पालिकाका प्रत्येक वडामा सडक पुर्याएका छौं – गाउँपालिका अध्यक्ष रोकाया

  २०७८ भदौ १३ गते १९:३०     विकासन्युज

सुदूरपश्चिम प्रदेश अन्तर्गतको डोटी जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो आदर्श गाउँपालिका । मुलुक संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । स्थानीय तहका जनप्रतिनिधिहरु निर्वाचित भएको पनि चार वर्ष बितिसकेको छ । यो अवधि भर सञ्चालन भएका विकास निर्माणको काम पुरा गर्न जनप्रतिनिधिहरू दिन रात खटि रहेका छन् । यस गाउँपालिकामा पनि विकास निर्माणको कामले तीव्रता पाएको छ ।

यस गाउँपालिकाका अध्यक्ष हुन् टेक बहादुर रोकाया । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरी रहेका छन् । उनै अध्यक्षसँग पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ र समग्र पालिकाका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको पालिकामा संक्रमणको अवस्था कस्तो छ, कोभिडरोकथाम तथा न्यूनीकरण लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू गरिरहनुभएको छ ?

कोभिड–१९ बाट हाम्रो पालिका पनि अछुतो रहन सकेन । संक्रमणलाई रोक्ने प्रयत्न हुँदाहुँदै पनि पालिकामा संक्रमण तीव्र किसिमले फैलिन गयो । तर, पालिकामा पछिल्लो समय संक्रमणको अवस्था सामान्य छ । संक्रमित भएका नागरिकहरू पनि धेरै निको हुनु भएको छ । गाउँपालिका, वडा र टोलस्तरीय कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार समन्वय समितिलाई क्रियाशील बनाएका छौं भने पालिकाले गाउँवासीको जीवन रक्षाका लागि सीमित स्रोत साधनहरूलाई परिचालन गरिरहेको छ ।संघीय सरकारको समन्वयमा सबै नागरिकहरूलाई खोपको सुनिश्चितता गर्न पहल गरेका छौं भने पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरूलाई सक्रियतापूर्वक परिचालन गरेका छौं । कोभिडकै कारण हामीले पालिकाका २ जना नागरिकलाई गुमाएका छौं । नागरिकहरूलाई सशक्तीकरण र चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं । लक्षण देखा परेका वडाका टोल बस्तीहरूमा एन्टिजेन परीक्षण मार्फत पहिचान गरेका छाैं ।

चार वर्षको अवधिमा आदर्श गाउँपालिकामा भएका विकास के–के हुन् ?

पालिकामा विकास निर्माणको कामहरू धेरै भएका छन् । जस अन्तर्गत पूर्वाधारतर्फ सडक निर्माण भएको छ । कच्ची भए पनि ७ ओटै वडामा सडक पुर्याउन सफल भएका छौं । पालिकाका धेरै जसो वडाहरू दुर्गम थिए । जहाँ करोडौं रुपैयाँ बजेट खर्च गरी ती वडामा पनि सडक पुर्याउने काम भएको छ । गाउँपालिकाको प्रत्येक वडामा इन्टरनेटको सेवा पुर्याएका छौं । हाम्रो पालिकामा खानेपानीको चरम अभाव छ । हामीले खानेपानीको आयोजना सञ्चालन गरी खानेपानीको काम पनि गरिएको छ । नागरिकलाई सरल र सहज रूपमा स्वच्छ खानेपानीको सुनिश्चित गर्नतर्फ पनि हामी लागेका छौं । कतिपय ठाउँमा सिचाई पोखरी पनि निर्माण भएको छन् ।

पालिकाका कति पय वडाको वडा कार्यालय भवन पनि निर्माण भएका छन् । गाउँपालिकाको प्रशासनिक भवन नभएको कारण सेवा प्रवाहमा धेरै समय थियो भने घर भाडामा लिएर सेवा प्रवाह गरी रहेको थियौं । हाल हामीले गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त भवन ७ करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।

सामाजिक विकासतर्फ विद्यालयका भवनहरू निर्माण भएका छन् । त्यस्तै शिक्षा स्वास्थ्य क्षेत्रमा प्राविधिक व्यावसायिक शिक्षा सबैका लागि, शिक्षा समावेशी र गुणस्तर बनाउने, स्वास्थ्य क्षेत्रमा सुलभ र सहज पहुँचको व्यवस्थापन गर्ने समेत काम भएका छन् । विद्यार्थी अनुपातमा अनुदान तथा दरबन्दीको प्रक्रिया अगाडि बढाएका छौं । पालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो नै प्रगति भएको छ । जहाँ स्वास्थ्यचौकीहरू थिएनन् त्यहाँ सामुदायिक स्वास्थ्य सेवाको स्थापना भएको छ । कतिपय ठाउँमा स्वास्थ्यका भवनहरू पनि निर्माण हुने प्रक्रियामा छन् । पालिकाको एक मात्र क्षेत्रमा नभई हरेक क्षेत्रमा सुधार र परिवर्तन आएको छ ।

अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हलसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न

हामीले सुरुवातदेखि नै कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको थियौं । नागरिकको आर्थिक विकासका लागि कृषि र पशुतर्फ पकेट क्षेत्रको रूपमा विकास गरेका छौं । हाम्रो पालिकामा प्रयप्त मात्रामा सिचाइको सुविधा छैन । संवादित ठाउँको पहिचान गरी तरकारी फलफूल आदिको काम गर्दै आएका छौं । गाउँपालिकाले अनुदान, प्रोत्साहन, साझेदारीका कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायिक कृषि पेसामा लाग्न प्रेरित गरेका छौं । तरकारी फलफूल कुखुरा, दुध उत्पादनमा आत्मनिर्भर हुनेको लागि आवश्यक काम गर्दै कृषि क्षेत्रको काम गरेका छौं । तरकारीमा आत्मनिर्भर बनाउने दिशातर्फ उन्मुख बनाई कृषकलाई सहकारी समन्वय सहकार्यमा उत्पादन तथा आर्थिक क्रियाकलापलाई वृद्धि गरी रोजगारी सिर्जना गर्ने काम भएको छ ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?

निर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । आफूले गरेका प्रतिबद्धता समय समयमा स्मरण गर्ने गरेको छु । निर्वाचनको समयमा गाउँपालिकालाई सुन्दर, समृद्ध पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको थिएँ । अहिले ती काम धेरै पुरा भइसकेका छन् । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखापरेको छ । मैले चुनावको बेला जनतालाई धेरै भाषण गरेको थिएन । कति पूरा भए कति हुन बाँकी छन् । हामीले चुनाव अघि विद्युत, खानेपानी, सडक, सिचाइको सुविधा, कृषिलाई उत्पादन मूलक, स्वास्थ्य सेवा प्रत्येक वडामा पुर्याउने, शैक्षिक क्षेत्रको विकास गर्ने र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँछौं भनेका थियौं ।

यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । तर, हामीले गर्नु पर्ने काम अझै बाँकी नै छ ।

तपाईंले जनप्रतिनिधिको हैसियतमा ४ वर्षको अनुभव बटुल्नुभएको छ, यो अवधिमा स्थानीय तहमा देखिएका समस्या कस्ता छन्, र संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

स्थानीय सरकार नागरिकको घर आँगनको सरकार हो । सहज र असहज परिस्थितिका बाबजुद पनि हामी अघि बढेर चार वर्ष पूरा गरेका छौं । जनतासँग नजिक भएर सिंहदरबारको अधिकार गाउँगाउँम पुर्याउने संवैधानिक व्यवस्था कार्यान्वयन गर्ने गरी हामी अघि बढिरहेका छौं । जनताका सानासाना कुरा पनि स्थानीय सरकारसँग जोडिएको हुन्छ । संघ र प्रदेशले हेर्ने दृष्टिकोणमा भने अलिक फरक छ । सहयोग त पालिकालाई भइरहेको छ । विकास निर्माण गर्नको लागि बजेट पनि संघ प्रदेश सरकारबाटै आउने गरेको छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नुभएको छ ?

अब बाँकी रहेका कार्यकाल भनेको हामी नागरिक लागि समय खर्च गर्छौं । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । हामीले गाउँसभा सम्पन्न गर्यौं भने गाउँसभामार्फत नै बजेट२०७८/७९ विनियोजन गर्यौं । पूर्वाधार विकास, सामाजिक विकास, पर्यटनमा बजेट छुट्याएका छौं । खानेपानीको चरम अभाव भएकाले हाम्रो पालिकामा खानेपानीको पनि व्यवस्थापन गर्ने भनेका छौं । यो हाम्रो कार्यकालको अन्तिम बजेट पनि हो । अहिलेको नीति तथा कार्यक्रम विशेष गरी हामीले सञ्चालन गरेका कार्यक्रम जुन अपुरा अधुरा छन् तिनीहरूलाई पूर्ण गर्ने ढंगले बजेट ल्याएका छौं । अहिलेको बजेट उत्पादनमूलक काममा केन्द्रित छ । भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी भवन, विद्यालय भवन निर्माणका साथै समग्र पालिकाकै विकास निर्माणमा पनि जोड दिएका छौं । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ ।

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ?

रोजगारी सिर्जना गर्नको लागि हामीले यस्ता ठुलठुला काम गर्न सक्ने परिस्थितिमा छैनौं । पालिकामा विभिन्न युवा स्वरोजगारका कार्यक्रमहरू रहेको छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् भने हामीले पनि युवालाई कृषि क्षेत्रमा जोडिन पनि आग्रह गरेका छौं । पालिकामा युवाको समूह गठन गरी उनीहरूको सिप र क्षमता अनुसारको काम गर्नुहोस् र पालिकाले गर्न सक्ने सहयोग गर्छ भनेकै छौं । युवाले योजना बनाएर आए भने उनीहरूलाई गाउँपालिकाले लगानी गरिदिन्छ ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

स्थानीय सरकार सञ्चालन भइसकेपछि हामीले पारदर्शीको कुरालाई एकदमै ख्याल गरेका छौं । गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । नागरिकको समस्यालाई समाधान गर्न हामी तत्पर छौं । हामी गर्ने सक्ने कुराको सहमति तथा सहकार्य गरी अगाडि बढौं भन्नेर सन्देश पनि दिन चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाईसरसल्लाह सुझाव पनि दिन अनुरोध गर्छु । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.