२०७८ असोज १२ गते १७:१० विकासन्युज
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले साल्ट ट्रेनिङ कर्पाेरेशनलाई काठमाडौं बाहिर चिनीको बिक्री वितरण नहुनुको कारण माग गरेको छ ।
सोमबार समितिमा भएको छलफलमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले कर्पाेरेशन काठमाडौं केन्द्रीत मात्र भएको भन्दै दुर्गमका जिल्लामा न्यून उपस्थितिको बारेमा प्रश्न गरेका हुन ।
‘विभिन्न पत्रपत्रिकामा आएको समाचार अनुसार कर्पाेरेशनले चाडपर्वलाई लक्षित गर्दै सहुलियत मूल्यमा खाद्य पदार्थको बिक्री वितरण गर्ने गरेको सुनेको छु, दुर्गमका जनताले नुन समेत नपाएको गुनासो छ, काठमाडौंमा सस्तो मूल्यमा चिनी बिक्री गर्ने दुर्गमका जिल्लामा सस्तो मूल्यको चिनी र नुन कहिले पुग्छ’, उनले कम्पनीका महाप्रबन्धक उर्मिला श्रेष्ठलाई प्रश्न गरेका थिए ।
सभापति श्रीवास्तवले दुर्गमका जनताले सरकार हुनुको अनुभुत गर्न नपाएको भन्दै सरकारी कम्पनीलाई दुर्गमका जनतालाई खाद्यान्न तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिको विषयमा चासो राखेका थिए ।
छलफलमा सहभागी सदस्यहरुले चाडपर्वको समयमा बजारमा हुने कालोबजारी र खाद्यान्नको उपलब्धताको विषयमा चासो राखेका थिए ।
समिति सदस्य देवेन्द्र पौडेलले सरकारले दिएको छुट जनताले पाउन नसकेको उल्लेख गर्दै कृषि सामग्रीको आयात बढी भएको भन्दै निर्यातामा जोड दिनुपर्नेमा जोड दिए ।
उनले देशमा नै उत्पादन भएका कृषि जन्य सामग्रीले बजार नपाएको गुनासो आइरहँदा सोही सामग्री भारत लगायतका देशबाट आयात गरीएको भन्दै ध्यान दिन कृषि मन्त्रालयलाई निर्देशन दिएका थिए ।
समिति सदस्य अमृतादेवी अग्रहरी, किष्णकुमार श्रेष्ठ, दिलकुमारी, लालबहादुर थामीले दुर्गममा खाद्यान्नको अभावका विषयमा चासो राखेका थिए ।
मौज्दात सकियो, त्यसैले बेचेनौंः राल्ट ट्रेडिङ
समितिका सदस्यहरुको प्रश्नको जवाफ दिदैं साल्ट ट्रनिङ कर्पाेरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठले कम्पनीसँग मौज्दात रहेको चिनी सकिएपछि काठमाडौंमा मात्रै बिक्री गर्नुपरेको जवाफ दिइन् ।
उनले कम्पनीले गत वर्षको निषेधाज्ञामा भारतबाट चिनी आयत गरेर समेत बिक्री गरेको भन्दै मौज्दात कम हुँदा काठमाडौं उपत्यकामा मात्रै चिनीको बिक्री गर्न बाध्य भएको बताईन ।
‘हामीले तराईका जिल्लामा चिनीको बिक्री गर्ने गरेका थिएनौं तर, गत वर्षको निषेधाज्ञामा नाका बन्द हुँदा तराईका जिल्लामा पनि चिनी बेचेका हौं,’ उनले भनिन् ।
सरकारले भन्सार छुट नदिँदा आयात नगरेको तर्क
सरकारले आयातमा भन्सार छुट नदिएको कारण आफूले चिनी आयात नगरेको तर्क साल्ट ट्रेडिङले गरेको छ ।
‘हामीले धरै अगाडीदेखि नै मन्त्रालयमा चिनीको मौज्दात सकिन लागेको र थप खरिदको अनुमति माग गरेका थियौं, भन्सार छुटमा चिनी खरिदको अनुमति नपाएपछि हामीले जति मौज्दात छ, सोही नै बिक्री वितरण गर्दै आएका छौं,’ महाप्रवन्धक श्रेष्ठले भनिन् ।
उनले दुर्गमका जिल्लामा नूनको भण्डारण भइसकेको र ११ महिनाका लागि पुग्ने नून मौज्दात रहेको नूनको अभाव नरहेको बताइन् ।
कम्पनीको बिक्री काउन्टर रहेका ७ दुर्गमका जिल्लामा नून ढुवानी भइसकेको भन्दै उनले बाँकी जिल्लामा दशैं अगाडी नै नूनको भण्डारण गर्ने तयारी रहेको जानकारी दिइन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भटराईले चाडपर्व केन्द्रीत बजार अनुगमन सुरु गरिएको भन्दै दशैंमा खाद्यान्नको अभाव नहुने दाबी गरे । उनले बजारमा हल्ला भएजस्तो अभाव नदेखिएको भन्दै दुर्गमका जिल्लामा समेत खाद्यान्न भण्डारण भइसकेको जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.