्रथम कृषि क्षेत्रबाटै सुरु गरौं, तपाईंको गाउँपालिकाले कृषिको विकासतर्फ के–कसरी काम गर्दै आएको छ ?

हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । यहाँका धेरै नागरिकहरू कृषि पेसामा नै निर्भर छन् । कृषिमा आधारित व्यवसाय उपयुक्त हो भन्ने कुराको दीर्घकालीन सोच बनाएर काम गरेका छौं । गाउँपालिकाद्वारा सिँचाइ सम्बन्धी काम पनि भएको छ । कुन ठाउँमा कुन बाली उपयुक्त हुन्छ, सोही अनुरूप खेती गर्न कृषकलाई अनुदान सहयोग गरी कृषि खेतीतर्फ आकर्षित गरिरहेको छ । गाउँपालिकाले कृषि क्षेत्रमा भारी लगानी गरेर स्थानीयवासीको जीवनस्तर उकास्न विभिन्न पकेट क्षेत्रसमेत छुट्याएकोे छ । पकेट क्षेत्र घोषण गरिएका ठाउँमा कृषि प्राविधिकहरू खेतीको अवस्था बुझ्न र समस्या परेको हल पनि गर्दै आएका छौं । अहिले कृषक खुशी देखिनुहुन्छ । कृषिको विकासबाट गाउँ पालिकावासीको आयआर्जनमा वृद्धि हुने हाम्रो अपेक्षा छ । विदेशबाट रोजगारी गुमाएर फर्किनेहरूका लागि गाउँपालिकाले कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि ल्याएको छ ।

पालिकामा कृषिको आत्मनिर्भर बलियो, उर्वर माटो, भौगोलिक विविधता उद्यमशीलताका लागि प्रशस्त सम्भावना छन् । पालिकामा मकै, दूधजन्य पदार्थहरू, तरकारी, दाल, फलफूल आदिको उत्पादन हुने गरेको छ । कृषकहरूलाई उचित सफाइ, ग्रेडिङ, भण्डारण र ढुवानीका लागि ज्ञान, सीप तथा सामग्री आवश्यक पालिकामा देखिन्छ । पालिकाको कृषि क्षेत्रमा अवसरभन्दा बढी चुनौती धेरै हुने गरेका छ । तथापी पनि पालिकामा कृषिका विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आएका छौं । यति मात्र होइन कृषकहरूलाई हामीले कृषि औजारका सामान पनि वितरण गर्दै आइरहेका छौं । हामी आइसक्दा कृषि क्षेत्रका योजना अघि बढाउँदा नागरिकमा सकारात्मक प्रभाव परेको छ । तर, पनि हामीले कृषि क्षेत्रको लागि जति काम गर्नु चाहेका थियौं त्यति काम चाहिँ हुन सकेको हो कि भन्ने पनि लाग्छ । यसका बाबजुद पनि हामीले कृषि क्षेत्रका काम पनि गर्दै आएका छौं । हामी कहाँ कृषि उपज हुन्छ । उत्पादन न्यून हुन्छ । किसानले जुन उत्पादन गरेको कुरालाई बजारीकरण गर्ने कुरामा हामी सचेत छौं । पछिल्लो समयमा पालिकामा कृषिमा कृषकको आकृषण बढ्दो नै छ ।

स्थानीय तहमा निर्वाचित भएको चार वर्षमा पुरा हुँदा के कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ?

स्थानीय सरकार सञ्चालन भए पछि पालिकामा धेरै विकास निर्माणको कामहरू भएका छन् । जस अन्तर्गत स्थानीय सरकार नेतृत्व समालेको करिव ४ वर्ष पूरा भएको छ भने अन्तिम कार्यकालको दैउरानमा छौं । अहिलेको गाउँपालिकाको स्वरुप भने धेरै परिवर्तन भइसकेको छ । यो बिचमा पूर्वाधारको काम पनि धेरै भएका छन् । हामी निर्वाचित भएर आउँदा हाम्रो गाउँपालिकामा शिक्षा क्षेत्रको अवस्था निकै कमजोर थियो । शिक्षा क्षेत्रको परिवर्तन गर्नुपर्छ भनेर गाउँपालिका सुरुआतदेखि नै लागिपरेका थियौं । हाल हामीले सबैभन्दा उत्कृष्ट काम नै शैक्षिक क्षेत्रमा गरेका छौं । निर्वाचित भएर आइसकेपछि शिक्षा क्षेत्रको उन्नती र गुणस्तरको लागि विशेष जोड दिएका छौं । विद्यालयमा गुणस्तरीय शिक्षा र प्राविधिक ज्ञान कसरी विद्यार्थीलाई दिन सकिन्छ भन्नेतर्फ प्रयासरत छौं । लगानीको हिसाबले पनि हामीले शिक्षा क्षेत्रलाई धेरै बजेट छुट्याएका छौं । माध्यमिक विद्यालयहरू पालिकामा थिए तर, दरबन्दी थिएन । ती विद्यालयहरू हामीले दरबन्दी मिलाउने काम गरेका छौं । शिक्षा लागि भौतिक संरचना निर्माण गर्ने कार्य जारी छ । आधारभूत तहसम्मको सबै निःशुल्क बनाएका छौं । विद्यार्थी बढी भएको विद्यालयमा थप शिक्षकको व्यवस्था गरेका छौं ।

यसका साथै स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । गाउँपालिकाका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउन सफल भएका छौंं भने पालिकाका प्रत्येक वडामा स्वास्थ्यचौकीको स्थापना गरेका छौं । गाउँ स्वास्थ्य इकाई, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा दिएका छौं । गाउँपालिकामा ‘एक वडा एक सडक’ को अवधारण अगाडि बढाएर सडक निर्माणको कार्य गरेका छौं । समग्रमा भन्नुपर्दा गाउँपालिकासँग भएको सीमित साधन र स्रोतबाट गर्न सकिने कामहरू भएका छन् । यी उपलब्धिसहित खानेपानी, सिचाइ आदि सबै क्षेत्रमा उल्लेखिनिय काम भएका छन् ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?

निर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । अहिले ती काम धेरै पुरा भइसकेका छन् । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखापरेको छ । मैले चुनावको बेला जनतालाई धेरै भाषण गरेको थिएन । कति पूरा भए कति हुन बाँकी छन् । हामीले चुनाव अघि गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँछौं भनेका थियौं ।

हामीले घोषणापत्रमा समसामयिक विषयलाई धेरै जसो समेटेका थियौं । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । यस्तै भन्दै गर्दा हामी र नागरिकले देखेको सपनाहरू सबै पुरा भए भन्ने होइन । हामीले गर्नु पर्ने काम अझै बाँकी नै छ । हामीले गाउँपालिकामा जुन परिस्थिति आउँछ सोही अनुसार काम गरिराखेका छौं । शिक्षा, स्वास्थ्य र सडकको क्षेत्रमा विशेष पहल गरिराखेका छौं । कतिपय पूरा पनि भएका छन् भने कति हुने क्रममा छन् ।

दोस्रो चरणको कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ?

कोभिडको दोस्रो लहर अत्यन्त घातक देखिएको छ भने हाल तेस्रो लहर आउने पनि हल्लाचलि रहेको छ । विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यस महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छौं । दोस्रो चरणको प्रभाव परेसँगै बिपद् व्यवस्थापन समितिको आकस्मिक बैठकद्वारा कोभिड रोकथाम तथा निगरानी समूहको गठन गरी सम्पूर्ण गतिविधिहरू यसै समितिमार्फत गर्ने निर्णय गरियो । यस महामारीको रोकथाम र नियन्त्रण गर्नको लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यही रकमबाट नै महामारी नियन्त्रण गर्नमा खर्च गर्दै आएका पनि छौं ।

कोरोना महामारी सुरु भएसँगै म तथा मेरा सहकर्मी जनप्रतिनिधि सँगै नागरिकको घरआँगनमा पुगेका छौं । जनचेतना जगाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने गर्नुका साथै साबुनपानीले हातधुने कार्यमा जागरण ल्याउने काम पनि गरेका छौं । पालिकामा कोभिडको धेरै ठुलो प्रभाव त परेको छैन तर, पनि आवश्यक तयारीचाहिँ गरेका छौं । अहिले हामीसँग पर्याप्त मात्रामा औषधि, उपचार उपकरण र अन्य स्वास्थ्य सामग्रीहरूको मौज्दात रहेको छ ।

कार्यकालको अन्तिम बजेट पनि ल्याइसक्नुभएको छ, यसपटक बजेटमा तपाईंहरुको प्राथमिकतामा के छ र के कस्ता नयाँ कार्यक्रमहरू समेट्नुभएको छ ?

हामीले गाउँसभा सम्पन्न गर्यौं भने गाउँसभामार्फत नै बजेट विनियोजन गर्यौं । पूर्वाधार विकास, सामाजिक विकास, पर्यटनमा बजेट छुट्याएका छौं । यो हाम्रो कार्यकालको अन्तिम बजेट पनि हो । अहिलेको नीति तथा कार्यक्रम विशेष गरी हामीले सञ्चालन गरेका कार्यक्रम जुन अपुरा अधुरा छन् तिनीहरूलाई पूर्ण गर्ने ढंगले बजेट ल्याएका छौं । अहिलेको बजेट उत्पादनमूलक काममा केन्द्रित छ । भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी भवन, विद्यालय भवन निर्माणका साथै समग्र पालिकाकै विकास निर्माणमा पनि जोड दिएका छौं ।

कृषकहरूलाई उत्पादनतर्फ प्रेरित गरेका छौं भने आर्थिक विकासतर्फ पशुपालनका कामहरूलाई हामीले अगाडि राखेका छौं । सामाजिक विकासतर्फ युवा, बालबालिका, दलित, जनजाति, सिमान्तकृत, अपाङ्गता लगायतका क्षेत्रलाई समेत सम्बोधन हुने गरी विकासका योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढेका छौैं । कोभिडलाई मध्यनजर गर्दै स्वास्थ्यमा केही बजेट छुट्याएका छौं । महामारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न कार्यक्रम बनाएका छौं । पालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार अनि कृषि तथा रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएको छ भने आर्थिक वर्षमा कोभिड महामारीबाट पालिकाका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ । जनताको आधारभूत कुरालाई पुरा गर्ने तरीकाले नै बजेट ल्याएका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नु भएको छ ?

हाम्रो कार्यकाल एक वर्ष मात्र बाँकी छ । यो अवधिमा मुख्यगरी नमुना योग्य काम अगाडि बढाउने छौं । गाउँपालिकालाई अगाडि बढाउनको लागि आवधिक योजना बनाएका छौं भने उक्त योजनाको मध्यकालीन फजुल खर्च संरक्षणको निर्माण गरेका छौं । अधुरा कार्य अगाडि बढाइने छ । सडक जोडिन बाँकी रहेका वडामा सडक जोड्छौं । गुणात्मक शिक्षा दिने कार्यलाई प्राथमिकतामा राखेका छौं । जनताको आयस्तरमा वृद्धि गर्न नगदे बालीलाई प्राथमिकतामा राखिएको छ । जनताका आधारभूत कुराको पुरा गर्ने लक्ष्य राखेका छौं ।

युवा स्वरोजगार गाउँपालिकाले कसरी गरिरहेको छ ?

हाम्रो पालिकाको मात्रा नभई देशको सबैभन्दा चुनौतीको रूपमा रहेको समस्या मध्ये बेरोजगारी पनि एक हो । बेरोजगारी समस्याका कारण दैनिक हजारौं युवाहरू विदेशिनुपर्ने बाध्यता र विवशता छ । हाम्रो पालिकाकोतर्फ बाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वारोजागरका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । पालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । युवालाई उद्यमशील विकास तालिम दिनु पर्छ भनेर हामी लागिपरेका छौं । कतिपय युवाहरूलाई भने विकास निर्माणको काममा लगाएका छौं । यो कोभिडपछि आएको बेरोजगारीको सम्बन्धमा हामीले मुख्यतः कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर रोजगारी दिने सोच बनाएका छौं ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

म के भन्न चाहन्छु भने विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएको होइन बरु यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । त्यति हुँदाहुँदै पनि कहिलेकाहीँ भनेजस्तो काम हुन सकिरहेको हुँदैन । तर, हामीले पालिकामा जति पनि विकास निर्माणको काम गर्यौं त्यो काम उपलब्धिमूलक नै छ भन्ने मलाई लाग्छ । पालिकामा विकास निर्माणको काम गर्न त अझै पनि बाँकी नै छ । नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । काम गर्दै गर्दा चुनौती र अवसर सँगसँगै आउँछ । जति बढी चुनौती आयो त्यति नै अवसर आउँछ । त्यो चुनौतिमा र अप्ठ्यारोमा सबै जनताको साथ र सहयोग गरेकोमा आभार व्यक्त गर्न चाहन्छु । सधैंभरी सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा पनि गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.